मैले खुट्टा समाएँ उसले… च्यापिदियो

फुलकुमारी लामा

बनेपाको एउटा स्कुलमा पढ्दै गर्दा मेरा पनि ठूला सपनाहरू थिए । एउटा पुरुषको हत्या गरेर यसरी जेलभित्र आफ्नो जवानी सडाउनु पर्ला भन्ने कहाँ कल्पना थियो र ! तर, गरिबीको बाध्यता र बैंसको उन्मादमा एकभन्दा बढी पुरुषहरूसित शारीरिक सम्बन्ध राख्न पुग्नाले आज मेरो जीवन नरक भएको छ ।
बाबुआमाका चार छोरीमध्येकी म माइली हुँ । घर डाँडागाउँ–८ काभ्रेमा पर्छ । घर नजिकै माध्यमिक विद्यालय नभएकाले मैले ताल्ढुङ्गामा गएर पढेकी थिएँ । आर्थिक अवस्था कमजोर भए पनि छात्रावासमा बसेर पढ्ने अवसर मिलेकाले सजिलो भयो । ०६७ सालमा मैले एसएलसी पास गरेँ । त्यसपछि उच्च शिक्षाका लागि बनेपाको चैतन्य क्याम्पसमा भर्ना भएँ । जिल्लाको दुर्गम गाविसमा घर भएकाले दैनिक घरबाट क्याम्पस आउनु असम्भव थियो । त्यसैले ०६७ असोजदेखि नै बनेपाको पुलबजारमा सस्तो डेरा लिएर बस्न थालेँ । डेरामा पकाउने भाँडाकुँडा थिएनन् । पुलबजार चोकको एउटा होटलमा खाना खाने गरेकी थिएँ । त्यही क्रममा नजिकै रहेको ग्यारेजमा गाडी बनाउन आउने सिन्धुली, मजुराजराया गाविसका सुशील भनिने नेत्रबहादुर पुलामीले मलाई लाइन मार्न थाले ।
मैले सहर आउनेबित्तिकै घरबाट बाले ऋण काढेर पठाएको पैसाले सस्तो मोबाइल किनेकी थिएँ । गाउँबाट भेट्न आउनेले सजिलै भेटून् भनेर खाना खाने होटलमा मैले आफ्नो मोबाइल नम्बर टिपाएकी थिएँ । त्यही नम्बर भेटेर सुशीलले मलाई फोेन ग¥यो । खाना खाने ठाउँमा देखादेख भएकाले उसले मलाई मन पराउन थालेको कुरा पसलको साहुनीलाई गरेको रहेछ । त्यसपछि पहिलो भेटमै उसले मलाई प्रेम प्रस्ताव राख्यो । सहरमा दुवै जनाको अरू कोही नभएकाले एकअर्कालाई विश्वास गरेर सम्बन्ध गाँस्न उसले आग्रह गरेको थियो । म सहजै पग्लिएँ ।
सुशीलले ‘म तिमीलाई विवाह गर्छु, मेरो घरमा लैजान्छु र परिवारका सबै सदस्यहरूलाई चिनजान गराउँछु’ भन्दै मेरो विश्वास जित्न खोज्यो । हामीबीचको सम्बन्ध गहिरो हुँदै गयो । उसले टुरिस्ट बस चलाउँदो रहेछ । गाडी लिएर कहिले काठमाडौँ कहिले पोखरा त कहिले धरान गरिरहन्थ्यो । फोनमा माया–पिरतीका कुरा हुन्थे । कहिलेकाहीँ ठाकठुक पनि पथ्र्यो । कहिलेकाहीँ मैले उसलाई फोन गर्दा अर्कै केटीले फोन उठाउँदा मलाई चिसो पस्थ्यो । झगडा पर्दा उसले ‘तिमी आफ्नो बाटो लाग’ पनि भनिदिन्थ्यो । तर, फोनमा झगडा भएपछि केहीबेरमा फेरि फोन गरेर सरी भन्थ्यो । मेरो पहिलो प्रेम भएकाले उसलाई लगातार विश्वास गरिरहेँ ।
उसलाई आफ्नो जीवनसाथी सम्झेर मैले मनमात्र होइन शरीर पनि सुम्पिसकेकी थिएँ । ऊ गाडी चलाएर फर्कंदा मेरै कोठामा बस्थ्यो । हामी एउटै ओछ्यानमा रात बिताउँथ्याँै । उसलाई आफ्नो शरीर ओछ्याउँदा मलाई कत्ति पनि लाज–डर लाग्थेन ।
यसपालिको दसँैमा उसले मलाई आफ्नो घर लैजाने वाचा गरेको थियो तर लगेन । तिहारमा पनि उसले मलाई न आफ्नो घर लग्यो न मेरो घर जान दियो । मैले उसलाई छाड्नुपर्ने थुप्रै कारणहरू थिए तर छाडिनँ । कहिले पोखरा पुगेर आफ्नी जेठी श्रीमती भन्दै फोनमा बोल्न लगाउँथ्यो त कहिले सुशील अर्की लिएर हिँडेको छ भन्दिनु भनेर कुनै केटीलई फोन उठाउन दिन्थ्यो । यति हुँदा पनि मैले उसलाई आफ्नो मनबाट हटाउन सकिनँ ।
केही समयपछि मैले मार्केटिङको सानोतिनो काम पाएँ । त्यही क्रममा नेपाली सेनाका निर्मल भन्ने एक व्यक्तिसँग मेरो भेट भयो । बिस्तारै म उसित नजिकिन थालेँ । उसले मलाई मेरो काममा सहयोग गथ्र्यो । आफ्नो फाइदाका लागि मैले उसलाई पनि मेरो जवानी चढाएँ । सुशीलले मलाई निर्मलका बारेमा सोध्यो । मैले ‘बरु म तिमीविना बाँच्न सक्छु तर ऊविना पेट पाल्न सक्दिनँ’ भन्ने जवाफ दिएँ । त्यसपछि झगडाले उग्र रूप लिन थाल्यो । ऊ ‘अब म तिम्रो कोठामा कहिल्यै आउँदिनँ’ भनेर आफ्ना केही कपडाहरू लिएर हिँडेको थियो ।
यो बीचमा मेरो सेनाको त्यस व्यक्ति, सुशील र डेरा सर्दा सहयोग गर्ने बनेपाकै एक व्यक्तिसँग नियमित शारीरिक सम्पर्क हुने गरेको थियो । मैले उनीहरूलाई मोज गर्न दिएबापत् मेरो घर भाडा, कलेज फि र अन्य खर्च चलिरहेको थियो । तर, एकाएक मेरो पेट बढ्न थालेपछि टेन्सन भयो । मेरो पेटको बच्चा स्विकार्न सुशील तयार भएन । उसले मलाई गर्भपतन गराउन दबाब दियो । मलाई पनि १९ वर्षकै उमेरमा भर्खर १२ कक्षा पढ्दै गर्दा आमा बन्ने रहर थिएन । सुशीलकै सहयोगमा बनेपाको मेरी स्टोप्समा गएर गर्भपतन गराएँ । त्यो कुरा जानकारी मैले निर्मललाई पनि सुनाएँ । उसले ठिकै छ भन्यो । आखिर उसलाई पनि मसित बिहे गर्नु थिएन ।
नयाँ बस्तीमा बसेको घरबाट डेरा सर्नुपर्ने भयो । माघ ३ गते मैले केही चिनेका मानिसहरूसित सहयोग लिएर डेरा सरेँ । डेरा सरेको भोलिपल्टै सुशील मेरोे डेरा खोज्दै आइपुगेछ । म सुतिरहेकी थिएँ । सुशीलले मैले ओढेको सिरक उचालेर फालिदियो । मलाई औधी रिस उठ्यो । हामीबीच केहीबेर भनाभन भयो । सुशील र मेरो झगडामा छिमेकी सबै रमिते बनेका थिए । मलाई उसले सबैका अगाडि तेरो कतिवटा लोग्ने छन् भन्दै गाला फुट्ने गरी चड्कन लगाएको थियो । भनाभन हुँदै गर्दा मैले निर्मललाई फोन गरेर सबै कुरा सुनाएँ ।
त्योलगत्तै सुशील डेराबाट निस्कियो । म पनि सामान किन्न बाहिरिएको थिएँ । बेलुका फर्कंदा सुशील कोठामै बसेको थियो । मैले फोन गरेर निर्मललाई बोलाएँ । उसले मलाई भन्यो, ‘कतै दाग नलाग्ने गरी मारिदिन्छु, कसैलाई नभन ।’ अरूलाई भनेको खण्डमा मलाई पनि जिउँदै खाडलमा हालेर पुरिदिने धम्की दियो । म तयार भएँ । सुशील ओछ्यानमा पल्टिरहेको थियो । मैले उसको खुट्टा च्याप्प समाएँ । बलियो निर्मलले उसका सबै कपडा खोलिदिएर नाङ्गै पा¥यो । नाङ्गो हुनेबित्तिकै निर्मलले सुशीलको अण्डकोष च्यापिदियो । ऐया पनि भन्न नपाई सुशील खुत्रुक्कै भयो । म झसङ्ग भएँ । निर्मलले मेरो ओछ्यानको तन्नामा पोको पारेर उसको लाश तान्न थाल्यो । तानेपछि डाम बस्छ भनेर बोकेर उठायो र बाहिर निस्कियो । म कोठामै बसेँ ।
रातभर निद्रा लागेन । सुशीललाई कहाँ लगेर फाल्यो होला ? के भयो होला ? भन्ने चिन्ताले सतायो । बिहान ५ बजे नै धीरेन्द्रले फोन गरेर लास थान्को लाएको छु, कतै हल्ला नगर्नु भनेपछि म ढुक्क भएँ । हत्या गरिसकेपछि भित्रभित्रै मलाई आत्मग्लानी भएको थियो । आखिर निर्मलले मेरो लागि किन यति ठूलो ‘रिस्क’ लियो ? आखिर मैले दुवैको चित्त बुझाएकै थिएँ । सुशीलको हत्या गर्नुको पछाडि उसको अरू के स्वार्थ हुन सक्छ भन्ने प्रश्न मेरो मनमा खेल्न थाल्यो । आजसम्म पनि मैले बुझ्न सकेकी छैन यो रहस्य । निर्मलको वास्तविक नाम धिरेन्द्रकुमार मल्ल र घर कैलालीको प्रतापपुर गाविस रहेछ । उसले मलाई सबै कुरा ढाँटेको थियो ।
बनेपा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक खेम आचार्यको टोली घटनास्थलमा आधा घण्टा ढिलो पुगेको भए सायद म भागेर पोखरा पुगिसकेको हुन्थेँ । म भागेको भए न त कसैले लास चिन्थ्यो न कसैले मेरो संलग्नताको बारेमा थाहा पाउँथ्यो । पाप धुरीबाट कराउँछ भनेजस्तै मेरो पनि पाप करायो । फलस्वरूप फागुन ५ गतेदेखि जेल जीवन बिताइरहेकी छु । मेरो अपराधका कारण परिवार बदनाम होस् भन्ने चाहन्नँ ।
प्रस्तुतीः मोतीराम तिमल्सिना

प्रतिक्रिया