ट्रान्समिसन विवाद मिलाउन समिति

काठमाडौं, २६ फागुन । स्थानीयबासीको अवरोधपछि निर्माण प्रभावित भएको खिम्ती ढल्केबर ट्रान्समिसन लाइन निर्माणबारे शुक्रबार पीडित पक्ष र उर्जा मन्त्रालयबीच वार्ता भएको छ ।

वार्तामा दुवै पक्षबीच एउटा प्राविधिक टोली निर्माण गर्ने सहमति भएको छ । आगामी चैत्र १२ गतेभित्र स्थलगत अध्ययन गरी प्रतिवेदन बुझाउने र त्यो प्रतिवेदन दुवै पक्षले मान्ने गरी प्राविधिक टोली गठन गरिएको मन्त्रालयले जनाएको छ । उर्जा मन्त्रालयका सह–सचिव अनुप उपाध्यायको नेतृत्वमा गठित उक्त समितिमा प्राधिकरण सञ्चालक सदस्य कृष्णप्रसाद दुलाल र प्राधिकरणकै गणेशप्रसाद राज छन् ।

सिन्धुलीमाढीका स्थानीयबासीको अवरोधपछि नेपालकै पहिलो २२० केभीको खिम्ती–ढल्केबर ट्रान्समिसन लाइन निर्माण प्रभावित हुँदै आएको छ । निर्माणमा अवरोध गर्दै आएका आएका स्थानीयबासीले विभिन्न माग राख्दै प्रधानमन्त्री कार्यालय र उर्जा मन्त्रालय निवेदन दिएपछि त्यसको लागि पटक पटक छलफल हुँदै आएको छ । गत फागुन १७ गते उर्जा राज्यमन्त्री सूर्यमान दोङ, उर्जा सचिव हरिराम कोइराला लगायतको टोलीले सिन्धुलीमाढीमै पुगेर स्थानीयबासीसँग छलफल गरेको थियो ।

सिन्धुलीमाढीका स्थानीबासीले आफ्नो जग्गाबाट ट्रान्ससिमन लाइन विस्तार गर्न नदिने बताउँदै आन्दोलन उत्रिएपछि सिन्धुलीमाढी खण्डको ट्रान्समिसन लाइन निर्माण प्रभावित बन्दै आएको छ ।

प्रतिक्रिया