युवामै अर्बपति

विश्वकै धनी व्यक्तिमा गनिनु यसै पनि चानचुने कुरा होइन । त्यसमाथि युवा उमेरमै परिश्रम गरेर विश्वका धनीहरूको सूचीमा पर्नु झनै ठूलो कुरा हो । सामान्यतः मान्छेले युवा उमेरभरि सङ्घर्ष गरेर प्रौढ उमेरमा सकेजति पैसा बचत तथा सङ्कलन गर्दछ । तर, समय बदलिएको छ । आधुनिक युगको मर्म बोक्ने काममा हात हाल्ने हो भने व्यक्ति सफल हुन धेरैबेर लाग्दैन । कम्प्युटर र प्रविधिले मारेको छलाङसँगै फड्का हान्दै विश्वका केही युवा धेरै कमाउने व्यक्तिका रूपमा चर्चित र चित्रित भएका छन् । उनीहरू उमेरले ३० कटेका छैनन्, तर पैसा भने प्रशस्त कमाएका छन् ।
धनी युवाको सूचीमा पहिलो नम्बरमा छन्, लोकप्रिय ई–सामाजिक सञ्जाल फेसबुकका संस्थापक तथा मालिक मार्क जुकरबर्क । फोब्र्स म्यागेजिनले सार्वजनिक गरेको नयाँ तथ्यअनुसार जुकरबर्क विश्वका ३५ औँ धनीमा समेत पर्दछन् । सन् १९८४ मे १४ मा जन्मिएका जुकरबर्क कम्प्युटर प्रोग्रामर तथा इन्टरनेट व्यवसायी हुन् । उनले सन् २००४ मा आफ्नो कक्षाका केही साथीहरूको सहयोगमा फेसबुकको स्थापना गरेका थिए । अमेरिकाको हार्वर्ड विश्वविद्यालयका विद्यार्थीमा सीमित गरिएको फेसबुकले पछि विश्वका सबै भागमा बजार लिएको हो । टाइम म्यागेजिनले सन् २०१० मा जुकरबर्कलाई वर्षव्यक्तिका रूपमा चिनाएको थियो । अहिले उनको व्यक्तिगत सम्पत्ति १७ दशमलव ५ खर्ब अमेरिकी डलर रहेको अनुमान गरिन्छ ।
धनी युवाको दोस्रो क्रममा बेलायती भिडियोगेम डेभलपर एन्ड्रिउ क्रिस्टोफर पर्छन् । सन् १९७८ डिसेम्बर २ मा जन्मिएका यी युवाले ६ सय ५० अर्ब अमेरिकी डलर कमाइसकेको बताइन्छ । क्रिस्टोफर क्याम्ब्रिज विश्वविद्यालयका छात्र थिए । सन् २००७ मा सन्डे टाइम्सले निकालेको ब्रिटेनको धनी व्यक्तिको सूचीमा यिनी ६ सय ५४ औँ स्थानमा थिए । पुनः सन् २००९ मै सन्डे टाइम्सका अनुसार यिनी ५६६ औँ धनी व्यक्तिमा गनिए । पछि दी टेलिग्राफले क्रिस्टोफरलाई ब्रिटेनका ११ औँ धनी व्यक्तिका रूपमा प्रस्तुत ग¥यो । यिनले सुरुमा साथीहरूसँग मिलेर जागेस गेम स्टुडियो खोलेका थिए । सन् २०१० को डिसेम्बरमा यी युवाले जागेस कम्पनी छोडे र पछि आफैँले नयाँ गेमिङ डेभलपमेन्ट र कन्सल्टिङ कम्पनी खोले । जहाँ उनको ९० प्रतिशत सेयर छ ।
त्यस्तै, भिडियो आदानप्रदान गर्ने लोकप्रिय साइट युट्युबका सहसंस्थापक तथा पूर्वसिइओ चाड हुर्ली पनि धनी युवामा गनिन्छन् । यी अमेरिकी युवाको जन्म सन् १९७७ मा भएको हो । यिनले आफ्नो ३० औँ वसन्तसम्म आइपुग्दा ३ सय अर्ब अमेरिकी डलरको सम्पत्ति आफ्नो बनाइसकेका छन् । सन् २००६ अक्टोबर १६ मा हुर्ली र उनका साथी स्टेभ चिइनले युट्युबलाई १.६५ खर्ब अमेरिकी डलरमा बेचेका थिए । अक्टोबर २०१० मा हुर्लीले युट्युबको प्रमुख कार्यकारी अधिकृत पद छोडेका थिए । उनी हाल युट्युबको सल्लाहकारका रूपमा काम गरिरहेका छन् ।
प्रस्तुतिः सरोज

प्रतिक्रिया