सँगसँगै पढाई र काम

चिटिक्क परेर हिँड्न, जिब्रो फड्कार्दै सहरका नयाँ परिकार चाख्न अनि साथीभाइसँग मस्ती मार्न कुनचाहिँ युवालाई मन नहोला र ? बेलामा मोज नगरे कहिले गर्ने त भन्ने पनि लाग्छ नि ! तर, मनले मागेअनुसार सबै रुचि पूरा गर्न गोजी पनि गतिलै हुनु पर्छ । खासमा सहरमा भेटिने त्यस्ता युवाका गोजीको स्रोत दुईथरी हुने गर्छन् । पहिलो अभिभावकले दिने पकेटखर्च अनि दोस्रो चैँ आफैँले काम गरेर आउने आम्दानी । अभिभावकले दिएको रकम पुग्दो नहुन पनि सक्छ । अनि सधैँ अभिभावकले दिएको पैसा खर्च गर्न असजिलो पनि लाग्छ कत्तिलाई त । त्यसैले पनि क्याम्पस पढ्दै गरेका सहरका कतिपय तन्नेरीहरू आफ्नो खुट्टामा उभिने भन्दै जागिर खाइरहेका पाइन्छन् ।
सहरका क्याम्पसहरूका आआफ्नै रुटिन छन् । कोर्सअनुसार कतिले बिहानै कक्षा चलाउँछन् भने कतिले दिउँसो अनि कतिले चैँ बेलुका पनि । बानेश्वरकी २२ वर्षीया रोजाबेला सिंह नेपाल कमर्स क्याम्पसमा दिउँसो बिबिएको कक्षा लिएर पनि एफएममा कार्यक्रम चलाउन पुग्थिन् । उनी काम र पढाइलाई राम्रैसँग अघि बढाउन सक्षम छिन् । भन्छिन्, ‘काम र पढाइलाई राम्रोसँग समय व्यवस्थापन गरेर लैजाने हो भने गाह्रो नहुने रहेछ ।’ हाल उनी त्रिचन्द्र क्याम्पसमा साइकोलोजीमा स्नातकोत्तर गर्दै छिन्, अनि रेडियो राजधानी, आर ट्वान्टीफोरमा आरजेका रूपमा काम गर्छिन् । मानव स्रोत संसाधन कम्पनीमा पनि काम गर्न भ्याउँछिन् । बचेखुचेको समयमा हान्निँदै ट्युसन पढाउन पुग्छिन् उनी । यदाकदा साथीसङ्गीसँगको जमघटमा झुल्कने उनलाई बेरोजगार साथीहरूले सेलिब्रिटी आइ भन्दै जिस्क्याउँछन् रे ।
काममा व्यस्त हुँदा साथीभाइसँगको सम्बन्ध पातलिँदै जान पनि सक्छ । चाबहिलका २३ वर्षीय किशोरराज पाठकलाई यस्तै लागेको छ । हाल एउटा सुपरमार्केटमा एकाउन्टेन्ट भएर काम गरिरहेका उनलाई फुर्सद कमै हुन्छ । बल्लबल्ल आएको शनिबार पनि कसरी मनाउने भन्ने सोच्दैमा बित्छ उनको । भर्खरै बिबिएस सकेका यी युवा क्याम्पसमा नियमित पढ्दा पनि नेपालीको रेडियोमा आरजेको रूपमा काम गर्थे । त्यतिखेर क्यान्टिनमा चियाखाजा खान खासै समस्या नपरेको उनको अनुभव छ । उनलाई काम र पढाइलाई सँगै लैजान परिवारको सहयोग पनि छ रे । भन्छन्, ‘कतिपय अभिभावकले पढ्दै काम गर्दा पढाइ बिग्रन्छ भनेर छोराछोरीलाई काममा पठाउँदैनन् ।’
क्याम्पस पढ्दै काम गर्नेहरू थोरै नै हुन्छन् । कपनका २२ वर्षीय रविन थापा कक्षामा एक्ला जागिरे हुन् । उनी कान्तिपुर सिटी कलेजमा कम्प्युटर एप्लिकेसनमा स्नातक पढ्दै छन् । शैक्षिक कन्सलटेन्सीमा काम गर्छन् उनी । त्यसो त कम्प्युटरमा दख्खल हुने उनका केही साथीहरूले अनलाइनमै पार्टटाइम काम गरेर पनि पकेट खर्च पुर्‍ याउँछन् रे । उनी भन्छन्, ‘प्राविधिक विषयको स्कोप अलि फराकिलै छ ।
पैसा कमाउने उद्देश्यलाई मात्र कामले सम्बोधन गर्दैन । काम गर्दा व्यस्त होइने र दिमागमा नकारात्मक कुरा नखेल्नेमा यी युवाको एकमत छ । अझ कामले व्यक्तिलाई सिर्जनशील बनाइरहन पनि मद्दत गर्छ । यसर्थ पनि काम आवश्यक लाग्छ रोजाबेलालाई । सामान्यतया अहिलेका युवामा केटीलाई सपिङको समस्या हल गर्न र केटालाई चैँ गेटटुगेदरमा खर्च गर्नुपर्ने समस्या हल गर्न पनि जागिर खानैपर्ने लाग्छ उनलाई । ‘त्यसबाहेक कामले अनुभव बढाउनुका साथै व्यक्तित्व पनि तिखार्छ,’ उनले सुनाइन् ।
युवालाई राष्ट्रको मुख्य जनशक्ति मानिएकाले युवाको समय त्यतिकै खेर जानु राम्रो होइन । अझ शिक्षित जनशक्तिको महत्व छुट्टै छ । तर पनि किन यति धेरै बेरोजगार छन् त ? के सजिलै सबैले काम पाउन सक्छन् त ? रोजा भन्छिन्, ‘सबैभन्दा पहिला व्यक्तिले काममा इन्जोय गर्न पर्‍ यो नि, रुचिअनुसारको काममा ध्यान दिनुपर्छ,’ उनी थप्छिन्, ‘काम गर्ने ठाउँ देशमा प्रशस्त छ, धेरै मान्छेलाई सूचनाको पहुँचमा नभएर काम पाउन कठिन लाग्छ ।’ आत्मसन्तुष्टिका लागि पनि युवाले काम गर्नैपर्नेमा रविन जोड दिन्छन् । युवा उमेरमा आउने फ्रस्ट्रेसनको मात्रा हटाउन कामले ठूलै भूमिका खेल्नेमा उनीहरूको एकमत छ ।
राम्रोसँग व्यवस्थापन गर्न जानिएमा पढाइ र कामलाई एकैसाथ लैजान सकिने उनीहरू बताउँछन् । कहिलेकाहीँ यिनीहरूलाई साथीसङ्गीको फ्री टाइम देखेर ईष्र्या पनि लाग्छ रे । काममा व्यस्त भएपछि गर्लफ्रेन्डलाई त्यति समय दिन नसकेकोमा किशोरराज त्यति चिन्तित देखिँदैनन् । हाँस्दै भन्छन्, ‘कन्भिन्स गर्छु नि त ।’ रोजालाई भने आफ्नो उमेरले ब्वाइफ्रेन्ड खोज्नुपर्ने अवस्था आइसकेजस्तो लाग्दो रहेनछ । भन्छिन्, ‘यो सिर्जनशील समय रिलेसनसिपमा अल्झिनु भनेको आफ्नै खुट्टामा बन्चरो हान्नुजस्तै हो ।’ उनी मस्तीलाई भन्दा करियरलाई प्राथमिकतामा राख्नुपर्ने बताउँछिन् ।
पढ्नु त नयाँ पुस्ताको अनिवार्य सर्त बनेकै छ । यसबाहेक काम गर्दै पढ्नेहरूको सान छुट्टै छ । पढाइले सैद्धान्तिक रूपमा सबल बनाउँछ भने कामले व्यावहारिक रूपमा । त्यसैले पनि क्याम्पसका विद्यार्थीले अध्ययनबाट बटुलेको ज्ञान कामप्रतिको ध्यानमा रूपान्तरण हुँदै छ ।

प्रतिक्रिया