नयाँ यात्राको थालनी

२१ फागुनमा काठमाडौँमा विशाल जनप्रदर्शन आयोजनासँगै राष्ट्रिय प्रतिनिधि परिषद्को प्रथम बैठक भव्यरूपले सम्पन्न गरेर नेकपा (एमाले) ले एकैसाथ आफू नयाँ गतिका साथ उदाएको र सङ्कटग्रस्त राष्ट्रिय राजनीतिलाई सही दिशाबोध गर्न तयार रहेको सन्देश दियो । लामो समयदेखि आन्तरिक किचलोका कारण मुर्झाएको सङ्गठनमा नयाँ ऊर्जा भर्नका लागि सम्भावना र चुनौतीको दोसाँधमा उभिएको राष्ट्रिय राजनीतिमा प्रभावकारी हस्तक्षेप गर्न यो परिघटनाले महत्वपूर्ण सहयोग पुर्‍याएको अनुभूति सबैलाई भएको छ ।
संविधानसभा निर्वाचनको अस्वाभाविक परिणामले एमालेलाई मात्रै पछाडि धकेलेन, त्यसले निर्माण गरेको प्रतिकूल शक्ति सन्तुलनले शान्ति र संविधानको मुख्य कार्यभारलाई पनि अप्ठ्यारोमा पारिदियो । शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउनु पर्ने कार्यसूची प्रमुख बनेको बेला हिंसाको अनिवार्यताबारेको सैद्धान्तिक भ्रम र लडाकु एवम् हतियारको मोहपाशबाट मुक्त हुन नसकेको पार्टी संविधानसभाको पहिलो शक्ति बनेर आउनु आफैँमा चुनौतीपूर्ण स्थिति थियो । त्यसरी नै लोकतन्त्रको बलियो जगमा संविधान निर्माण गर्नुपर्ने बेला एकदलीयता र अधिनायकवादको धङ्धङी छुटिनसकेको त्यस पार्टीको वर्चस्व थप जटिल विषय थियो । त्यसमाथि नेपाली कांग्रेस जस्तो पार्टी दोस्रो ठाउँमा आइपुग्यो, जो ठूला सामाजिक–आर्थिक परिवर्तनप्रति सदैव शङ्कालु, अनुदार र प्रतिक्रियात्मक रह्यो । यो प्रतिकुल शक्ति सन्तुलनका कारण शान्ति, संविधान र परिवर्तनका राष्ट्रिय एजेन्डा गएका चार वर्षसम्म अधुरै रहन गएका छन् । संविधानसभाको नेतृत्व शान्तिप्रेमी, लोकतान्त्रिक र परिवर्तनकामी शक्तिका हातमा भएको भए हाम्रो सङ्क्रमणकाल यति लामो, दिक्कलाग्दो, उतारचढावयुक्त र जोखिमपूर्ण सायद हुने थिएन ।
यद्यपि यो परिस्थिति निर्माणमा खुद एमालेकै आन्तरिक कारणले पनि महत्वपूर्ण भूमिका खेलेका थिए । जनताको बहुदलीय जनवादको सैद्धान्तिक पुँजी, आन्दोलनबाट खारिएका नेता–कार्यकर्ता र राष्ट्रव्यापी सङ्गठनात्मक सञ्जाल, जनताको आशा र भरोसा, अन्तर्राष्ट्रिय समुदायबीच विश्वसनीयता र लोकतन्त्र प्राप्ति, हिंसाको समाप्ति र जनताको उन्नतिका लागि गरेको महत्वपूर्ण योगदानजस्ता आधार हुँदाहुँदै पनि ५० को दशकको बीचतिरबाट पार्टी अलिकति विचलित हुँदै गयो । परिवर्तनका मुद्दा, जनताको आधार र क्रान्तिकारी जीवनमूल्यभन्दा पनि तात्कालिक सत्तास्वार्थले प्रभाव जमाउन थाले । वैचारिक, साङ्गठनिक र शैलीगत क्षेत्रमा उत्पन्न यिनै विचलनसमेतको मूल्य पार्टीले निर्वाचनमा गम्भीर धक्का खाएर तिर्नुपर्‍यो । तर, त्यस धक्कापछि पनि तत्कालै कसैमा चेत खुलेन । आफ्नो तेस्रो तर निर्णायक हैसियत र उपस्थितिलाई एमाओवादीको लोकतान्त्रिक रूपान्तरण, कांग्रेसको अग्रगामी परिवर्तन तथा राष्ट्रिय राजनीतिमा आफ्ना समन्वयकारी र सन्तुलित मुद्दाको स्थापनामा प्रयोग गर्ने कुरामा समुचित ध्यान पुगेन, बरु दुई विपरीत धु्रवमा उभिएका शक्तिको द्वन्द्वबाट लाभ लिन खोजेजस्तो देखियो । दुई विपरीत धु्रवका शक्तिसँग भिन्नभिन्न सम्बन्धले पार्टीको आन्तरिक जीवनमा समेत असहजता उत्पन्न गर्‍यो । लोकतान्त्रिक प्रतिस्पर्धालाई सही व्यवस्थापन गर्न नसक्नु, माओवादीबारे कतिपय साथीहरूमा भ्रान्ति कायम रहनु र अन्य आन्तरिक तथा बाह्य कारणले एमालेको ऊर्जालाई निकै क्षय गरिदियो । कुनैबेला नौ महिना मात्र अल्पमतको सरकार सञ्चालन गर्न पाउँदा सिङ्गो देशमा नयाँ दृष्टान्त कायम गर्न र जनतामा विश्वासको भरपर्दो जग खडा गर्न समर्थ पार्टी यिनै कारणले दुई दुई पटक सरकारको नेतृत्व गर्न पाउँदासमेत आफ्ना पदचिह्न छाड्न असमर्थ भयो । यसले पार्टीको पहिचान, स्थान र सान्दर्भिकतामाथि नै प्रश्नचिह्न उठाउने मौका पाए, प्रतिस्पर्धी, आलोचक र विपक्षीहरूले ।
इतिहासका यी पाठबाट हामीले सिक्नैपथ्र्यो, अन्यथा, माक्र्सले भनेझैँ, इतिहासले हामीलाई दण्डित गर्ने थियो । पार्टीभित्रैबाट आन्तरिक एकता, राष्ट्रिय राजनीतिमा प्रभावकारी भूमिका र नीतिगत पुनर्निर्माणका निम्ति बढ्दो दबाब, माओवादीबाट मोहभङ्ग र अन्य शक्तिबाट निराश भएका जनताले गरिहेको विकल्पको खोजी र केही थरी माओवादी र केही थरी कांग्रेस मित्रहरूको ‘राजनीतिका वास्तविक शक्ति त हामीमात्रै हौँ, मिले पनि र लडे पनि, अरू त फड्के किनाराका साक्षीमात्रै हुन्’ भनेर गर्न खोजिएको निषेधको प्रयासले नेतृत्वलाई पनि सायद झस्कायो । फलतः पार्टीभित्र नयाँ अभियानको, जनतासँग पातलिएको सम्बन्ध विस्तारको, राष्ट्रिय राजनीतिमा हस्तक्षेपकारी भूमिकाको र एमालेको पुनर्जागृतिको पहल सुरु भयो । यही पृष्ठभूमिमा भएका अनेकौँ प्रयासको प्रतिफल थियो, यो विशाल जनप्रदर्शन र परिषद् बैठकको भव्य आयोजना ।
तर, यो त सुरुवात मात्रै हो । एउटा कार्यक्रमको भव्य सफलताले कुनै शक्तिको सफलता÷असफलताको मापन गर्न सक्दैन । कार्यक्रममा उपस्थित लाखौँ जनताको आँखामा रहेका आशालाई पूरा गर्न र रहलपहल आशङ्कालाई सम्बोधन गर्न सकेमा मात्रै, कार्यकर्तामा उत्पन्न ऊर्जालाई निरन्तरता दिन र उनीहरूको मनमा विद्यमान चिन्ता र सन्देहलाई मेटाउन सकेमा मात्रै, अन्य राजनीतिक दललाई समेत समेटेर नयाँ सहमति कायम गर्न सकेमा मात्रै र सर्वोपरि रूपमा शान्ति, संविधान र सामाजिक, आर्थिक रूपान्तरणको अवरुद्ध यात्रालाई सुचारु गर्न सकिनेछ । र, सम्भावित सङ्कटबाट मुलुकलाई जोगाउन सकेमा  मात्रै र शान्त, लोकतान्त्रिक, सामाजिक न्याययुक्त, समृद्ध र सबल नेपाल निर्माणको अगुवाइ गर्न सकेमा मात्रै यस्ता कार्यक्रमहरूको वास्तविक सार्थकता स्थापित हुनेछ ।
पार्टी निर्माणका लागि उसका गौरवपूर्ण इतिहासको महत्वपूर्ण भूमिका हुन्छ । तर इतिहासको ब्याजले मात्रै कसैलाई पनि खान पुग्दैन । त्यसो हुँदो हो त नेपाल प्रजापरिषद् आज राष्ट्रिय राजनीतिको शीर्ष स्थानमा कायम रहिरहेको हुने थियो । पार्टीहरूको नेतृत्व क्षमता वर्तमानका सङ्कटहरूको सही दिशाबोध गर्न सक्नुमा र भविष्यतिर राष्ट्रलाई कुशलतापूर्वक हाँक्न सक्नुमा अन्तरनिहित हुन्छ । अबको नेतृत्वको अग्निपरीक्षा ००७ साल र ०१७ सालको क्रान्ति या प्रतिरोधको नेतृत्व गरेको गौरवमा रमाएर होइन, लामो भूमिगत या जेलजीवन या कुनै बेला सरकारको कुशल नेतृत्व गरेकोमा अतीत सम्झिँदै दङ्ग परेर होइन, बन्दुक उठाएको, ‘सेना’ बनाएको या ‘बलिदानका कीर्तिमान’ कायम गरेको भरमा होइन, चालु मुद्दामा सही मार्गदर्शन गर्न सक्नुमा अन्तरनिहित हुनेछ । एमालेसँग यस अग्निपरीक्षामा खरो उत्रिन सक्ने यथेष्ट आधार छन्, किनभने यसले बोकेको ‘जनताको बहुदलीय जनवाद’को सैद्धान्तिक मार्गदर्शन, एकैसाथ उठाएका शान्ति, लोकतन्त्र र परिवर्तनका झन्डा, अगाडि सारेको सामाजिक न्यायसहितको लोकतन्त्र र शान्तिपूर्ण माध्यमबाट राजनीतिक परिवर्तन एवम् यो उभिएको स्थान, उग्रवामपन्थभन्दा दाहिने र नवउदारवादभन्दा देब्रेतिरको धरातल नै राष्ट्रिय राजनीति उभिने स्थान हो । सबैको ‘कन्भर्जिङ प्वाइन्ट’ हो । एमालेको परीक्षा यही बिन्दुमा आफू पनि दह्रो गरी उभिने र अरुलाई पनि डोहोर्‍याएर ल्याउन सक्ने सामथ्र्यमा निर्भर हुनेछ ।
राष्ट्रिय प्रतिनिधि परिषद्को उद्घाटन सत्रमा उपस्थित लाखौँ ओठ र बैठकको बन्दसत्रमा हाजिर हजारौँ आँखाहरूमा यिनै सपनाहरू लहराएका थिए, पार्टीबाट यिनै प्रश्नको जवाफ खोजिरहेका थिए, यसैमा आश्वस्त हुन खोजिरहेका थिए । ती आँखामा लहराएका अलिकति चिन्ता र सन्देहमिश्रित अपेक्षाहरूले एमालेलाई ‘रेनासाँ’ का निम्ति प्रेरणा प्रदान गरेका छन् ।

प्रतिक्रिया