पूर्णकालीन माओवादी कार्यकर्ता आन्दोलित

धनकुटा, २५ फागुन । पार्टीका लागि खटिएर काम गरे पनि खानेबस्ने व्यवस्थासमेत गर्न छाडेको भन्दै पूर्णकालीन एमाओवादी कार्यकर्ताले पार्टीविरुद्ध आन्दोलन थालेका छन् ।
बिहीबार धनकुटामा पत्रकार सम्मेलन गर्दै पूर्णकालीन कार्यकर्ताले पार्टी नेतृत्वविरुद्ध बोलेका हुन् । अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री डा.बाबुराम भट्टराईले शान्ति–प्रक्रियाका नाममा सशस्त्र युद्धमा योगदान गरेका पूर्णकालीन कार्यकर्तालाई बेवास्ता गरेकाले आन्दोलन सुरु गरिएको एकीकृत नेकपा (माओवादी) लिम्बुवान राज्य समिति सदस्य सञ्जीव रायामाझीले बताए ।
‘अब आन्दोलन नेकपा (एमाले) र नेपाली कांग्रेसविरुद्ध नभई आफ्नै पार्टीको नेतृत्व सच्याउनका लागि थालेका छौँ,’ रायमाझीले बताए । सेना समायोजन गर्ने र संविधान निर्माण गर्ने कार्यमा पार्टी नेतृत्वले काम गरे पनि पार्टीका लागि खटिएका पूर्णकालीन कार्यकर्ताका विषयमा नेतृत्वले केही नबोलेको र नसोचेकाले आन्दोलन सुरु गरिएको पत्रकार सम्मेलनमा बताइएको थियो । धनकुटामा ६० पूर्णकालीन कार्यकर्ता छन् ।
पार्टीको काम गर्नेलाई खानबस्न व्यवस्था गर्दै आएको पार्टीले त्यो पनि छाडेको कार्यकर्ताले बताए । ‘बाँच्नै समस्या पर्न थाल्यो, घर परिवारको त कुरै भएन । बाँकी जीवनको कुनै टुङ्गै भएन,’ पत्रकारको जिज्ञासामा रायमाझीले बताए ।
‘पहिला पार्टीले चन्दा र सहयोग उठाएर कार्यकर्तालाई सामूहिक व्यवस्थापन गरेको थियो, पछिल्लो समयमा कार्यकर्ता बिचल्लीमा परे,’ लिम्बुवान राज्यसमिति सचिवालय सदस्य कृष्ण लम्सालले भने, ‘संविधानसभाको निर्वाचनका लागि सेनाबाट निकालेर कार्यकर्ता बनाइयो तर अहिले बेवास्ता गरियो ।’
पूर्णकालीन कार्यकर्ताको व्यवस्थापनबारे पार्टीका आन्तरिक बैठकमा उठाइए पनि नेतृत्वले टारिरहेकाले पार्टीविरुद्ध नै आन्दोलन सुरु गरिएको लिम्बुवान राज्य समितिका सचिवालय सदस्य सन्देश क्षेत्रीले बताए । उनीहरूले पत्रकारको जिज्ञासामा भनेका थिए, ‘यो आन्दोलन पार्टीभित्र चलिरहेका एउटा गुटका कार्यकर्ताले अर्को गुटका नेताविरुद्ध गरेको गुटबन्दी होइन, पार्टीका लागि खटिएका तर ओझेलमा परेकाहरूको सामूहिक आन्दोलन हो ।’

प्रतिक्रिया