सुरुमै बिग्रिएका मेसिन जडान

हेटौँडा, २५ फागुन । ‘पहिला खानेपानी पाएनौँ भनेर तड्पियौँ अब पानी कतिखेर नआउने हो भनेर चिन्तित छौँ,’ मकवानपुर चुरियामाई, मयुरधापकी गीता कार्कीले भनिन्, ‘धारामा पानी तान्ने मेसिन नै बिग्रेको जडान गरिदिएपछि सास्ती पो खेपिरहेका छौँ ।’
खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय मकवानपुरले मयुरधापमा खानेपानीको व्यवस्था गर्दा सुरुमै पानी तान्ने बोरिङमा चारवटा बिग्रेका मेसिन जडान गरेको छ । बिग्रिएका मेसिन जडान गरेपछि मयुरधापका बासिन्दालाई खानेपानीको समस्या तत्काल टरे पनि कुनै पनि बेला आपूर्ति बन्द हुने
चिन्ता छ ।
डिभिजन कार्यालयले एक करोड २३ लाख रुपियाँको लागतमा मयुरधापका
दुई सय २० घरपरिवारका लागि खानेपानीको व्यवस्था गरेको हो । लामो समयदेखि खानेपानीको समस्या झेलिरहेका बासिन्दाले गाउँमा पानी आउँछ भनेपछि सरकारी बजेटमा ४० लाख रुपियाँ उठाएर दिएका थिए ।
‘अहिले पनि प्रतिघर चार हजार रुपियाँ उठाइरहेका छौँ,’ मयुरधाप खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका संयोजक गोपाल थपलियाले भने, ‘मेसिन बिग्रिएकाले कुनै पनि बेला पानी आपूर्ति बन्द हुने डर छ । नयाँ योजनामै चारवटा पुराना मेसिन जडान गरिदिएकाले समस्या पालेर राखेजस्तो भएको छ ।’
पानी तान्नका लागि प्रयोग भएको बोरिङ मेसिन मर्मत गरेर सञ्चालनमा ल्याइएको छ । चारवटा मेसिनको चार लाख रुपियाँभन्दा बढी रकम खर्च हुने डिभिजन खानेपानी कार्यालयले जनाएको छ । मेसिन जडानपछि औपचारिक उद्घाटनअगावै मेसिन दुईपटक बिग्रेर मर्मत भइसकेको थियो ।
सदरमुकाम हेटौँडासँगै जोडिएको चुरियामाई मयुरधापमा खानेपानीको समस्या भएपछि एक लाख १५ हजार घन मिटरको क्षमता योजना निर्माण भएको हो । योजना सुरु नहुँदै बोरिङका चारवटा मेसिन बिग्रिएको स्विकार्दै डिभिजन कार्यालयका इन्जिनियर सत्यनारायण शाहले भने, ‘पम्प जडानमा केही प्राविधिक त्रुटि भएको हो । मर्मत गरेर पानी दिने व्यवस्था गरेका छौँ ।’ करिब दुई करोड रुपियाँको लागतमा बनेको योजनामा चारवटा मेसिन बिग्रिएका परे पनि कार्यालयले आफ्नो गल्ती स्विकारेर मेसिन फेर्न नचाहेपछि स्थानीय भने आक्रोशित छन् ।

प्रतिक्रिया