हिमाल ग्याँसको विक्री सुरु

काभ्रे, २५ फागुन । काभ्रेको भैसेपाटीमा रहेको गौरिशंकर ग्याँस उद्योग प्रा.लि.ले आफ्नो उत्पादन हिमाल ग्याँसका सिलिण्डर बिक्री गर्न सुरु गरेको छ ।
उपभोक्ताहरुलाई ठगी गरेर कालोवजारी गरेको आरोपमा कम्पनीको ‘पीडीओ’ रोक्का गरेको बुधबार १५ दिन पुगे लगत्तै बाँकी रहेका ग्याँस आजबाट विक्री गर्न सुरु भएका हुन् । कालोबजारी ऐन अन्तर्गत पक्राउ परेका ब्यवस्थापक डेकराज भट्टराईलाई रिहाइको माग गर्दै आन्दोलन गरिरहको कम्पनीका मजदुरहरु भट्टराई छुटे लगत्तै काममा फर्किएका छन् ।
प्रमुख जिल्ला अधिकारी रुद्रनाथ बस्यालले भट्टराईलाई संलग्न कागजातको प्रमाणका आधारमा ५० हजार धरौटीमा रिहा गर्न आदेश दिएका थिए । कम्पनीले डिपोहरु मार्फत २ हजार १ सय सिलिण्डर ग्याँस विक्री गरेको छ । कम्पनीसँग पुरानो पीडीओ अन्र्तगत चार बुलेट अथार्त ४ हजार ८ सय सिलिण्डर ग्याँस बाँकी थियो । शुक्रबारसम्म कम्पनीमा भएका सबै सिलिण्डर ग्याँस उपभोक्ताहरुसम्म पुगिसक्ने कम्पनीले बताएको छ ।
कम्पनीमा सुवासकुमार खेतान, रामचन्द्र संघाइ र रामकाजी गुरुङ्गको लगानी छ । हिमाल ग्याँसले कम्पनीबाटै ग्याँस विक्री गरेर कालोबजारी गरेको भन्दै मन्त्री लेखराज भट्टले कारवाहीको प्रकृया नसकुञ्जले उत्पादन नै बन्द गर्न कर्मचारीहरुलाई निर्देशन दिएका थिए ।

प्रतिक्रिया