जनकपुरमा अन्तगृह परिक्रमा

जनकपुर, २५ फागुन । मिथिला मध्यमिकी परिक्रमाको अन्तिम दिन आज अन्तगृह परिक्रमा घुमिँदैछ । विहान ४ बजेदेखि धर्मयात्रीहरु परिक्रमा घुम्छन् । परिक्रमा घुम्ने कार्य मध्यान्ह सम्म चल्छ । फागु द्वितीयादेखि सुरु भएको अन्तगृह परिक्रमा पूर्णिमाका दिन जनकपुरको परिक्रमा गर्दै सकिने परम्परा छ । अन्तगृह परिक्रमालाई पञ्चकोशी परिक्रमा पनि भन्ने गरिन्छ ।

जनकपुरको चारकिल्लमा घुम्ने यो परिक्रमा मार्गको लम्बाई पाँच कोश रहेकाले यसलाई पञ्चकोशी परिक्रमा समेत भनिन्छ । भक्तजनहरुले १५ दिन लगाएर १ सय ३३ किलोमिटर लामो परिक्रमा गरेका थिए ।

नेपालको १ सय ५ किलोमिटर र भारतको २८ किलोमिटर क्षेत्रफलमा गरिने यो परिक्रमाको सुरुवात जनकपुर पत्ता लगाउने साधु सुरकिशोर दासले गरेको मानिन्छ । उनकै प्रेरणाबाट प्रत्येक वर्ष मिथिला मध्यमा परिक्रम गर्ने परम्परा छ । अन्तगृह परिक्रमा पछि परिक्रमा समाप्त हुने गर्छ ।

यस वर्ष परिक्रमामा तीनलाख श्रद्धालु भक्तजन सहभागी भएको परिक्रमाको नेतृत्व गर्ने कतुरीस्थित मिथिला विहारी स्थानका महन्थ नवलकिशोर दासले जनाएका छन् । परिक्रमाका समयमा १५ दिनमा १५ स्थानमा विश्राम गर्ने गर्छन् । प्रत्येक स्थानमा ठूलो मेलापनि लाग्ने गर्छ ।

प्रत्येक वर्ष जस्तै यस वर्षपनि ठाउँ ठाउँमा परिक्रमामा सहभागी तिर्थालुहरुलाई भव्य स्वागत गरिएको महन्थ दासले बताए । जनकपुरमा अन्तगृह परिक्रमा भएपछि होरी सुरु भएको मानिन्छ ।

प्रतिक्रिया