गजल उत्प्रेरक

किन हजुर नबोलेको केही कुरा लुकाएँ कि
जानी नजानी मैले कतै चित्त दुखाएँ कि
२०५५ ५६ सालतिर रेडियोमा यो गजल गुन्जिँदा एकसाथ तीन पक्ष लाभान्वित देखिए, गजलकार कृष्णहरि बराल, सङ्गीतकार सुरेश गैरे अनि गायिका सपनाश्री  । सपनाश्री स्थापित गायिका त बनिसकेकी थिइन्, गजलमा पनि उत्कृष्टतासाथ गायन क्षमता प्रमाणित गर्ने अवसर  पाइन् । उति बेला नवोदित रहेका सङ्गीतकार गैरे दर्शक–श्रोतामाझ चिनिन पुगे । कुशल गीतकारको छविबीच छायामा परिरहेको बरालको गजल कौशल पनि दर्शक–श्रोतामाझ स्थापित हुन पुग्यो । सँगसँगै सुषुप्त अवस्थामा रहेको नेपाली गजल परम्पराले सङ्गीत बजारमा हाँक दिन सक्यो, हामी पनि अरू गीतहरूले जस्तै दर्शक–श्रोताको हृदय पगाल्न सक्छौँ । शृङ्गार पस्कन सक्छौँ, वेदना छचल्काउन सक्छौँ अनि माहोल तताउन सक्छौँ । नेपाली सङ्गीत बजारलाई पत्याउन कर लाग्यो, गजलले पनि व्यावसायिक रूप लिन सक्दो रहेछ ।
नेपालमा गजलको राम्रो सम्भावना देख्ने र यसको विस्तारमा अहोरात्र खट्ने साधक हुन् डा. कृष्णहरि बराल । उनका शब्दको एल्बम ‘विम्ब’ नै प्रमुख उत्प्रेरक हो, जसले नेपालमा गजलको व्यावसायिक बजार स्थापित ग¥यो । यसका सम्पूर्ण गजल उत्तिकै चर्चामा रहे । स्वरूपराजले गाएको कति दिन बिते, जगदीश समालले गाएको तिमी मसँग भैदिए, आनन्द कार्कीको जे–जे हुन्छ हुन्छ यहाँ पर्दापछाडि नै, कुन्ती मोक्तानको सपनीमा मात्र सधँै आउने किन हो, जगदीश र रीमा गुरुङको एक्लै हिँड्दाहिँड्दै, योगेश वैद्यको मेरो आँसु हो यो जीवन र किरण प्रधानको बाँध रै’छ जिन्दगानीजस्ता सबै गजलले दर्शक–श्रोतामा थप गजल एल्बम सुन्ने लालसा उब्जाइदिए ।
नेपाली गजलबारे पहिलोपटक विद्यावारिधि गरेका डा. बराल हाल त्रिभुवन विश्वविद्यालयमा नेपाली विभागका प्रध्यापक छन् । २१ पुस, २०१० मा सिन्धुलीमा जन्मिएका बरालको साङ्गीतिक यात्रा २०३३ सालदेखि सुरु भएको हो । साहित्यमा भने उनी त्यसअघिदेखि नै क्रियाशील थिए । उतिबेला स्रोतसाधन पर्याप्त थिएन । अहिलेजस्तो जताततै रेकर्डिङ स्टुडियो अनि छ्यासछ्यास्ती एफएम रेडियो पनि थिएनन् । गीत रेकर्डिङ र प्रसारणका लागि रेडियो नेपालकै शरण पर्नको विकल्प थिएन । न त प्रत्यक्ष सम्पर्क गर्न सकिने प्रविधि नै थियो । तर, आफ्ना रचनाहरूलाई गन्तव्यमा पु¥याउने चाहना भने उनीभित्र छचल्किरहेको थियो । अहिले लगभग हराइसकेको पत्रमञ्जुषाको भाँडो उनका लागि एक मात्र बाटो थियो, रेडियो नेपाललाई आफ्ना सिर्जना देखाउने । १० वटा पठाएकामध्ये ६ वटा गीत छानिदिएछ रेडियोले । तीमध्येको ‘म भक्त हुँ यो देशको’ उनको पहिलो रेकर्डेड गीत हो । त्यसपछि उनको साङ्गीतिक यात्रा निरन्तर अगाडि बढिरहेको छ ।
५० ६० को दशकतिर फर्कन्छन् उनी, जति बेला उनका गजलले आफ्नो क्षमता प्रमाणित गर्ने मौका त पाए नै, उनको परिचयका अगाडि अर्को एउटा विशेषण थपियो, डाक्टर । उनी भन्छन्, ‘२०५० सालमा त्रिभुवन विश्वविद्यालयमा सरुवा भएर आएपछि मैले माध्यमिककालीन गजल पढाउनुपर्ने भयो, त्यसपछि यो विषयमा थप अध्ययन गर्न थालेँ । त्यही जिज्ञासा अनि मेहनतले मलाई पिएचडीको उपाधि पनि दिलायो ।’ उनले ०६३ सालमा विद्यावारिधि पाएका थिए । गीतिसङ्ग्रह उनले पहिल्यै निकालिसकेका थिए । उनले गीत भनेर लेखेका कतिपय सिर्जना गजलका सूत्रभित्र बाँधिइसकेका रहेछन् । अध्ययनका क्रममा यो पत्तो लाएपछि गजल साधनामा थप केन्द्रित हुन पुगेका हुन् उनी । हालसम्म उनका दुई गजलसङ्ग्रह बजारमा आएका छन्– विम्ब र सम्भावना । सम्भावनाले नवोदित गायिका निरा रानाभाटलाई माथि उठाउने सम्भावना बोकेको छ ।
यहाँ देशको छ चिन्ता, तिमी माया माया भन्छौ,
 साँच्चै नबुझ्ने हौ कि नबुझ्ने जस्तै बन्छौ
डा. बरालले लेखेकामध्ये अहिलेसम्म सर्वाधिक रुचाइएको गजल यही हो, जसले गायक दीपक लिम्बूको भर्सटाइल गायकीलाई प्रमाणित गरिदिएको छ । अहिलेसम्म कति गजल रेकर्ड भए त ? डा. बराल भन्छन्, ‘७०÷८० जति पुग्यो होला ।’ आफ्ना गजलमा नवीन प्रयोग गर्न रुचाउने डा. बराल मोतीराम भट्टले भनेजस्तो ‘पे्रमका वार्तालाप’ मा मात्र सीमित छैनन् । उनका गजलमा देशको चिन्ता हुन्छ । सामाजिक रुढीवादविरोधी आवाज हुन्छ अनि अग्रिम चेतना बोकेका शब्द भेटिन्छन् । वर्तमानका विकृति र विसङ्गति पनि उनका गजलमा छुट्दैनन् । जे–जे हुन्छ हुन्छ यहाँ पर्दा पछाडि नै भन्दै अहिलेको राजनीतिक परिदृश्यलाई तीखो व्यङ्ग्य गर्न पनि खप्पिस छन् उनी ।
साहित्य र सङ्गीतमा रुचि बढ्नाको कारण सोध्दा उनको जवाफ यस्तो आउँछ, ‘मलाई पारिवारिक वातावरणले नै यतातिर ढल्काएको हो । बाल्यकालमा मेरो हजुरबाले त्यो वातावरण बनाइदिनुभएको थियो । खासमा गजल मात्र होइन, पूरै साहित्यिक यात्रा मेरो रुचि हो ।’
उमेरले साठी पुगिसके, तर उनका गीतगजलले जवानका भाषा बोल्छन् । प्रेमिकालाई पनि फकाउन भ्याउँछन् । यसको साक्षी छ, चलचित्र नाइँ नभन्नू लको जुनको ज्योति गीत । यसबाहेक चलचित्रमा उनका अरू पनि प्रशस्तै गीत सुनिन्छन्, जसले उनलाई अहिलेको व्यस्त लेखक बनाएको छ । सबै उमेर समूहका अनुभवलाई सिर्जनामा समेट्न सक्नु उनको खास विशेषता हो । दृश्यात्मक परिस्थितिलाई कच्चा पदार्थका रूपमा लिँदै भावनात्मक शैलीमा परिणत गर्न सक्छन् उनी ।
कस्तो आँसु दिइस् तैँले आँसुलाई नै भिजाइदिने
कस्तो दिइस् वेदना यो आगोलाई नै जलाइदिने
कस्तो दिइस् भावना यो हावालाई नै उडाइदिने
दैव यस्तो पीडा नदिएस् कसैलाई ।
डा. बरालले चलचित्र रक्षकका लागि लेखेको यो गीतले भावनाको त्यही उचाइलाई समातेको छ । कथावस्तुको फ्रेममा बाँधिएर यत्तिको भावना प्रस्तुत गर्न सक्नु चानचुने कुरा होइन । ‘चलचित्रमा यो भावना बिछोडिएको जोडीको चित्कारका रूपमा प्रस्तुत हुन्छ,’ उनले सुनाए ।

प्रतिक्रिया