अस्वीकृत विचारका सारथि

देश र समाजपिच्छेका आ–आफ्नै आदर्श हुन्छन् । झूटलाई आदर्श मानेर त्यसकै गुड्डी हाँक्नेहरूको भिड पनि सानो छैन । ‘शङ्कास्पद आदर्श’ मा रुमल्लिएर त्यसैलाई पछ्याउनेहरूबाट समाज थप विकृत हुन सक्छ । यो बुझेकाहरू त्यसको खुलेरै अस्वीकार गर्छन् र विरोध गर्न तत्पर हुन्छन् । त्यस्तैमध्येमा पर्छन्, डा. कविताराम श्रेष्ठ ।
उनका अगाडि लमतन्न परेर पल्टिएको अतीतका फग्ल्याँटाहरूमा अस्वीकृत विचारहरू टल्किरहेका छन् । पञ्चायती शासनविरुद्ध सुरु गरिएको ‘अस्वीकृत आन्दोलन’ले त्यतिखेर एउटा निश्चित उद्देश्य राखेको थियो । समयले लामै फड्को मारिसकेको छ । देशमा ठूला परिवर्तन भए । तर, कवितारामको आन्दोलन अझै जारी छ, अस्वीकृत विचारहरूको भङ्गालोमा । उपलब्धि सीमित हुँदैनन्, उनको जारी आन्दोलनको मर्म यही नै छ । युगले कोल्टे फेरिसक्दा पनि कतिपय कुरा अझै उस्तै छन् । त्यसैले उनलाई लाग्छ, अस्वीकृत आन्दोलन टुङ्गिनेवाला छैन ।
उनले नेतृत्व गरेको अस्वीकृत जमातको आन्दोलनले जसरी धेरै घुम्ती पार गरेको छ, त्यसरी नै उनको जीवनले पनि मोडहरू छिचोलेको छ । जन्मथलो ओखलढुङ्गादेखि राजधानी हुँदै अन्तर्राष्ट्रिय स्तरसम्म उनको छवि पोखिएको छ । धेरैतिर हात हालेका उनका कतिपय कुरा समाजले पचाएका छन् त कति अझै पच्न बाँकी नै छन् । व्यक्ति एक्लो, विचार बागी, स्वभाव छुट्टै तर उनीसँग जोडिएका काम धेरै छन् । कवितारामले राजनीतिबाहेक पत्रकारिता, साहित्य, संस्कृति, अभिनयसँग पनि नाता गाँसेका छन् । राजधानीको केन्द्रमा बसोबास गर्ने यिनको मस्तिष्कमा भने कम्युनिज्म छ । हरेक कुरामा समयसापेक्ष व्याख्या गर्न खप्पिस कविताराम अझै पनि वर्गीय मुक्तिका कुरा गर्न थाकेका छैनन् । उनी आफूलाई स्वभाववादका अनुयायी भन्छन् ।
उनको विचार जति कडा छ, जीवनशैलीचाहिँ उति नरम । सामान्य कपडा लगाएर निर्धक्क हाँस्न सक्छन् । मानिसको जन्मलाई उपयोग गर्न सक्नुपर्छ, उनको मान्यता । ‘जन्मने, हुर्कने, खाने, खेल्ने, मर्ने क्रियाकलाप त जीवजन्तुले पनि गरिरहेकै छन्, मान्छेको महŒवअनुसार ऊ छुट्टै हुन प¥यो,’ विचारमा अडिग छन् उनी । उनका दाजुभाइ र छोराछोरी सबै समुद्रपारिको विदेशी नागरिकता लिएर बसेका छन् । त्यसो त उनी पनि आफूलाई ६ महिना स्वदेश र ६ महिना विदेशमा रहने व्यक्ति भन्छन् । स्कटल्यान्डमा रहेको एवरडिन मेडिकल स्कुलका भिजिटिङ प्रोफेसर पनि हुन् उनी ।
कविताराम विवादको घेरामा रुमल्लिरहने मान्छे बन्छन् र बनाइन्छन् । ०२६ सालमा बनेको अस्वीकृत जमातको संस्थापक भन्छन्, उनी आफूलाई । तर, समयक्रमसँगै उनी एक्लिएका छन् । खै कहाँ छन् त ती सहयात्री ? ‘अस्वीकृत विचारसँग सँधैभरि लागिरहन नसक्ने बाध्यताले छोएपछि साथीहरूले मलाई एक्ल्याए,’ उनले सुनाए । आन्दोलन जहिले पनि सत्ता–प्रवृत्तिसँग हुने भएकाले सत्तासँग नजिक भएकाहरूले उनलाई साथ दिइरहन सकेनन् रे ! प्राप्त उपलब्धि र परिवर्तन जहिले पनि अपुरो लाग्छन् उनलाई, त्यसैले अझै असन्तुष्ट छ उनको अस्वीकृत विचार । आन्दोलनका क्रममा कम्युनिस्ट राजनीतिका दरिला पर्खालभित्र पनि उनले आफ्ना असन्तुष्टि पोख्न छाडेनन् । भन्छन्, ‘मलाई पद र सत्तासँग मोह नभएकाले विरोध गर्छु, अस्वीकार गर्छु, त्यसैले अस्वीकृत पनि छु ।’
०३१ सालको बुट पालिस आन्दोलन कवितारामसँग जोडिएर आई नै रहन्छ । तत्कालीन शासनव्यवस्थामा किताब छाप्नका लागि आर्थिक स्रोत जुटाउन स्रष्टाहरू हातमा जुत्ता पालिस गर्ने ब्रस लिएर सडकमा ओर्लिए । शैलेन्द्र साकार, मोहन घिमिरे, भाउपन्थी र नारायण ढकालहरूको साथ थियो उनलाई । त्यतिखेर बुट पालिस गर्नको उद्देश्यभित्र अस्वीकृतवाद पनि सँगसगै थियो । आन्दोलनले धेरै चर्चा कमायो र त्यो चर्चालाई अहिले पनि सम्मानसाथ लिइँदै छ भन्नेमा उनी ढुक्क पनि छन् । त्यतिखेर बुट पालिस गरेर सङ्कलन गरिएको सात सय रुपैयाँ बैंकमा राखियोे । तर विडम्बना ! त्यो पैसा अझैसम्म बैंकमै छ, किताब अझै निस्केको छैन ।
अस्वीकृतवाद च्यापेर हिँडिरहेका उनी समाजसँग अझै सङ्घर्षको मुडमा भेटिन्छन् । उनले बहुदल आएपछि बनाएको चलचित्र मुक्ति सङ्घर्षले धेरै अवार्ड पायो । उत्तरकोरियामा पुगेर त्यहाँका तत्कालीन राष्ट्रपति किम जोन इलको हातबाट अवार्ड थाप्न सफल भएका थिए । सो चलचित्र हेरेर धेरै मान्छे परिवर्तनको पक्षमा लागेको उनको दाबी छ । तत्कालीन नेकपा (माओवादी)ले उनले बनाएको चलचित्रको डिभी जनयुद्ध सुरु हुनुअगाडि मागेर लगेको रहेछ ।
एमालेको नौ महिने सरकारका पालामा नेपाल टेलिभिजनको अध्यक्ष पनि बने कविताराम । यतिखेर उनको परिचय अन्तर्राष्ट्रिय स्तरसम्म पुगेको छ । विदेशी विद्यार्थीका गुरु बनेका छन् । विभिन्न अन्तर्राष्ट्रिय गैरसरकारी संस्थासँग सम्बन्धित छन् । तीन दर्जनभन्दा बढी त कृति प्रकाशन गरिसके । अहिले लुम्बिनीलाई विश्वसामु चिनाउन कम्मर कसेर लागिपरेका छन् । यो अभियानलाई साथ दिन विश्वभरका नेपाली एक भएका छन् ।
उनी अझै अस्वीकृत छन्, कारण ‘अस्वीकार’ गर्छन् । तर उनको अस्वीकृतिको मर्म पनि छ । भन्छन्, ‘साहित्य, विचार समयसापेक्ष हैन, अग्रगामी हुनुपर्छ ।’ हरेक समयमा सकारात्मक खबरदारी आवश्यक लाग्छ उनलाई । गलत विचारहरूले समयलाई धमिल्याउन नदिन त्यसलाई अस्वीकार गर्न जरुरी छ । त्यही खबरदारीको रथ हाँक्दै अनवरत यात्रामा लागिपरेकै छन्, यी अस्वीकृत विचारका सारथि ।

प्रतिक्रिया