महिला हिंसाको अर्को रूपः बोक्सीको आरोप

विश्व २१ औ शताब्दीमा प्रवेश गरिसकेको छ । विभिन्न क्षेत्रमा युगान्तकारी परिवर्तनहरू आइरहेका छन् । शिक्षा, स्वास्थ्य, रोजगारीका नयाँनयाँ अवसर र आयामहरू थपिँदै छन् । सूचना प्रविधिको विकासले गर्दा विश्व नै एउटा घरजस्तो बनेको छ । यसले विश्वको कुनै एक कुनामा भएको सानोभन्दा सानो घटना विश्वभरि क्षणभरमै फैलिन्छ । आधुनिकतातर्फ विश्व लम्किरहेको छ । विश्वले उन्नतिको बाटोमा लामै छलाङ मारिसकेको छ । महिला र पुरुषबीच कुनै भेदभाव छैन । हरेक क्षेत्रमा महिलाको समान सहभागिताले संसार हाँक्ने महिलाहरूको उदय भइसकेको छ ।
नेपालमा गणतन्त्रको उदयपछि विभेदका रूपमा रहेको कानुनको परिवर्तन र हरेक क्षेत्रमा महिलाको समान सहभागिताको लागि राम्रो पहल भएको हामी पाउछाँै । नेपाली महिलाको हकअधिकारको स्थापना गर्न सफल भए पनि यी कुराहरू भाषण, सहानुभूति र कागजमा मात्र सीमित रहने गरेका छन् । २१ औँ शताब्दीको प्रवेशलाई खिल्ली उडाउँदै नेपाली महिलाहरू विभिन्न बहानामा अझै पनि प्रताडित हुँदैछन् । बोक्सी, छाउपडी, बालविवाह, दाइजो, घरेलु हिंसा, बेचविखन, अपहरण, बलात्कारजस्ता सामाजिक कुरीति पनि उस्तै छन् ।
नेपालको अन्तरिम संविधान २०६३, ले ‘कानुनको आधारमा सबै नागरिक समान छन् । कसैउपर भेदभाव गरिने छैन । प्रत्येक व्यक्तिलाई सम्मानपूर्वक बाँच्न पाउने हक हुनेछ’ भनेको छ । महिलाको हकका लागि मात्रै पनि संविधानमा छुट्टै व्यवस्था गरिएको छ भने महिलाविरुद्ध शारीरिक, मानसिक वा अन्य कुनै किसिमको हिंसाजन्य कार्य गरिने छैन भनिएको छ । यति हुँदा पनि अधिकांश नेपाली महिला संविधान प्रदत्त हकअधिकारलाई उपभोग गर्न सकिरहेका छैनन् । कतै छोरा नजन्माएको आरोपमा महिला पीडित हुन्छे । बोक्सीको आरोपमा निर्मम कुटपिट र बर्बरतापूर्वक हत्या गरिन्छ । रूढिवादी सामाजिक परम्परा निभाउने नाउँमा छाउपडी गोठमा अक्सिजनको अभावले एक महिलाको मृत्यु भएकामा निजका पिताले अनिष्ट परेको भन्दै चित्त बुझाइरहेका छन् ।
रोजगारीका लागि भारत गएकी रुकुमकोट पेदीकी एक महिला आफ्नै पतिबाट बेचिएकी छन् । यी त प्रतिनिधि पात्र मात्रै हुन् । नेपाली समाजमा यस्ता नियति नेपाली महिलाले पटकपटक भोग्नु परेको छ । प्रत्येक दिन नेपाली महिलाले भोग्नुपरेको नियतिको यस्तै कथा हामी पढ्न, हेर्न र सुन्न पाउछौँ । नेपालमा आधाभन्दा बढी जनसङ्ख्या महिला मात्रै छन् । आधा जनसङ्ख्याको दुर्दशा यस्तो भएपछि बाँकी रहेको आधा जनशक्तिबाट मात्रै राष्ट्रले कसरी उन्नति गर्न सक्ला ?
चितवनकी ठेगनीदेवी जसलाई बोक्सीको आरोप लागाई अफन्तले नै बर्बरतापूर्वक हत्या गरे । खोइ त नेपाली महिलाले संविधानले प्रदान गरेको बाँच्न पाउने हकको उपभोग गर्न पाएको ? आफ्नो पाखुराले कमाइ गरेर ससाना लालाबाला पाल्दै आएकी एउटी विधवा ठेगनीदेवीको मृत्युसँगै ती दुई नाबालकको पनि संसार उजाडिएको छ । सरकारले दिएको क्षतिपूर्तिको रकमले लालाबालाको गुजारा त चल्न सक्ला, शिक्षाको व्यवस्था होला, तर तिनीहरूले आमाको वात्सल्य प्राप्त गर्न सक्दैनन् । पिता गुमाएको पीडा अनि आफ्नैअगाडि भएको आमाको  बर्बरतापूर्ण हत्या ती नाबालकले कसरी सहन गर्न सक्लान् ? अर्की चितवन माडी घर भएकी, आउँदो चैतमा एसएलसी दिने एक छात्रा जसलाई समाजले बोक्सीको आरोप लगाइदिँदा आफूलाई अपहेलित र तिरस्कृत महसुुस गरिरहेकी छन् । बोक्सीको आरोप लागेका कारणले स्कुल जान नसक्ने र साथीभाइका सामु आफू लज्जित भएकी छन् भने समाजमा कसैले पनि उनको मुखसम्म नहेर्ने भनेकाले मानसिक पीडाको सिकार भएकी छन् । ती छात्राको मानसिक पीडालाई के क्षतिपूर्ति हुन सक्छ ? त्यसैगरी सर्लाहीमा बोक्सीकै आरोपमा लोचनादेवी महतोलाई कुटपिट, दुव्र्यवहार गरी मानिसको मलमूत्र कोच्याउने कार्य गरिएको छ । बोक्सीकै आरोपमा सप्तरी वरही वीरपुरकी सुजनादेवी यादव मरणसन्न हुनेगरी कुटिएकी छन् ।
विश्वकै मानवको हकअधिकारको संरक्षण गर्न मानवअधिकारको विश्वव्यापी घोषणापत्र, १९४८ आएको थियो । यसले मात्र महिलाको हक र अधिकारलाई समेट्न नसक्दा महिलाका लागि छुट्टै महासन्धि, महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव अन्त्य गर्ने महासन्धि, १९७९ आएकोमा यसलाई नेपालले पनि अनुमोदन गरिसकेको छ । नेपालको अन्तरिम संविधानमा नै महिला हक भनी व्यवस्था गरिए पनि यहाँका महिलाको स्थिति दर्दनाक छ । अशिक्षा, गरिबी, जनचेतनाको अभावले महिलामाथि हुने हिंसालाई बढावा दिएको छ ।
आर्थिक, सामाजिक, राजनीतिकलगायत सबै क्षेत्रमा महिलाको समान सहभागिताको लागि बहस चलिरहेको बेला ग्रामीण महिलाहरू सामाजिक रूढिवादी परम्परा र अन्धविश्वासको चपेटामा फसेका छन् । बोक्सीको आरोपमा महिलाले निम्नस्तरको अमानवीय यातना बेहोर्नुपरेको घटनाले हामी अझै सामाजिक विभेदमा रुमल्लिइरहेका छौँ भन्ने भान हुन्छ । मुलुक नयाँ शासन व्यवस्थाको अभ्यास र राजनीतिक रूपान्तरणको सकारात्मक पहलमा लागिरहेको बेला यस्ता रुढीवादी, अन्धविश्वास, कुरीतिको अन्त्य गर्दै सामाजिक रूपान्तरणलाई सही रूपमा अघि बढाउनु नितान्त आवश्यक छ । देशमा कुनै राजनीतिक प्रणाली फेरिएर मात्रै पुग्दैन । यसका लागि सामाजिक जनचेतना, मनोविज्ञान र सबैको मानसिकतामा आमूल परिवर्तन आउनु पर्छ । विकृति, विसङ्गति र आपराधिक मनोवृत्तितर्फ उन्मुख समाजलाई चेतनशील बनाउन अग्रसर हुनुपर्छ । बोक्सीको आरोपमा विभिन्न यातना दिने, मानिसको मलमूत्र खुवाउने र बर्बरतापूर्वक हत्यासमेत गरिने प्रवृत्ति नेपालको विपन्न वर्ग र ग्रामीण क्षेत्रमा बढी देखिएको छ । तसर्थ ग्रामीण क्षेत्रमा अझ बढी सशक्त कानुनी व्यवस्थाबारेमा सचेतना आवश्यक छ र कानुन कार्यान्वयनको पक्षलाई अझ प्रभावकारी बनाइनु पर्छ । साथै आर्थिक उन्नतिका लागि समेत व्यवस्था गर्नुपर्छ ।
हिमाल, पहाड, तराई, गाउँ, सहर जताततै महिलामाथि विभिन्न बहानामा यस्ता प्रकारका दुर्घटना हुँदै आएका छन् र अझ पनि हुने सम्भावना छ । यसरी समाजमा रहेको कुरीति र अन्धविश्वासलाई कम गराउन जनचेतना फैलाउने र यस्ता घटना नै घट्न नदिने बारेमा सरकारले पहल गर्नुपर्छ । बोक्सीको आरोपमा पटकपटक महिलामाथि हुने दुव्र्यवहार, कुटपिट र बर्बतापूर्वक हुने हत्या रोक्न बोक्सीसम्बन्धी छुट्टै  कानुनको आवश्यकता रहेको छ । तसर्थ सरकारले चाँडोभन्दा चाँडो यससम्बन्धी कानुन निर्माण गर्न अग्रसर हुनुपर्छ ।
यस्ता बर्बरतापूर्ण आपराधिक घटना नियन्त्रण गर्न कानुनसँगै प्रहरी, प्रशासन र स्वयम् हामी पनि सक्रिय हुनुपर्छ । यस्ता जघन्य अपराधमा संलग्न अपराधीलाई उम्कन नदिई कडाभन्दा कडा सजाय गरिनुपर्छ, ताकि बोक्सीको आरोपमा कुनै अर्की ठेगनीदेवीले जस्तो बर्बरतापूर्ण हत्याको सिकार कसैले हुन नपरोस्, लोचनादेवीले जस्तो मानिसको मलमूत्र खानु नपरोस्, सुजनादेवीले जस्तो कुटाइ खानु नपरोस् र एसएलसी दिने छात्राले जस्तो मानसिक पीडा भोग्नु नपरोस् ।
(लेखिका अधिवक्ता हुन् ।)

प्रतिक्रिया