यिनले मारेका थिए पाँच गैँडा

काठमाडौँ, २४ फागुन । सुर्खेत हरिहरपुरका पूर्वगाविस अध्यक्ष दलबहादुर खड्काले बर्दिया राष्ट्रिय निकुञ्जका पाँच गैँडा मारेको स्विकारेका छन् । सशस्त्र द्वन्द्वकालमा निकुञ्जको बबई उपत्यकाबाट ३७ गँैडा गायब भएका थिए । हराएका अन्य ३२ गँैडाबारे अनुसन्धान चलिरहेको छ ।
गत १२ मङ्सिरमा प्रहरीको अपराध अनुसन्धान ब्युरो (सिआइवी) को सहयोगमा निकुञ्ज प्रशासनबाट खड्का पक्राउ परेका थिए । सोधपुछका क्रममा उनले हालै मात्र आफ्नो संलग्नता स्विकारेको निकुञ्ज प्रशासनले जनाएको छ ।
बयानमा खड्काले ०५८ देखि ०६२ सम्म पाँचवटा गैँडा मारेर खागको कारोबार गरेको स्विकारेका हुन् । निकुञ्जका अनुसार द्वन्द्वकालको ०५८ देखि ०६२ सालसम्मको पाँचवर्षे अवधिमा बबई उपत्यकाबाट ३७ गैँडा हराएका थिए । यत्तिको सङ्ख्यामा गैँडा गायब हुनुमा ठूला सिकारीको हात रहेको रहस्य खुलेको निकुञ्जका सहायक संरक्षण अधिकृत रमेश थापाले बताए ।
चितवन राष्ट्रिय निकुञ्ज र अन्य क्षेत्रबाट बबई उपत्यकामा ०४० देखि ०५८ सालसम्म ७० वटा गैँडा स्थानान्तरण गरिएका थिए । ०५८ को अन्तिममा भएको गणनाअनुसार बबईमा ३७ गैँडा बाँकी थिए । निकुञ्जका अनुसार त्यसपछि चोरी–सिकारी, वासस्थान परिवर्तन र प्राकृतिक मृत्युका कारण गैँडाको सङ्ख्यामा कमी आएको थियो । द्वन्द्वकालमा असुरक्षाका कारण ०५९ पछि बबईमा रहेको एक मात्र सुरक्षा पोस्ट हटाइएको थियो ।
‘पोस्ट हटेपछि गस्ती जानसमेत मुस्किल प¥यो, त्यही मौकामा ३७ वटै गैँडा सखाप भए,’ सहायक संरक्षण अधिकृत थापाले भने, ‘एकजनाले संलग्नता स्विकारेको बाहेक ३७ वटै गैँडा कहाँ गायब भए, अहिलेसम्म खुलेको छैन ।’ गैँडा हराएपछि ०६५ मा उपसचिव झमकबहादुर घिमिरेको संयोजकत्वमा छानबिन समिति बनेको थियो । समितिले झाराटार्ने किसिमको मात्र प्रतिवेदन दियो । स्थानान्तरण गरिएका सबै गैँडा चोरी–सिकारी, बसाइ सरेको र प्राकृतिक मृत्यु भएको सोझो निष्कर्ष समितिले निकालेको थियो ।

प्रतिक्रिया