मिर्गौला बेचेकाको बेहाल

काठमाडौँ, २४ फागुन । विश्व मिर्गौला दिवस आज (बिहीबार) ‘आफ्नो मिर्गौलालाई माया गरौँ’ भन्ने सन्देशका साथ मनाइँदै छ । तर, आर्थिक प्रलोभनमा परेर मिर्गौला बेच्ने व्यक्तिको सङ्ख्या भने कम छैन । उनीहरूको जीवनयापन त झन् कष्टकर बनेको छ ।
२० वर्षदेखि मिर्गौला बेचबिखन हुँदै आएको काभ्रेको होक्से र आसपासमा अझै त्यो क्रम नरोकिएको पाइएको छ । हालै होक्से–१ का हरिबोल धितालले भारत पुगेर आफ्नो मिर्गौला ६० हजार रुपियाँमा बेचेका छन् । आर्थिक प्रलोभनमा परी मिर्गाैला बेचेका उनीजस्ता थुप्रैको जीवन कष्टप्रद बनेको छ ।
कानुनले मिर्गौला बेचबिखनमा बन्देज लगाए पनि तस्करको प्रलोभनमा परी उनीहरूले मिर्गौला भारत पुगेर बेच्ने
गरेका छन् ।
होक्से–२ शिखरपुरका ३० वर्षीय ज्ञानबहादुर मिजारले पनि ७० हजारमा मिर्गौला बेचे । भारतको चण्डीगढ पुगेर सिन्भर वक्र्स अस्पतालमा मिर्गाैला झिकेका उनी अहिले काम गर्न सक्दैनन् ।
साहुले घरजग्गा लिलाम गर्न थालेपछि पाँचखाल–२ का मानध्वज तामाङ पनि आफ्नो मिर्गौला बेच्न बाध्य बनेको बताउँछन् । दलालले दुई लाख ९० हजार रुपियाँ दिने भने पनि आफूले ६२ हजार मात्र पाएको उनले बताए ।
‘मिर्गौला त बेचियो तर अहिले काम गर्न नसकेर बिचल्ली भएको छ,’ उनले भने, ‘घाउको दुखाइ कम गर्न रक्सी पिउँछु, रक्सी नखाए घाउ दुखिहाल्छ, नत्र कसरी काम गर्नु !’
यस्तै पीडा छ, जैसीथोक–७ की बिजुला परियारको पनि । गरिबीको मारमा परेका उनले पनि पैसाकै लोभमा भारत पुगेर ८५ हजारमा  मिर्गौला बेचेकी रहिछन् । तर, आर्थिक अवस्था सुध्रनु त परै जाओस् उनी मिर्गौला बिक्रीपछि ‘थला’ नै
परेकी छन् ।
मिर्गौला बेचेपछि झन् समस्याको भुङ्ग्रोमा परेका उनीहरूको साझा आवाज छ, ‘बाध्यतावश मिर्गौला बेचियो, हाम्रो पीडालाई सरकारले बुझिदेओस् र एकछाक खाने वातावरण बनाइदेओस् ।’
मिर्गौला बेचेर बेहाल भएकाहरू ज्ञानबहादुर, मानध्वज र बिजुला मात्र होइनन्, स्थानीय पलाञ्चोक भगवती असारे स्रोता क्लबका अनुसार होक्सेलगायत  पाँचखाल, बालुवा, ज्याम्दी, जैसीथोक, खरेलथोक, कोसीदेखा, साठीघर भगवती गाविसका साथै सिन्धुपाल्चोक जिल्लामा गरी एक सय ५० भन्दा बढी छन् । त्यसमा होक्सेका मात्र ६० भन्दा बढी छन् । तीनजनाको त मृत्युसमेत भइसकेको छ ।
राजधानीबाट ४० किलोमिटरको दूरीमा रहेका यी गाउँमा आफ्नो मिर्गौलालाई माया गर्नुपर्छ भन्ने सन्देश पुग्न सकेको छैन । ‘मिर्गौला बेचबिखन रोकिएको छैन, गाउँमा दलाल अझै सक्रिय छन्, मिर्गौला बेच्ने अधिकांशको अवस्था दयनीय छ,’ क्लबका अध्यक्ष बद्री ढुङ्गाना भन्छन्, ‘मिर्गाैला दिवस सहरमै सीमित हुन्छ, बरु तस्करहरू बारम्बार आइरहन्छन् ।’
मिर्गौला विशेषज्ञ डा. ऋषिकुमार काफ्लेका अनुसार नेपालमा जनसङ्ख्याको १० प्रतिशत मिर्गौलासम्बन्धी रोगबाट पीडित छन् । तीमध्ये प्रत्येक वर्ष दुई हजार ६ सय जनाको मिर्गौला फेर्नुपर्ने हुन्छ तर स्वदेश र विदेशमा गरी मुस्किलले तीन सयले मात्र मिर्गाैला फेर्छन् र बाँकीको मिर्गौला फेल भएकै कारण मृत्यु हुने गर्छ ।
‘अङ्ग प्रत्यारोपण समन्वय समिति आगामी चैतमा मिर्गौला बेच्नेको अवस्था बुझ्न होक्से जान लागेको छ,’ समितिका सदस्यसमेत रहेका काफ्लेले भने । सरकारी निकायले चासो नदेखाउँदा मिर्गौला तस्करीमा ठूलै गिरोह सक्रिय रहेको क्लबका पदाधिकारी बताउँछन् । २० वर्षपछि बल्ल हालै गाउँमा सरकारी तथा गैरसरकारी निकाय जनचेतनाका लागि पुगेको छ । ‘हामी होक्से पुगेर आयौँ, अब जनचेतना जगाउँछौँ,’ काभ्रेका सिडिओ रुद्रनाथ बस्यालले भने ।
जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयका प्रमुख होक्से पुग्दा पीडितले मिर्गौला तस्करको नामै किटेर निवेदन दिएका छन् । ‘निवेदन आएपछि होक्से र आसपासका गाउँमा तस्करको खोजीका लागि प्रहरी खटाएका छौँ,’ जिल्ला प्रहरी प्रमुख सुरेन्द्रप्रसाद मैनालीले भने, ‘अब छिट्टै तस्करहरू समातिन्छन् ।’
गाउँकै दलालमार्फत सर्वसाधारण–लाई काठमाडौँका अस्पतालमा रगत जाँच गरी भारतका विभिन्न अस्पतालमा पु¥याएर मिर्गौला झिकिन्छ । पीडितका अनुसार भारतमा सबैको नक्कली नागरिकता बनाइएको हुन्छ ।

प्रवीण ढकाल
उद्घाटनको १४ महिनापछि सेवा
काठमाडौँ, २४ फागुन । मिर्गौलासम्बन्धी विशेषज्ञ अस्पतालका रूपमा सञ्चालन गर्न लागिएको भक्तपुरस्थित मानव अङ्ग प्रत्यारोपण अस्पताल (मिर्गौला अस्पताल)को सेवा बिहीबार सुरु हुने भएको छ । १४ महिनाअघि नै उद्घाटन गरिएको उक्त अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मी र उपकरणको व्यवस्था गरी सेवा सुरु गर्न लागिएको हो ।
उक्त अस्पतालमा बिहीबार (आज) स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री राजेन्द्र महतोले सेवा सुरु गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार अस्पतालमा तत्कालका लागि वीर अस्पतालका विशेषज्ञबाट मिर्गौलाको ओपिडी सेवा सुरु गर्न लागिएको छ । अस्पतालको सेवा वीरका प्रत्यारोपण विशेषज्ञ डा. पुकारचन्द्र श्रेष्ठको नेतृत्वमा सुरु हुन लागेको छ । डा. श्रेष्ठले विभिन्न समस्याका कारण अस्पताल सञ्चालनमा ढिलाइ भए पनि ओपिडी सेवा सुरु गरेको तीन महिनाभित्र डायलाइसिस सेवा र ६ महिनाभित्र मिर्गौला प्रत्यारोपण सेवा थाल्ने योजना सुनाए ।
भक्तपुर अस्पताल परिसरमा रहेको साढे दुई तलाको सुविधासम्पन्न उक्त अस्पतालको २३ पुस ०६७ मा तत्कालीन स्वास्थ्यमन्त्री उमाकान्त चौधरीले उद्घाटन गरेका थिए । त्यसबेला एक साताभित्रै ओपिडी सेवा सञ्चालन गरी बिस्तारै अन्य सेवा सञ्चालन गर्ने बताइएको थियो ।
१२ असोज ०६७ मा मन्त्रिपरिषद् बैठकले भक्तपुर अस्पताल परिसरमा अलपत्र रहेको नयाँ भवनलाई ‘किड्नी अस्पताल’का रूपमा सञ्चालनको निर्णय गरेको थियो । त्यही निर्णयअनुसार तत्कालीन मन्त्री चौधरीले ठूलै संस्था स्थापनाको ‘जस लिन’ र अस्पतालका लागि छुट्ट्याएको दुई करोड रुपियाँ खर्च गर्न बाहिरिने बेला हतारमा अस्पताल उद्घाटन गरेका थिए ।
‘जनशक्ति तथा उपकरण केही पनि नभएको रित्तो भवन जस पाउनकै लागि तत्कालीन मन्त्रीले उद्घाटन गरेका थिए,’ मन्त्रालय स्रोतले भन्यो, ‘अस्पतालका लागि छट्ट्याइएको दुई करोडले आवश्यक पूर्वाधार ल्याएर सेवा सुरु गर्नुपर्ने थियो तर हुन सकेन ।’
अस्पतालमा केही चिकित्सक तथा स्वास्थ्यकर्मी र उपकरणको व्यवस्थापछि बल्ल सेवा सुरु हुन लागेको अस्पतालका प्रशासन प्रमुख कृष्णहरि गेलालले बताए । गेलालका अनुसार अस्पतालमा  वीर अस्पतालका विशेषज्ञले ओपिडी सेवा सुरु गर्नेछन् भने बिस्तारै जनशक्ति थप गरी सय शैय्यासम्म सञ्चालन गरिनेछ ।

प्रतिक्रिया