सहकारी विभागको काम अवरूद्ध

काठमाडौँ, २३ फागुन । सहकारी विभागमा हुने दैनिक कामकाज अवरूद्ध भएको छ । विभागका रजिस्ट्रार सुदर्शनप्रसाद ढकाल बिदामा बसेको करिब एक महिना पुगिसकेको छ ।
उनी २९ माघदेखि बिदामा बसेका हुन् । रजिस्ट्रारको काम सम्हाल्ने उप–रजिस्ट्रार गोपीकृष्ण निरौला पनि लामो समयदेखि बिदामै छन् ।
प्रस्तावित नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी सङ्घ दर्ता विवाद भएपछि रजिस्ट्रार ढकाल बिदामा बसेको स्रोतले बतायो । बहुउद्देश्यीय सहकारीकर्मीले विभागमा आई सङ्घ दर्ता गर्न दबाब दिएकै कारण उनी बिदामा बसेका हुन् । उनीहरूले जसरी भए पनि प्रमाणपत्र उपलब्ध गराउन दबाब दिँदै आएका छन् ।
रजिस्ट्रार र उपरजिस्ट्रार नहुँदा विभागको दैनिक कार्य रोकिएकोे विभागका एक अधिकारीले बताए । उनका अनुसार दिनहुँ सेवाग्राही फर्कने गरेका छन् । रजिस्ट्रार नै नभएपछि अन्य कर्मचारी पनि यतिखेर फुर्सदी बनेका छन् । सहकारी दर्ता स्वीकृतदेखि विभिन्न कार्य विभागबाट हुन्छ । सहकारी सङ्घ÷संस्थाको मुख्य नियामक निकाय विभाग हो । विभागमा कोही काजमा र केही बिदामा बसेका छन् ।
रजिस्ट्रार ढकालले २९ माघमा प्रमाणपत्र उपलब्ध गराउने आश्वासन दिएको प्रस्तावित नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी सङ्घका अध्यक्ष सुरेन्द्र भण्डारीले बताए । सङ्घ दर्ता गर्न सहकारी कानुन नभए पनि कानुन परिमार्जन गरी सङ्घ दर्ता हुनै पर्ने जिकिर उनको छ । तर, बहुउद्देश्यीय सहकारीको केन्द्रीय सङ्घ दर्ता गर्न पर्याप्त कानुन नभएको सहकारी आन्दोलनका अगुवा बताउँछन् ।
सहकारी विभागद्वारा जारी सहकारी सङ्घ÷संस्था दर्ता, सञ्चालन, लेखापरीक्षण, अनुगमन तथा नियमनसम्बन्धी मापदण्ड ०६८ मा पनि सङ्घ दर्ता गर्न पाउने प्रावधान खुलाइएको छैन ।
प्रस्तावित सङ्घले तदर्थ जिल्ला सङ्घ गठनलाई तीव्रता दिएको छ । हालसम्म काठमाडौँ, ललितपुर, धादिङ, नुवाकोट, सिन्धुपाल्चोक, चितवन, मकवानपुर जिल्लामा तदर्थ जिल्ला सङ्घ गठन गरिसकिएको उनीहरू बताउँछन् ।

प्रतिक्रिया