जनकपुरमा होली दुई दिनमात्र

जनकपुरधाम, २३ फागुन । ‘आपसी प्रेम र भाइचाराका नाममा नचिनिएका युवतीलाई मोबिल किन छ्याप्नू,’ जनकपुरकी सीताकुमारी साहले धनुषामा पनि होलीमा विकृति आएकामा चिन्ता प्रकट गरिन् । होलीको आगमनसँगै जनकपुरमा रौनक बढेको छ । तर, शान्ति–सुरक्षाको अवस्था जटिल बन्दै जानु र होलीका नाममा विकृत कार्यमा युवा पुस्ता रमाउन थालेपछि जनकपुरमै होली आक्रोश पोख्ने मौका बन्दै गएको स्थानीयवासीले महसुस गर्न थालेका छन् ।
यसपटक जनकपुरमा होली दुई दिन मनाइने भएको छ । बुधबार जानकी मन्दिरबाट डोला जनकपुर परिक्रमा गराएर बिहीबार र शुक्रबार होली मनाउने तयारी भएको छ । पहिलेपहिले वसन्त पञ्चमीको आगमनसँगै जनकपुरमा होलीको तयारी सुरु भए पनि पछिल्ला समय सुरक्षा व्यवस्थामा कडाइका कारण होली मनाउने दिन घटेको हो ।
दुई वर्षअघि १७ फागुन, २०६६ मा जनकपुरका सञ्चारउद्यमी अरुण सिंघानियाको हत्यापछि जनकपुरमा होलीको रौनक घटेको हो । होलीकै दिन सिंघानियालाई गोली प्रहार गरेर हत्या गरिएको थियो । जनकपुरमा अपराध र विकृति बढ्न थालेपछि पछिल्ला समय होली सामान्य ढङ्गले मनाउने प्रयासमा स्थानीयवासी जुटेका हुन् ।
जनकपुरका कपडा व्यवसायी सञ्जयकुमार साह पहिलाजस्तो होलीको किनमेल नबढेको बताउँछन् । ‘पहिला होलीका लागि कपडा किन्नेको भिड हुन्थ्यो, अहिले त घटेको छ,’ उनले भने । कपडाजस्तै रङ र मिठाईको कारोबार पनि जनकपुरमा बढेको छैन ।
यसपटक होलीमा कुनै दुर्घटना नहोस् भनेर प्रहरीले त्यहाँ सुरक्षा–सतर्कता अपनाएको छ । ‘जनकपुर प्रवेश गर्ने १४ नाकामै थप प्रहरी परिचालन भएका छन्,’ इन्स्पेक्टर मछिन्द्रबाबु जोशीले भने, ‘बजारमा सिसिटिभी जडान गरिएको छ र राति १० बजेपछि बजारका सबै पसल बन्द गराउने व्यवस्था मिलाइएको छ ।’
‘युवा पुस्ताले होलीका नाममा विकृति भित्र्याएका छन्,’ साहित्यकार डा. राजेन्द्र विमलले भने, ‘होलीका नाममा मोबिल दल्ने, युवतीलाई दुव्र्यवहार गर्ने र अश्लील गीतसङ्गीतमा रमाउँदै मद्यपान गर्ने कामलाई निरुत्साहन गर्दै होलीको परम्परा र संस्कृति जोगाउनुपर्ने बेला भएको छ ।’

प्रतिक्रिया