एमाले र अस्तित्व रक्षाको प्रश्न

राजनीति सङ्क्रमणमा रहेको अवस्थामा आयोजना गरिएको नेकपा -एमाले)को राष्ट्रिय प्रतिनिधि परिषद् बैठक सम्पन्न भयो । एमालेको मिनी’ महाधिवेशनका रूपमा हेरिएको यस परिषद् बैठकले अझै पनि एमाले मुलुकको प्रभावशाली राजनीतिक शक्ति रहेको प्रमाणित गरेको छ । कार्यकर्ता पङ्क्तिमा बैठकले मुलुकलाई समस्यामुक्त पार्न सघाउने आशा बढेको छ । धेरै हदसम्म एमालेको नेतृत्व र कार्यकर्ता पङ्क्तिले गुटबन्दी र आपसी कलहका कारण भएको क्षतिको आकलन गरिसकेको पनि आभास पाइएको छ ।
एमाले एउटा पार्टी मात्रै होइन शक्ति हो र यसले लोकतान्त्रिक गणतन्त्रसम्मको यात्रामा अत्यन्त महत्वपूर्ण भूमिका पनि निर्वाह गरेको छ । तर, एकातिर उग्रवामपन्थ र अर्कातिर यथास्थितिवादको पिल्साइमा परेको यस पार्टीको अस्तित्व, आवश्यकता र औचित्यमाथि प्रश्न गर्नेको पनि कमी छैन । विशेषगरी सङ्क्रमणकालको समापन, शान्तिप्रक्रियाको निष्कर्ष र संविधान निर्माणको सवालमा एमालेका अडान र सोचहरू पटक-पटक विवादमा पर्दै आएका छन् । यसका विरोधीले यस दललाई विभिन्न अपमानजनक उपमाहरू गुथाउने गरेका छन् ।
निश्चित रूपमा एमालेको छवि बिगि्रएको छ । विभिन्न महत्वपूर्ण मुद्दामा उसका अडान र दृष्टिकोणमा दोहोरो आयाम र अर्थ हुने गरेको पनि सत्य हो । तर, एमालेको सिङ्गो नेतृत्व र कार्यकर्ता पङ्क्तिले ती अडान र सोचको सार्थकतालाई आममानसले बुझ्न सक्ने गरी अथ्र्याउन सकिरहेका छैनन् । वास्तवमा यही नै एमालेको कमजोरी हो, जसका कारण आज त्यो दल विरोधीहरूका नजरमा महत्वहीन बन्दै गएको छ ।
परिषद् बैठकका क्रममा एमालेले आफूलाई अग्रगामी लोकतान्त्रिक पार्टी बनाउने उद्घोष गरेको छ । यो स्वाभाविक हो, किनभने यस्तो दावी गर्नु उसको अधिकारको कुरा हो । तर, मञ्चबाट भाषण गरेर कुनै पनि दल रातारात महान् हुन सक्दैन । त्यसका लागि नीति र कार्यक्रम त आवश्यक हुन्छ नै, जनतामाझ सफा छवि पनि हुनु पर्छ । आज एमालेको छवि जसरी धुमिल हुँदै गइरहेको छ, त्यसको आलोकमा खुलामञ्चबाट गरिएको उद्घोष वस्तुगत देखिँदैन ।
परिषद् बैठकले दिन खोजेको सन्देश जे भए पनि एमाले अहिले अस्तित्व रक्षाको ऐतिहासिक चुनौतीका अगाडि ठिङ्ग उभिएको कुरा नकार्न सकिन्न । यो सत्य बिर्सेर एमालेका नेताहरूले अगाडि बढ्न खोजे भने झन् अनिष्टको सामना गर्नुपर्नेछ । आजका दिनमा एमालेका अगाडि तेर्सिएका चुनौतीहरूलाई पन्छाउन त्यस दलले केही कार्यभारलाई तात्कालिक महत्वका विषय बनाइहाल्नु पर्छ । एमाले अरूभन्दा फरक पार्टी किन र कसरी हो ? अबको नेपालमा उसको औचित्य के हो ? उसमाथि लगाइएका आक्षेपहरूको प्रस्ट जवाफ के हो ? यी प्रश्नको उत्तर पनि नदिई नहुने अवस्था उत्पन्न भएको छ, एमाले   सम्मुख ।
नैतिकवान्, पार्टीको निर्णयप्रति प्रतिबद्ध र अनुशासित कार्यकर्ताको पङ्क्ति भएको पार्टीले मात्र आमूल परिवर्तनकारी भूमिका निर्वाह गर्न सक्छ । एमालेले आफ्नो कार्यकर्ता पङ्क्तिलाई नैतिकताको राजनीति गर्न प्रेरित गर्‍यो र लोकतन्त्रका आधारभूत सिद्धान्तहरूका लागि आत्मोत्सर्ग गर्न सक्ने गरी प्रशिक्षित गर्‍यो भने त्यो दल अरूभन्दा फरक हुने छ । साथै, निश्चित विषय वा मुद्दामा प्रस्ट अनि एकताबद्ध अडान र दृष्टिकोण राख्न सक्यो भने त्यस दलमाथि लागेका आक्षेपहरू पखालिँदै जाने छन् । शीर्षदेखि आधारभूत तहसम्म नेता र कार्यकर्ताबीच बलियो एकता हुन सक्यो भने मात्रै एमालेले आफ्नो भविष्यमाथि मडराएको बादल हटाउन सक्छ । अन्यथा गिर्दै गएको उसको साखलाई उकास्ने कुनै उपाय रहने छैन ।

प्रतिक्रिया