अयोग्य लडाकुको बन्दले करोडौंको नोक्सानी

विराटनगर, २३ फागुन । अनमिनको प्रमाणिकरणमा अयोग्य ठहरिएका माओवादीका पूर्व लडाकुले आह्वान गरेको वन्दको तेस्रो दिनपनि पूर्वाञ्चलको जनजीवन प्रभावित भएको छ । बन्दले गर्दा पूर्वाञ्चलमा करोडौंको नोक्सानी भएको छ ।
अयोग्य लडाकुको बन्दका कारण सार्वजनिक सवारी साधन चल्न सकेका छैनन् भने निजी सवारी साधन भने फाटफुट रुपमा चलेका छन् । बन्दका बावजुद वजार भने खुलेका छन् । मेची र कोशी अञ्चलमा वन्दको प्रभाव परेपनि कोशी पश्चिम सगरमाथा अञ्चलको जनजीवन भने समान्य रहेको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
प्रहरीका अनुसार वन्द अवज्ञा गरेको भन्दै झापाको लखनपुरमा काठमाडौबाट काँकडभिट्टा तर्फ जाँदै गरेको ना ४ ख ५६९६ नम्वरको रात्रीवस आज विहान वन्दकर्ताले तोडफोड गरेका छन् । अयोग्य लडाकुहरुले धनकुटामा को १ ख ३१०५ नम्वरको पिकअपभ्यानमा पनि तोडफोड गरेका छन । सुनसरीको ईटहरी ७ स्थित वुढी खोलामा को १ ख २३८० नम्वरको ट्रकमा समेत उनीहरुले आगजनी  गरेका छन ।
अयोग्य लडाकुको वन्दले गर्दा ईटहरीमा सुरु भएको कांग्रेसको मधेश जागरण अभियान तथा पूर्वाञ्चल  क्षेत्रीय प्रशिक्षण कार्यक्रममा समेत प्रभाव पारेको छ ।
वन्दले गर्दा विराटनगर भन्सारको दैनिक दुई करोड वढि राजस्व असुलीमा प्रभाव परेको भन्सार कार्यालयका प्रमुख विनोद कुँवरले वताउनुभयो । लगातारको वन्दले गर्दा  भन्सार जाँचपास हुन नसक्दा वन्दरगाहामा मालवाहक सवारी साधनले खचाखच  भरिएका छन ।
औद्योगिक क्षेत्रका उधोग कलकारखाना समेत वन्द भएपछि दैनिक करोडौको हानीनोक्सानी भैरहेको उधोग संगठन मोरङले जनाएको छ ।
उता, दाङमा पनि अयोग्य लडाकुहरुले आव्हान गरेको अनिश्चितकालिन बन्दका कारण आजपनि दाङको जनजिवन प्रभावित भएको छ । बन्दका कारण जिल्लाको घोराही, तुल्सीपुर, लमही तथा भालुवाङका बजार नखुलेको सौर्य दैनिकका सम्वाददाता रीता लामाले जनाएकी छन् ।
बन्दको अवज्ञा गरेको भन्दै बन्दकर्ताले एउटा कारमा तोडफोड गरेका छन् । लमहीबाट घोराहीतर्फ आउदै गरेको बा ३ च ७६७१ नम्बरको कारमा कुइरेपानीमा तोडफोड गरी जलाउने प्रयास गरिएका थियो ।

प्रतिक्रिया