अस्तव्यस्त विद्युत् लाइनले ‘ज्यान लिँदै’

काठमाडौँ, २२ फागुन । राजधानीमा धेरै ठाउँमा अस्तव्यस्त विद्युत् लाइनका कारण आगलागीको जोखिम बढिरहेको छ । विद्युत् सर्टकै कारण अनाहकमा ज्यान गुमाउने क्रम बढेपछि यस्ता विद्युत् लाइनलाई सर्वसाधारणले ‘ज्यानमारा’को संज्ञा दिन थालेका छन् ।
सार्वजनिक ठाउँका बिजुलीको तार जुध्दा झिल्का निस्कने घटना सामान्य बनिसकेका छन् । काठमाडौँमा बस्ती बाक्लिँदै गएकाले यस्ता झिल्काले पनि आगो सल्कन सक्ने खतरा बढेको हो ।
‘सार्वजनिक ठाउँमा बिजुलीको तार अस्तव्यस्त हुँदा आगलागीको खतरा बढेको छ,’ नेपाल विद्युत् प्राधिकरणका एक कर्मचारीले भने, ‘यसको व्यवस्थापनका लागि सरकारले पर्याप्त बजेट दिएको छैन । विद्युत्जस्तो संवेदनशील विषयलाई राज्यले बुझ्नै सकेको छैन ।’
सहरका सार्वजनिक ठाउँमा बिजुलीको पोल र तारहरूको अवस्था अस्तव्यस्त छ नै ! अझ सर्वसाधारणका घरभित्रको वायरिङ झनै खतरापूर्ण रहेको विशेषज्ञहरू बताउँछन् । ‘घरभित्रको वायरिङ पद्धति नै गलत छ, राम्ररी वायरिङ नहुँदा कहिले विद्युत् सर्ट हुन्छ भन्ने ठेगानै हुँदैन,’ जलस्रोत विश्लेषक ज्ञानेन्द्रलाल प्रधानले भने, ‘घरभित्र विद्युत्को झिल्काले टिप्ने धेरै वस्तु हुने भएकाले तुरुन्तै आगलागी हुन सक्छ ।’
प्रधानका अनुसार अरू देशमा विद्युत् प्राधिकरणका निरीक्षकले वायरिङ सही रहेको प्रमाणित गरेपछि मात्र विद्युत् लाइन दिइन्छ । तर, नेपालमा जोसुकैले जस्तो वायरिङ गरे पनि कुनै आधिकारिक परीक्षण गरिँदैन । नेपालमा ७० प्रतिशत आगलागीका घटना विद्युत् सर्टकै कारण हुने गरेको प्रधानले बताएका छन् ।
‘विद्युत्का निरीक्षकले वायरिङलगायत पद्धति ठीक छ भनेर प्रमाणित गरेपछि मात्र विद्युत् दिने र यदि आगलागी भएमा ती निरीक्षकलाई नै कारबाही गर्ने नीति नेपालमा पनि ल्याउनुपर्छ,’ उनले भने ।
प्राधिकरणले जथाभावी रूपमा वायरिङ गरिएको, कमसल तार प्रयोग गरिएको, तार झुन्डिरहेको अवस्थामा पनि उपभोक्तालाई सजिलै विद्युत् उपलब्ध गराउँदै आएको छ । प्राधिकरणका अध्यक्ष एवं ऊर्जासचिव हरिराम कोइराला विद्युत् निरीक्षकले प्रमाणित गरेपछि मात्र लाइन दिनुपर्ने व्यवस्थाबारे आफूलाई कुनै जानकारी नभएको बताउँछन् । तर, विद्युत् लाइनको अवस्था अस्तव्यस्त रहेको भने उनले स्विकारे ।
‘पोलहरू सार्नुपर्ने छ, अव्यवस्थित तार व्यवस्थित बनाउनुपर्ने छ, यसका लागि पहल गरिरहेका छाँ,’ सचिव कोइरालाले भने ।
कालीमाटीमा विद्युत् सर्ट भएर आगलागी हुँदा शनिबार ६ जनाको ज्यान गएको थियो । यसअघि विद्युत् सर्टकै कारण आगलागी भई यही ९ फागुनमा असनमा पाँचतले घर जलेर नष्ट भएको थियो ।
‘राजधानीमै कतिपय बिजुलीका पोल ढल्ने अवस्थामा पुगेका छन् । तारहरू पूरै अव्यवस्थित छन्, कतिपय ठाउँमा लत्रिएका छन्,’ नयाँ बानेश्वरका उपभोक्ता सीताराम तिमल्सिना भन्छन्, ‘अहिले सडक विस्तारपछि त झनै अस्तव्यस्त भएको छ । कहिले विद्युत् सर्ट भएर मरिन्छ भन्ने ठेगान छैन ।’
उपभोक्ता हित संरक्षण मञ्चका महासचिव ज्योति बानियाँ पनि प्राधिकरणले व्यवस्थित रूपमा विद्युत् वितरण नगर्दा उपभोक्ता सधँ खतरामा रहेको बताउँछन् । ‘उपभोक्तालाई विद्युत् प्राधिकरणले सचेतना जगाउन विशेष कार्यक्रम ल्याउनुपर्छ, जथाभावी विद्युत् लाइन वितरण गर्दा आगलागीको ठूलो खतरा उत्पन्न हुन्छ,’ उनले भने ।

प्रतिक्रिया