पर्यटन, पर्यावरण र भिजन २०२०

पर्यटनको विकास तथा अभिवृद्विका लागि शान्तिपूर्ण स्थिति कायम हुनु पहिलो आवश्यकता हो । अशान्त र गञ्जागोलको अवस्थामा रहेको कुनै पनि पर्यटकीय गन्तव्यमा पर्यटक भ्रमण गर्न चाहँदैनन् । सबैलाई आ–आफ्नो ज्यान प्यारो हुन्छ र खतरा मोलेर कोही पनि भ्रमणमा निस्कने सवाल उठ्दैन । सन् १९९८ को नेपाल भ्रमण वर्षपछि पर्यटकीय उद्गमस्थल भारत, जापान, अमेरिका, जर्मनी, फ्रान्स, बेलायतलगायत मुलुकका पर्यटकले नेपालको ‘छवि’ राम्रो भएकाले सन् १९९९ मा पाँच लाख पर्यटकले भ्रमण गरे । तर, त्यसलगत्तै माओवादीको सशस्त्र सङ्घर्ष सुरु भएपछि पर्यटक आगमनको क्रम आधाआधिमा झ¥यो । त्यो क्रम १२ बुँदे शान्ति सम्झौता सम्पन्न नभएसम्म जारी रह्यो । नेपाल सरकार तथा माओवादी विद्रोही शक्तिबीच शान्ति सम्झौता भएपश्चात् पर्यटक आगमन क्रमशः बढ्दै गएको हो । हाल राष्ट्रिय राजनीतिमा सङ्क्रमणकालीन अवस्था भए पनि शान्ति सुरक्षाको स्थिति अपेक्षाकृत राम्रो रहेकाले पर्यटक आगमनमा २५ प्रतिशतले वृद्धि भएको छ ।
राष्ट्रिय अर्थतन्त्रमा पर्यटनको उल्लेखनीय भूमिका रहेको छ र यसले मुलुकको आर्थिक तथा सामाजिक विकासमा बहुआयामिक प्रभाव पार्दछ । जस्तो कि काठमाडौँ उपत्यका, पोखरा, चितवन, सगरमाथा आधार शिविर क्षेत्र तथा लाङटाङ राष्ट्रिय निकुञ्जवरिपरिका लाखौँ जनताको जनजीविकासित पर्यटन जोडिएको छ । तर, माथि उल्लेखित नेपालका पर्यटकीय गन्तव्य मात्र होइन अन्य संसारमा पर्यावरणमा नकारात्मक असर परिसकेकोबारे पनि हामी बेखबर हुन भएन, हामीले साँच्ची नै पर्यटनको दिगो विकास चाहने भए । त्यसैले पर्यटनको विकासका लागि मात्र होइन हाम्रो भावी पुस्ताका लागि पनि हामीले हरहालतमा पर्यावरणलाई स्वच्छ राख्ने प्रयासतर्फ उन्मुख रहनु अत्यावश्यक छ ।
स्रोत–साधनमा बहुसङ्ख्यक जनताको पहुँच नहुनु, आर्थिक विकासको फल सीमित व्यक्तिले पाइसकेको स्थिति रहनु र अर्कोतिर प्रकृतिको अधिकतम दोहनले संसारमा झन् द्वन्द्व चर्किरहेछ । विशेषगरी यस्तो अवस्था एसिया, अफ्रिका तथा ल्याटिन अमेरिकाको विकासोन्मुख मुलुकमा भएकाले त्यहाँ समस्याबाट पीडितहरूको सङ्ख्या बढ्दो छ । माओवादीको राजनीतिसित हामी सहमत हुनु नहुनु आफ्नै ठाउँमा छ । तर, उनीहरूले नेपाली जनताको शोषण तथा उत्पीडनको सम्बन्धमा आवाज उठाउँदा तत्कालीन सरकारले शक्तिको बलमा निमिट्यान्न पार्न खोज्दा सफल नभएको यथार्थ हामी सबैसामु छर्लङ्ग छ । भारतको उडिसा, झारखण्ड तथा मध्यप्रदेशका जिल्लामा प्राकृतिक स्रोत–साधनको भारतीय तथा बहुराष्ट्रिय कम्पनीले अन्धाधुन्ध तरिकाले औद्योगिक विकासको नाममा दोहन गर्न थालेपछि स्थानीय स्रोतमा बाँचिरहेका आदिवासी जनता सङ्घर्षमा ओर्लिएको दृष्टान्त पनि जीवित छ ।
नेपालको पर्यटनको कुरा गर्दा यसको विकेन्द्रीकरण अझसम्म हुन नसक्नु पनि एउटा दुर्भाग्य हो । पर्यटन व्यवसाय काठमाडौं उपत्यका, सोलुखुम्बु, पोखरा र चितवनको सेरोफेरोमा मात्र केन्द्रित रहेकाले त्यहाँका जनताले मात्र लाभ पाइरहेका छन् । मेचीदेखि महाकालीसम्म स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्नसक्ने सम्भावना रहेका अनेकौँ गन्तव्य छन् । तर, स्थानीय जनता तथा राज्यको उदासीनताले गर्दा इलाम, संखुवासभा, तेह्रथुम, ताप्लेजुङ, कोसीटप्पुजस्ता पर्यटन विकासका लागि अनेकौँ सम्भावना बोकेका क्षेत्रमा सीमित पर्यटन गतिविधि मात्र सञ्चालनमा छन् । पूर्वाधार नभएको साथै प्रचारप्रसार हुन नसकेको रारा ताल, शे–फोक्सुण्डो, ढोरपाटन तथा शुक्लाफाँटाको के कुरा गर्ने ? हालै अन्नपूर्ण संरक्षित परियोजनाको प्रकाशित एक तथ्याङ्कअनुसार आव ०६७÷६८ मा हालसम्मकै सबैभन्दा बढी ९५ हजार तीन सय १४ पर्यटक तेस्रो मुलुकबाट नेपाल भ्रमणमा आएका थिए ।
पर्यटनमा विकेन्द्रीेकरण हुन नसकेकाले र सबै पूर्वाधार नभएका कारणले रमणीय स्थान दामनसमेत पर्यटकविहीन बन्न पुगेको छ । दामनवरिपरि टिस्टुङ, पालुङ, चित्लाङ, बज्रबाराही र कुलेखानीजस्ता प्रदूषणरहित स्वच्छ हराभरासँगै मनै लोभ्याउने शान्त वातावरण भएका गाउँवेंसी प्रशस्तै छन् । त्यहाँ पनि पर्यटकहरू आकर्षित हुन सकेका छैनन् । डुङ्गामा सयर गरेर आनन्दित हुन पोखराको फेवाताल जानु अब आवश्यक छैन । कुलेखानीको मनोरम इन्द्रसरोवर तालमा डुङ्गा सयर गर्दै त्यहाँको ताजा माछाको स्वाद चाख्दाको मजा नै बेग्लै छ । पोखराभन्दा आधा दूरी नजिक, थौरै समय र खर्चमा पनि भरपूर रमाइलोसित आफ्ना फुर्सदका क्षणहरू त्यस क्षेत्रमा व्यतीत गर्न सकिन्छ ।
थाइल्यान्ड, मलेसिया, सिङ्गापुर तथा हङकङजस्ता एसियाका प्रमुख गन्तव्यको कुरा छाडौँ । भर्खरै पर्यटन उद्योगमा पाइला हालेको लाओस, कम्बोडिया र भियतनामले क्रमशः पर्यटन क्षेत्रमा राम्रो प्रगति गर्दै छन् । माल्दिभ्सजस्तो झन्डै १२०० समुद्री टापुबाहेक अन्य कुनै पर्यटकीय उत्पादन नभएको र पर्यटन उद्यमशीलतामा हामीभन्दा निकै पछाडि रहेको सानो हिमाली अधिराज्य भुटानले अभिजात पर्यटकलाई मात्र स्वागत गर्ने नीति अँगाल्दै राम्रो आर्थिक लाभ लिइरहेको छ । यस विषयलाई नेपाली पर्यटन क्षेत्रसँग सम्बन्धित र सरोकारवालाले गम्भीरतापूर्वक लिने बेला भयो कि ? सन् १९८६, ८७ सालतिर पञ्चायतकालमा तत्कालीन पर्यटन मन्त्री रमेशनाथ पाण्डेले पाँच लाख पर्यटक भित्र्याउने घोषणा गरेझैँ वर्तमान पर्यटन तथा नागरिक उड्डयन मन्त्री लोकेन्द्र विष्ट मगरले केही समयपहिले ‘२०२० भिजन’ अन्तर्गत सन् २०२० सम्म २० लाख पर्यटन भित्र्याउने महत्वाकाङ्क्षी घोषणा गरे, जुन सुन्दा राम्रो त लाग्छ, तर के यो सम्भव छ ?
राष्ट्रिय ध्वजाबाहकको दूरवस्था, अत्यन्त साँघुरो तथा अव्यवस्थित एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले त्यत्रो सङ्ख्यामा पर्यटक आवागमनलाई कसरी धान्न सक्छ होला ? राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमसँग पर्याप्त सङ्ख्यामा विमान नभएसम्म हामीले ठूलो सङ्ख्यामा पर्यटक भित्र्याउन सक्दैनौँ । नेपालका लागि प्रमुख पर्यटक उद्गम बजार जर्मनी, फ्रान्स, बेलायत, जापान, अमेरिका, अस्ट्रेलिया र चीनसम्म काठमाडौंबाट सोझो हवाई उडान नभएसम्म हामीले अपेक्षा गरेअनुसार पर्यटक नेपाल आउँदैनन् । नेपालको यति वटा मुलुकसित हवाई सम्झौता भयो भनेर बखान गर्दैमा पर्यटक सङ्ख्या बढ्ने होइन । जब नेपालले नयाँ विमान खरिद गर्ने कुरा सुरु गर्छ तब हवाई माफियाहरू विभिन्न बखेडाहरू झिकी नयाँ विमान किन्ने कुरामा भाँजो हाल्न खोज्छन् ।

प्रतिक्रिया