धादिङ मेलाको आकर्षण

काठमाडौँ, २० फागुन । राफ्टिङ त्रिशूली नदीमा र त्रिशूली नदी धादिङमा’ भन्ने नाराका साथमा धादिङ कृषि, पर्यटन तथा औद्योगिक मेला ०६८ को मुख्य आर्कषणराफ्टिङ भएको छ । त्यस्तै मेलाको अर्को आकर्षण माउन्टेनफ्लाइटबाट जिल्लाको प्रमुख पर्यटकीय स्थल अवलोकन रहेको छ ।
जसका लागि पाङसङ र तिङला मार्ग छनोट गरिएको आयोजक धादिङ उद्योग वाणिज्य सङ्घले जनाएको छ । यसमा १० देखि १२ मिनेट र १८ देखि २२ मिनेटको प्याकेज रहेको सङ्घले जनाएको छ ।
‘समृद्ध धादिङको परिकल्पना कृषि तथा पर्यटनको विकास र उद्योग स्थापना’ भन्ने मूल नाराको साथ सुरू भएको शुक्रबार तीन ठूला दलका शीर्षनेताहरूले संयुक्त रूपमा उद्घाटन गरेको सो मेला २५ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । प्रमुख अतिथि बन्न पुगेका माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र नेपाली कांगे्रसका सभापति सुशील कोइराला पनि जलयात्रामा रमाएका थिए ।
देशभर हुने जलयात्रामध्ये ७० प्रतिशत त्रिशूली नदीमा हुने गरेको छ । मेलाको अवसरमा बढीभन्दा बढीको सहभागिता जनाउने उद्देश्यले सर्वसुलव मूल्यमा जलयात्रा गर्न पाउने धादिङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रभातकिरण सुवेदीले बताए । जलयात्राका लागि एक सय ५०, दुई सय ५० र पाँच सयको प्याकेज रहेको पनि उनले बताए ।
नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकारले धादिङ जिल्ला पर्यटन मात्र नभई कृषि क्षेत्रमा पनि उत्तिकै महत्वपूर्ण रहेको बताए । त्यस्तै औद्योगिक क्षेत्रमा पनि धादिङ जिल्लामा प्रशस्त संभावना रहेकाले यस तर्फ ध्यान जानु आवश्यक रहेको उनले बताए ।
मेला एक लाखजनाले अवलोकन गर्ने र दुई करोड रपियाँको कारोबार हुने अपेक्षा आयोजकको छ । मेलामा दुई सय ३५ स्टल रहेको रहेका छन् । सो स्टलबाट १० लाख रूपियाँ सङ्कलन गरिने आयोजकले जनाएको छ । जिल्लामा उत्पादित कृषि उपज, दूधजन्य पदार्थ, जडीबुटी, पर्यटकीय सङ्घ संस्थालगायतका स्टल रहेका छन् ।

प्रतिक्रिया