सबै शीर्ष नेता वर्षौपछि एउटै पत्रकार सम्मेलनमा

काठमाडौं, २० फागुन । बुटवलमा सम्पन्न पार्टीको आठौँ महाधिवेशनको पूर्वसन्ध्यामा छुट्टाछुट्टै पत्रकार सम्मेलन गरेर अध्यक्षको प्रतिस्पर्धामा होमिएका एमालेका शीर्षनेताहरू तीन वर्षपछि शनिबार एउटै पत्रकार सम्मेलनमा पहिलोपटक सहभागी भएका छन् । आइतबार (आज) देखि हुने राष्ट्रिय प्रतिनिधि परिषद् बैठकबारे शनिबार पार्टी मुख्यालय बल्खुमा आयोजित पत्रकार सम्मेलनमा शीर्षनेताहरू सहभागी भएका हुन् ।
पार्टीको आन्तरिक एकता र सङ्गठन सुदृढीकरणको तीनमहिने जनपरिचालन अभियान सम्पन्न गरेको एमालेका शीर्षनेताहरू स्थायी समिति बैठक स्थगित गरेर पत्रकार सम्मेलनमा उत्साहपूर्वक उपस्थित भएका थिए । पत्रकार सम्मेलनमा वितरित विज्ञप्तिमा परिषद् बैठक मूल व्यवस्थापन समितिका संयोजक तथा पार्टी सचिव युवराज ज्ञवालीले हस्ताक्षर गरे पनि कार्यक्रममा अध्यक्ष खनाल, वरिष्ठ नेता माधवकुमार नेपाल, नेता केपी शर्मा ओली, उपाध्यक्ष अशोक राई र महासचिव ईश्वर पोखरेल
सहभागी थिए ।
बुटवल महाधिवेशनमा नेतृत्वका लागि भएको चुनावी प्रतिस्पर्धाका क्रममा खनाल, नेपाल र ओलीको छुट्टाछुट्टै पत्रकार भेटघाट भएको थियो । गत साउनमा पार्टीको सङ्गठन विभागले काभ्रेको धुलिखेलमा गरेको राष्ट्रिय कार्यकर्ता भेलामा पनि एकैदिन उनीहरूले छुट्टाछुट्टै पत्रकार सम्मेलन गरेका थिए । एकै कार्यक्रममा उपस्थित भए पनि छुट्टाछुट्टै पत्रकार सम्मेलन गर्दै आएका उनीहरूले शनिबार भने एकैसाथ पत्रकार सम्मेलन गरेका हुन् ।
पत्रकार सम्मेलन कक्षमा सञ्चारकर्मीहरू नेताको प्रतीक्षामा थिए । अध्यक्षको कार्यकक्षमा स्थायी समिति बैठक चलिरहेको थियो । पत्रकार सम्मेलनको समय भएपछि सम्मेलन कक्षको गेटमा नेपाल देखापरे । गेटमा एकछिन उभिएर उनले पछि आउँदै गरेका खनाललाई अघि लगाए र दुवैजना हलमा भित्रिए । खनाल, नेपाल, राई र पोखरेलले आसनग्रहण गरिसक्दा पनि ओली भने आइपुगेका थिएनन् । खनाल बीचको कुर्सीमा बसेपछि बायाँतिर नेपाल बसे, खनालसँगैको दायाँतिरको कुर्सी ओलीका लागि खाली छाड्दै त्यसपछि पोखरेल बसे । एकैछिनमा ओली आइपुगे र खनालसँगैको दायाँ कुर्सीमा बसे । ओलीले ठट्टा गर्दै भने, ‘कार्यक्रम भव्य हुने रहेछ, यस्तो ठानेको भए त कोट लगाएर आउँथें नि !’ ओलीको ठट्टापछि खनालले भने, ‘वेस्टकोटसम्म मात्रै भए पनि लगाउनुपर्ने नि !’
कार्यक्रममा खनालले संविधानसभाको चुनावमा अनियमितता भएका कारण एमाले तेस्रो पार्टी बनेको भन्दै जनमतका आधारमा एमालेलाई परिषद् बैठकले पहिलो पार्टी साबित गर्ने बताए । ‘एमाले पहिलो पार्टी हो भन्ने हामी साबित गर्दै छौँ,’ उनले भने, ‘संविधानसभाको चुनावमा अनियमितता भएकाले मात्रै एमाले तेस्रो भएको रहेछ भन्ने तपाईंहरूले पनि अनुभूत गर्न पाउनुहुनेछ ।’
एमाओवादीप्रति परस्पर विपरीत धारणा राख्दै आएका नेताले विज्ञप्तिमार्फत एउटै दृष्टिकोण प्रस्तुत गरेका छन् । ‘उग्रवामपन्थी विचारग्रस्त एकीकृत नेकपा (माओवादी) को देशको वस्तुस्थितिसँग मेल नखाने अधिनायकवादी चिन्तन, अराजक विचार र षड्यन्त्रकारी कार्यशैलीले एकातिर शान्तिप्रक्रिया अवरुद्ध भएको छ भने अर्कातिर संविधान बनाउने काम ठप्पजस्तै भएर रोकिएको छ,’ विज्ञप्तिमा
उल्लेख छ ।
माओवादीप्रति नरम मानिएका खनाल र आलोचक मानिएका नेपाल महाधिवेशनपछि प्रधानमन्त्रीसमेत बनेका थिए । खनाल माओवादी र नेपाल कांग्रेसको समर्थनमा प्रधानमन्त्री बनेका थिए । एमाले नेतृत्वका दुवै सरकार असफल भएपछि नेताहरू पार्टीलाई एकताबद्ध गर्ने अभियानमा लागेका हुन् । सङ्गठन सुदृढीकरण अभियानसँगै आइतबारदेखि तीन दिनसम्म महाधिवेशनपछिको शक्तिशाली निकाय परिषद्को बैठक राखिएको हो ।
बुटवल महाधिवेशनमा खनाल र ओलीले अध्यक्षमा प्रतिस्पर्धा गरेका थिए । केन्द्रीय नेतृत्वका सबै पदमा प्यानलगत प्रतिस्पर्धा भएपछि त्यसको असरले जिल्ला र स्थानीय तहसम्मै समानान्तर सङ्गठन चलेका थिए । पार्टीको आन्तरिक एकता मजबुत बनाउन दुवै नेता सहमत भएपछि गत पुसमा पार्टीको आन्तरिक एकतासम्बन्धी प्रस्ताव पारित भएको थियो ।
खुलामञ्चमा आइतबार हुने परिषद् बैठक उद्घाटनअघि एमालेले राजधानीका विभिन्न भागमा जनप्रदर्शन गर्ने कार्यक्रम रहेको जनाएको छ । उद्घाटनमा शीर्ष तीन नेतासहित उपाध्यक्षहरू वामदेव गौतम, अशोक राई, विद्या भण्डारी तथा महासचिव पोखरेलले सम्बोधन गर्ने र बैठकमा नौ सयभन्दा बढी प्रतिनिधि सहभागी हुने विज्ञप्तिमा उल्लेख छ । बैठकमा अध्यक्षको राजनीतिक प्रतिवेदन, महासचिवको साङ्गठनिक प्रतिवेदन, अनुशासन आयोग, लेखा आयोग र सल्लाहकार परिषद्को प्रतिवेदन पनि प्रस्तुत हुने बताइएको छ । बैठकले शान्तिप्रक्रिया र संविधान निर्माणका पक्षमा जनमत निर्माण गर्ने अध्यक्ष खनालले बताए ।

सरकारसँग सुरक्षा माग

आइतबार हुने एमालेको जनप्रदर्शनलाई लक्षित गरी माओवादीका पूर्वलडाकुले विभिन्न ठाउँमा अवरोध गरेको अध्यक्ष खनालले बताए । एमालेको सभा र परिषद् बैठकको सम्पूर्ण सुरक्षा गर्न उनले सरकारसँग मागसमेत गरेको जानकारी दिए । प्रधानमन्त्री डा. बाबुराम भट्टराई, माओवादी अध्यक्ष पुष्पकमल दाहाल र शनिबार भएको तीन दल बैठकमा समेत परिषद् बैठकका लागि भएको अवरोधप्रति ध्यानाकर्षण गराइएको खनालले बताए ।
‘चितवन, मकवानपुर, धादिङलगायतका ठाउँमा बन्दको हल्ला चलाउने र यातायात व्यवसायीलाई अयोग्य लडाकुले रोक्ने काम गरेका छन् । हामीले प्रधानमन्त्री र माओवादी अध्यक्षलाई यसको जानकारी गराएका छौं,’ उनले भने, ‘प्रजातान्त्रिक आग्रहलाई अस्वीकार गरे परिणाम राम्रो हुँदैन ।’

प्रतिक्रिया