हवाइ सुन्दरीको लक्ष्य

अनुषा भण्डारीले मिस एयरहोस्टेज २०११ को शीर्ष उपाधि जितेकी मात्र के थिइन्, नाम र काम दुवै उनका पछि लागेर आए । एयरहोस्टेजबीच उनको परिचय विशेष अनि पृथक् त भयो नै, अग्नि एयरमा जागिरे पनि भइन् । तर, उनी यति उपलब्धिमै चित्त बुझाएर बस्ने मुडमा छैनन् । मिस नेपाल प्रतियोगितामा सहभागी भएर शीर्ष उपाधि हासिल गर्ने लक्ष्य पालेकी छन् ।
म्याग्दी, बेनीकी अनुषाले १० कक्षामा पढ्दा साथीभाइको प्रेरणाले मोडलिङ क्षेत्रमा लाग्ने सोच बनाएकी थिइन् । उनले भनिन्, ‘मलाई गुरुहरूले पनि यसतर्फ प्रेरित गर्नुभएको हो ।’ पाँच फिट चार इन्च उचाइकी यी हवाइ सुन्दरी यस क्षेत्रमा दत्तचित्त भएर लागिपरेको भने १२ पास गरेपछि मात्र हो ।

मोडलिङमा आउनेहरू प्रायः चलचित्रमा जान चाहन्छन् । चर्चाका हिसाबले भने चलचित्रजति हुँदैन एयर होस्टेज । तर, उनलाई चाहिँ चलचित्रतिर उति रुचि छैन रे ! भन्छिन्, ‘चलचित्र भनेको ड्रामाको क्षेत्र हो, जुन मलाई आउँदैन र त्यति रुचि पनि छैन ।’

हल्का खालका पहिरनलाई रोजाइ बनाउने अनुषाले मिस एयरहोस्टेज भएपछि म्युजिक भिडियो र चलचित्रबाट प्रशस्त अफर आए पनि त्यतातिर ध्यान नदिएको उल्लेख गरिन् । फुर्सदका समयमा सङ्गीत सुन्न मन पराउने उनले आफू प्रायः सबै  किसिमका गीतमा ‘इन्जोय’ गर्न सक्ने सुनाइन् । हवाइ उडानमा जोखिम पनि उत्तिकै हुन्छ ।

तर, उनलाई चाहिँ त्यसमा डरभन्दा बढी रमाइलो लाग्ने गरेको अनुभूति छ । मोडलिङमा गहिरो सोख छ उनको । एयरहोस्टेज र योमध्ये एउटा रोज्नुपरेचाहिँ के गर्लिन् त अनुषा ? भनिन्– ‘एयरहोस्टेज । किनकि, यो मेरो जीवनकै लक्ष्य हो ।’

प्रतिक्रिया