‘लुकिङ ग्लास’ कि खरायोको कान !

काठमाडौँ, १९ फागुन । दुई सय २० सिसीको पल्सर मोटरसाइकलमा तपाईंको नजर पुगेको छ ? यो मोटरसाइकलको ‘लुकिङ ग्लास’ हेर्दा खरायोको कानजस्तो लाग्छ । प्रहरीका अगाडि यस्ता मोटरसाइकल परे भने सवारी चालकले कारबाही भोग्नुपर्छ, तापनि केटाहरू कारबाहीको जोखिम मोलिरहेका छन् ।

लुकिङ ग्लास जसले आफूभन्दा पछाडिका सवारीसाधन वा मानिसको आवागमनको जानकारी दिन्छ । मोटरसाइकल चालकले त्यही सिसामा हेरेर पछाडिबाट आउँदै गरेका सवारी साधनलाई ‘साइड’ दिने गर्छ । तर, त्यसरी पल्सरमा हुँइँकिनेले आफूभन्दा पछाडिका सवारी साधनलाई कसरी देख्छन् र साइड दिन्छन् ? त्यसबाट दुर्घटनाको जोखिम बढ्ने भएकाले यस्ता गतिविधिमा संलग्न व्यक्ति कारबाहीको भागिदार बन्छन् ।

ट्राफिक प्रहरीका एक अधिकारीका अनुसार आफूप्रति अन्य मानिसलाई आकर्षित गर्न केटाहरू यस्तो ‘स्टाइल’ अपनाउँछन् । ती अधिकारीको बुझाइमा खासगरी केटीहरूलाई आकर्षित गर्न केटाहरू बाइकलाई ‘मोडिफाइ’ (रूप परिवर्तन) गरी चलाउँछन् । उनले भने, ‘मोटरसाइकलको रूप परिवर्तन गरेको पाइए एक हजार पाँच सय रुपियाँ जरिवाना हुन्छ । तर, केटाहरू प्रहरीले गर्ने त्यो जरिवानाको वास्तै गर्दैनन् ।’

महानगरीय ट्राफिक कार्यालयका प्रहरी निरीक्षक रविन श्रेष्ठ अहिलेका युवाहरूमा स्टाइल देखाउने प्रवृत्ति बढ्दै गएकाले उनीहरूमा ‘स्टाइलिस’ बन्ने चाहनाले डेरा जमाएको बताउँछन् ।

राजधानीका चोक–चोकमा खटिएका ट्राफिक प्रहरीले ‘लुकिङ ग्लास’लाई खरायोको कानजस्तो बटारेर मोटरसाइकल हुइँक्याउँदै आएका केटाहरूलाई पटक–पटक देखेका छन् । मोटरसाइकलको गति यति तीव्र हुन्छ कि प्रहरी हेरेको–हे¥यै हुन्छन् । तब केटाहरूबीच मोटरसाइकलको रूप परिवर्तन गरेको विषयमा भेट्नेबित्तिकै ‘वार्ता’ हुन्छ । ‘आज माइतघरमा मज्जाले बाइक दौडाइयो, पुलिसले हेर्दैथ्यो कुलेलम ठोकियो,’ विशालनगरका सरोज रायमाझीले पुतलीसडकस्थित शंकरदेव क्याम्पस अगाडि साथीसँग गफिँदै भने ।

उनीहरू सानातिना ठाउँबाट पनि मोटरसाइकल फुत्त छिराउन सजिलो होस् भनेर यसो गर्छन् । कुरेर बस्ने स्वभाव हुँदैन । ट्राफिक प्रहरी अधिकृतहरूका अनुसार उनीहरू सडकमा तीव्र गतिमा हुन्छन् र गाडीहरूको बीचबाट पनि मोटरसाइकल गुडाइरहेका हुन्छन् । त्यस्तो बेला ‘लुकिङ ग्लास’ र ‘हेन्डिल’ले समस्या नबनाओस् भन्नाका लागि उनीहरू छोटा ‘हेन्डिल’को प्रयोग गर्छन् । र, लुकिङ ग्लासलाई बटारेर भित्रपट्टि पार्छन् ।

रायमाझीका अनुसार यसो गर्दा अरूभन्दा फरक देखिइन्छ भन्ने लाग्छ । केटाहरू अरूको नजरमा फरक देखिन सबै कुराको रूप परिवर्तन गरी प्रयोग गर्छन् । अझ उनीहरूले दैनिक प्रयोग गर्ने साधनहरू बजारमा पाइनेभन्दा फरक बनाउँछन् । मोटरसाइकलको सकर उचाल्छन्, हेन्डिल फेर्छन् अनि मोटरसाइकलमा भएको ‘लुकिङ ग्लास’लाई आफूअनुकूल बनाउँछन् । उसो त आफूले लगाउने सद्दे पाइन्टलाई काट्छन्, प्वालसमेत पार्छन् ।

महानगरीय ट्राफिक प्रहरी प्रमुख डिआइजी गणेशराज राई त्यसरी रूप परिवर्तन गरी बाइक चलाउनेमाथि कारबाही हुने बताउँछन् । ‘हामीले दैनिकजसो त्यसरी बाइकको स्वरूप परिवर्तन गर्नेमाथि कारबाही गरेका छौँ,’ डिआइजी राईले भने ।

प्रतिक्रिया