फाराम भर्ने भिडले सडक जाम

काठमाडौँ, १९ फागुन । गैरकानुनीरूपमा भर्ना प्रक्रिया थालेका केही निजी विद्यालय–अगाडिका सडक जाम हुने गरेका छन् । सेन्ट जेभियर्स, सेन्ट मेरिजलगायतका विद्यालयमा भर्ना फाराम बुझाउन भिड लाग्नाले सडक जाम भएको हो ।

ललितपुरको जावलाखेलस्थित सेन्ट जेभियर्स स्कुलमा शुक्रबार भर्ना फाराम भर्न अभिभावकको भिड सडकसम्मै पुगेपछि पुल्चोकदेखि जावलाखेलसम्म ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको थियो । सेन्ट जेभियर्सले भर्ना थालेपछि बिहान नौ बजेदेखि मध्याह्नसम्म सडकमा सवारी गुड्न समस्या आएको ट्राफिक प्रहरीले जनाएको छ । महानगरीय प्रहरी परिसर ललितपुरका एसपी भोगबहादुर थापाले पनि फाराम भर्ने लाइन सडकसम्म आएको बताए । उनले भने, ‘फाराम भर्न भिड नै लागेको थियो, तर लाठीचार्ज गर्नुपर्ने स्थिति आएन ।’

शिक्षा विभागले गैरकानुनी भर्ना रोक्न निर्देशन दिइसकेको भए पनि ती विद्यालयले निर्देशन पालना गरेका छैनन् । निजी विद्यालयले नियमविपरीत भर्ना प्रक्रिया थालेको समाचार प्रकाशित भएपछि विभागले १५ फागुनमा शैक्षिक सत्रअघि भर्ना प्रक्रिया नथाल्न निर्देशन दिएको थियो । विभागले ७५ वटै जिल्ला शिक्षा कार्यालयमार्फत गरेको परिपत्रले निजी विद्यालयलाई छोएको छैन । जिल्ला शिक्षा अधिकारी भने ती विद्यालयलाई कारबाही गर्नाको साटो बचाउमा लागेको पाइएको छ ।

शिक्षा नियमावलीमा वैशाख–अघि भर्ना प्रक्रिया थाल्न नपाउने स्पष्ट व्यवस्था छ । तर, फागुनमै भर्ना प्रक्रिया थालेर त्यस्ता विद्यालयअगाडिका सडकसमेत अवरुद्ध भए पनि सरकारी निकायले कारबाहीका लागि अग्रसरता देखाउन सकेको छैन ।

विभागका उपनिर्देशक शिवकुमार सापकोटाले नियम–विपरीत विद्यार्थी भर्ना गर्ने विद्यालयलाई कानुनअनुसार हदैसम्मको कारबाही गर्ने दाबी गरे । ‘गैरकानुनी भर्ना रोक्न ७५ वटै जिल्ला शिक्षा कार्यालयमार्फत परिपत्र गरेका छौँ,’ उपनिर्देशक सापकोटाले भने, ‘अटेर गर्ने विद्यालयलाई कारबाही गर्र्छौँ ।’

नियमविपरीत काम गर्नेलाई २५ हजार रुपियाँ जरिवानादेखि दर्ता खारेजसम्मको कारबाही हुन सक्ने प्रावधान छ । तर, ललितपुरका जिशिअ भने उल्टै ‘ठूला’ निजी विद्यालयको बचाउमा लागेका छन् । सेन्ट जेभियर्सको भर्ना प्रक्रियाले सडक अवरुद्ध भएको विषयमा जिशिअ मनकाजी श्रेष्ठले बचाउ गरे । उनले भने, ‘सेन्ट जेभियर्सले प्रचारप्रसार गरेको हो, पैसा लिएर भर्ना गरेको छैन ।’

अभिभावक सङ्घ नेपालका अध्यक्ष सुप्रभात भण्डारीले ‘साना विद्यालयलाई ऐन र ठूलालाई चैन’ रहेको बताए । भण्डारीले भने, ‘कि त भर्ना सबैका लागि खुला गर्नुप¥यो, होइन भने कानुनविपरीत चल्ने सबैलाई कारबाही गर्नुपर्छ ।’

शिक्षा मन्त्रालयअन्तर्गत गुठीबाट सञ्चालित बुढानीलकण्ठ स्कुलले पनि भर्ना प्रक्रिया थालिसकेको छ । स्कुल व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका शिक्षासचिव किशोर थापाले विद्यालयलाई यसबारे स्पष्टीकरण सोधिएको बताए ।

प्रतिक्रिया