‘हत्या गर्दा आनन्द आउँछ’

काठमाडौँ, १९ फागुन । ‘चिरपटले टाउकामा प्रहार गरेपछि जब कोही ढल्छ, मलाई औधि आनन्द आउँछ । चोटले रन्थनिएर भुइँमा छट्पटाएको देख्दा त झन् खुसीले पागल नै हुन्छु ।’

म्याग्दीको रुम गाविस वडा नम्बर ३ का महेन्द्र पुनमगरले प्रहरीलाई निर्धक्क भएर दिएको बयान हो यो । उमेरले २० वर्ष मात्रै टेकेका उनले अहिलेसम्म तीन जनाको ज्यान लिइसकेका छन् । उनले सबै हत्यामा प्रयोग गरेको हतियार हो दाउराको चिरपट । उनी पहिलो निशाना टाउकालाई बनाउँछन् र पछि ढाडमा प्रहार गर्छन् ।

तेस्रो पटकको हत्यापछि प्रहरी हिरासतमा पुगेका उनले आफ्नो बयानमा भनेका छन्, ‘चोटका कारण घाइते जब भुईमा छट्पटाउँछ र घिटिघिटी हुन्छ, त्यतिबेला मलाई साह्रै मज्जा आउँछ ।’
मगरले आफ्नै गृहजिल्लाबाट हत्याको खाता खोलेका हुन् । कात्तिक २०६६ मा रुम गाविसका मोहनबहादुर विकको उनले हत्या गरेका थिए । दाउराको चिरपटले टाउकामा प्रहार गरेपछि मोहनबहादुर भुइँमा ढलेका थिए । सामान्य विवादमै मगरले विकको हत्या गरेका हुन् । हत्यालगत्तै फरार बनेका उनी केही समय लुकेर बसे ।

पछि नुवाकोटमा उनको भेट रुम गाविसकै भीमसरा घर्तीसँग भयो । घर्तीले नुवाकोट ओखरपौवा वडानम्बर ३ की भावी थापासँग मितिनी लाएकी थिइन् । भावीका श्रीमान्ले ओखरपौवाकै कान्छीमाया रुम्बालाई कान्छी बनाएर घरमा भित्र्याएका थिए । भावीले आफ्नो पीडा मितिनीसँग सुनाइन् । निक्कै दिनको छलफलपछि दुई मितिनीहरू कान्छीमायाको हत्या गर्ने निधोमा पुगे । हत्या गराउन उचित पात्रको खोजीमा थिइन्, भीमसरा । त्यसका लागि उनले महेन्द्रलाई चुने ।

भीमसराले उनलाई हत्या गरेबापत ६० हजार रुपियाँ दिने ‘डिल’ गरिन् । उनले पहिलेको ‘केस’ मिलाइदिने आश्वासनसमेत दिइन् । भीमसरा र महेन्द्र दुवै वाइसिएलका कार्यकर्ता रहेको प्रहरी स्रोतको दाबी छ । प्रस्तावलाई महेन्द्रले तुरुन्तै स्वीकारे । अनि चिरपट समातेर कान्छीमायालाई दोबाटामा ढुक्न थाले । गत १९ पुसमा कान्छीमायालाई फेला पार्नेबित्तिकै उनले दाउराको चिरपटले टाउकामा हाने । कान्छीमाया भुइँमा पछारिइन् । महेन्द्रले नजिकैबाट उनलाई हेरिरहे । दुखाइले चिच्याइरहँदा फेरि चिरपटले ढाडमा प्रहार गरे । पागलजस्तै बनेका उनले निरन्तर हिर्काए र अन्ततः कान्छीमायाको प्राण गयो ।

नुवाकोटकै ४८ वर्षीय राजन भनिने बोधप्रसाद ढुङ्गानाले सो घटना प्रत्यक्ष देखिरहेका थिए । आफ्नो कर्तुत ढुङ्गानाले देखेको थाहा पाउनासाथ महेन्द्र उनैमाथि आइलागे । तत्कालै त्यही चिरपटले ढुङ्गानामाथि आक्रमण गरी उनको पनि वभत्स हत्या गरे ।

त्यसको भोलिपल्टै नुवाकोटबाट भागेर उनी काठमाडौँ आए । ‘सिरियल किलर’को पहिचान बनाइसकेका उनलाई अन्ततः गत ८ माघमा प्रहरीले पक्राउ ग¥यो । अनुसन्धान सिलसिलामा प्रहरीले उनलाई सोधेको थियो, ‘तिम्रो त घरमा श्रीमती पनि छिन् क्यारे, अब तिमी जेल परेपछि श्रीमती पोइला जालिन् त के गर्छौं ?’

अपराध अनुसन्धान महाशाखाका प्रहरी निरीक्षक भीष्म प्रसार्इंका अनुसार महेन्द्रले जवाफ दिएका थिए, ‘मेरी स्वास्नी भगाउनेलाई पनि मार्छु,, स्वास्नीलाई पनि मार्छु ।’ अहिले उनी नुवाकोट प्रहरीको हिरासतमा छन् ।

प्रतिक्रिया