झोलामा खोला राख्ने निरुत्साहितः उर्जामन्त्री बोगटी

काठमाडौ, १९ फागुन । उर्जामन्त्री पोष्टबहादुर बोगटीले जलविद्युतको अनुमति लिएर खोलानाला ओगट्नेलाई निरुत्साहित र काम गर्ने कम्पनीलाई प्रोत्साहित गरिने बताएका छन् ।
मुस्ताङको टुकुचे गाविसमा थापाखोला हाइड्रोपावरको शुक्रबार शिलान्याश गरेपछिको कार्यक्रममा बोल्दै उनले सरकारले काम गर्ने कम्पनीहरुलाई प्रोत्साहन र झोलामा खोला राख्नेलाई निरुत्साहित गर्ने नीति अबलम्बन गर्न लागेको जानकारी दिएका हुन् । ‘पहिले झोलामा खोला राख्ने प्रवृत्ति हावी थियो, अब अनुमतिपत्र लिएर काम गर्ने कम्पनीलाई केही सहुलीयत समेत दिन लागेका छौ ।’ उनले भने ।
जलविद्युत परियोजना सञ्चालन गर्ने, विद्युत उत्पादन गर्ने र प्रशारण गर्ने काममा अहिलेसम्म विभिन्न खालका अवरोधहरु हुने गरेको स्मरण गर्दै मन्त्री बोगटीले यी सबै कुराहरुलाई व्यवस्थित गर्नेतर्फ सरकारको ध्यान केन्द्रित रहेको बताए ।

शिलान्यास बोगटी लगायत नेपाली कांग्रेसका नेता तथा पूर्व अर्थमन्त्री डा. रामशरण महत, नेकपा एमालेका नेता तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे र राष्ट्रिय जनशक्ति पार्टीका सहअध्यक्ष तथा पूर्व अथमन्त्री डा. प्रकाशचन्द्र लोहनीले संयुक्त रुपमा गरेका थिए । उनीहरुले जलविद्युत क्षेत्रको विकास र विस्तारका लागि सबै सक्रिय हुनुपर्ने बताए ।
माउण्ट कैलाश हाइड्रो पावर लिमीटेडले निर्माण गर्न लागेको उक्त आयोजना ११.२ मेगावाट क्षमता छ । २ वर्षमा सम्पन्न हुने लक्ष्य राखिएको आयोजनाको लागि करिब डेड अर्ब खर्च लाग्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया