इलामको बजेट तीन अर्ब

इलाम, १९ फागुन । जिल्ला विकास समिति इलामले आर्थिक वर्ष २०६९, ७० का लागि करिब तीन अर्ब बजेट पारित गरेको छ । जिल्ला विकास समिति, विषयगत कार्यालयहरु र जिल्लामा कार्यारत गैर सरकारी तथा नीजि कार्यालयहरु समेत गरी दुई अर्ब ७१ करोड ८६ लाख ७० हजार रुपियाको बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको गरिएको हो ।
स्थानीय विकास अधिकारी सुमन घिमिरेले जिविसको १८ औ परिषदबाट पारित गरेको बजेट, नीति तथा कार्यक्रम शुक्रबार आयोजित कार्यक्रबीच सार्वजनिक गरेका हुन् । कुल बजेटमध्ये कार्यक्रमतर्फ दुई अर्ब ५९ करोड ७८ लाख २३ हजार र प्रशासनिक तर्फ १२ करोड आठ लाख ४७ हजार रुपिया रकम प्रस्तुत गरिएको छ ।
यो अघिल्लो वर्षको तुलनामा ३४ दशमलव २६ प्रतिशतले वा ६९ करोड ३७ लाख १७ हजार दुई सय ३० रुपिया बढी हो । अघिल्लो वर्ष दुई अर्ब दुई करोड ४८ लाख ६० हजार पाँच सय ६६ रुपियाको बजेट प्रस्तुत गरिएको थियो ।
अघिल्लो आर्थिक वर्ष जिविसको न्युनतम शर्त तथा कार्यसम्पादन मापन परीक्षणमा ७७ अंक प्राप्त भई ५० करोड ६२ लाख १५ हजार चार सय ४१ रुपिया पुँजीगत अनुदान प्राप्त भएको थियो ।
आव २०६८, ६९ को प्रस्तावित कार्यक्रममा जिविसका लागि ३६ करोड ७६ लाख ३४ हजार रुपिया, विषयगत कार्यालय तर्फ दुई अर्ब १३ करोड ६० लाख ७० हजार दुई सय ५६ रुपिया विनियोजन भएको छ । त्यस्तै गैर सरकारी तथा नीजि क्षेत्रतर्फ २१ करोड ४९ लाख ६६ हजार पाँच सय ४५ रुपिया विनियोजन भएको छ ।
क्षेत्रगत रुपमा कृषिका लागि कुल बजेट मध्ये ३८ करोड १८ लाख ८३ हजार रुपिया, पूर्वाधार विकास तर्फ एक अर्ब नौ करोड ४२ लाख ८५ हजार रुपिया र स्वास्थ्य तथा सामाजिक क्षेत्रतर्फ एक अर्ब १७ करोड ६१ लाख ३३ हजार रुपिया विनियोजन भएको छ । यस्तै उद्योग, वन तथा वातावरणका क्षेत्रमा छ करोड ६३ लाख ६८ हजार रुपिया छ ।
स्थानीय विकास अधिकारी घिमिरेले सबैभन्दा बढी स्वास्थ्य तथा सामाजिक क्षेत्रतर्फ ४३ दशमलव २६ प्रतिशत, पूर्वाधार विकास क्षेत्रमा ४० दशमलव २६ प्रतिशत, कृषि क्षेत्रमा १४ दशमलव ०५ प्रतिशत र उद्योग वन तथा वातावरणको क्षेत्रमा दुई दशमलव ४४ प्रतिशत बजेट विनियोजन भएको बताए ।
जिविसले आम्दानीमा आन्तरीक र बाह्य श्रोत गरी ३६ करोड ७६ लाख ३४ हजार रुपिया प्राप्त हुने अनुमान गरेको छ । सोमध्ये आन्तरीक श्रोततर्फ एक करोड ९० लाख, राजस्व बाँडफाँडबाट ८० लाख, कार्यक्रमगत रुपमा केन्द्रबाट ३३ करोड ७३ लाख ३४ हजार र अन्य निकायबाट ३३ लाख प्राप्त गर्ने अनुमान छ ।

प्रतिक्रिया