माओवादीको अधिनायकवाद बाधकः उपाध्यक्ष राई

काठमाडौं, १९ फागुन । एमाले उपाध्यक्ष अशोक राईले एकीकृत माओवादीको अधिनायकवादका कारण शान्ति प्रक्रिया र संविधान लेखनको काममा बाधा पुगेको आरोप लगाएका छन् ।
राष्ट्रिय प्रतिनिधि परिषद बैठकको प्रचार प्रसारका क्रममा एमालेले काठमाडौंमा आज  आयोजना गरेको मोटरसाईकल र्याली उद्घाटनमा उपाध्यक्ष राईले माओवादीकै कारण शान्ति प्रक्रिया अघि बढ्न नसकेको बताए । उनले शान्ति प्रक्रिया अघि नबढेपछि संविधान लेखनको बिषय पनि अगाडि बढ्न नसक्ने बताएका छन् । उपाध्यक्ष राईले भने, ‘शान्ति प्रक्रिया र संविधान निर्माणको कामसँग सँगै अगाडि बढ्नु पर्छ ।’
कांग्रेस परम्परावादी र माओवादीको अधिनायकवाद अन्त्य गर्नकै लागि एमालेले राष्ट्रिय प्रतिनिधि परिषद बैठक गर्न लागेको राईले दाबी थियो । उनले एमालेले राजनीतिक सन्तुलन कायम गर्ने बताएका छन् ।
काठमाडौंको खुल्लामञ्चबाट सुरु भएको एमालेको मोटरसाईकल र्यालीले काठमाडौंका साथै भक्तपुर र ललितपुरका बिभिन्न स्थानको  परिक्रमा गर्ने छ । एमालेको राष्ट्रिय प्रतिनिधि परिषद बैठक फागुन २१ गते काठमाडौंमा सुरु हुँदैछ । बैठकको तयारीका लागि एमालेले बिभिन्न प्रचार प्रसारका कार्यक्रम गर्दै आएको छ ।

प्रतिक्रिया