कान्छीमाया र चन्द्रकला पदकविहीन

धनगढी, १८ फागुन । छैटौं राष्ट्रिय खेलकुदअन्तर्गत एथलेटिक्समा  परिचित ओलम्पियन कान्छीमाया कोजू र चन्द्रकला थापा पदकविहीन भएका छन् । बिहीबार पाँच हजार मिटर दौडमा चोटका बाबजुद कुदेकी कोजूले दुई हजार आठ सय मिटरसम्म अग्रता लिएकी थिइन् । त्यसपछि उनले रेस त्यागिन् । उनले एक दिनअघि नै रहरका लागि मात्र ट्र्याकमा फन्को लगाउने योजना बनाएकी थिइन् । यसअघि उनले आफ्ना दुई स्पर्धा एक हजार पाँच सय मिटर र १० हजार मिटरका दौड त्यागिसकेकी थिइन् ।
उता, स्प्रिन्टका स्टारद्वय तिलकराम थारू र प्रमिला रिजाल चौधरीले यस राष्ट्रिय खेलकुदमा चौथो स्वर्णपदक जितेका छन् । उक्त  सफलतासँगै प्रमिलाको राष्ट्रिय खेलकुदमा स्वर्णपदकको सङ्ख्या सात पुगेको छ । पाँचांै राष्ट्रिय खेलकुद तथा छैटांै एथलेटिक्स च्याम्पियनसिपमा उनले तीन स्वर्ण जितेकी थिइन् । बिहीबार दुई सय मिटरको पुरुष स्पर्धामा पुलिसका तिलकराम तथा महिला स्पर्धामा एपिएफकी प्रमिलाले स्वर्ण जितेका हुन् ।
प्रमिलासहितको एपिएफले चारगुणा चार सयको रिले तथा तिलकरामसहितको पुलिसले त्यसैको पुरुषतर्फको स्वर्णपदक जित्यो । १८ महिनाअघि नेपाल पुलिस क्लबमा आबद्ध नवलपरासीका तिलक पछिल्लो आठ महिनादेखि उच्च लयमा रहँदै आएका छन् ।
ट्र्याकमा सफल खेलाडी भने मध्यपश्चिमकी विश्वरूपा बुढा पनि भइनन् । पछिल्लो राष्ट्रिय च्याम्पियनसिपमा तीन रजतपदक विजेता जुम्लाकी बुढाले १० हजार र पाँच हजार मिटर दुवै स्पर्धामा स्वर्ण जित्न सफल भइन् । विश्वरूपाले पाँच हजार मिटरको उपाधि जित्ने क्रममा निर्धारित दूरी १८ मिनेट २०.०६ सेकेन्डमा पूरा गरिन् । दोस्रो स्थानमा रहेकी एपिएफकी गीता खत्रीले १९ मिनेट ०३.०८ सेकेन्डमा रेस पूरा गरिन् । मध्यपश्चिमकी पुष्पा भण्डारीले २० मिनेट ०३.९ सेकेन्डमा तेस्रो स्थान हात पारिन् ।
दुई सय मिटरको उपाधि जित्ने क्रममा प्रमिलाले २६.९ सेकेन्डमा रेस पूरा गरिन् । पुलिसकी सावित्री नेपालीले २७.५ तथा एपिएफकी सविता चौधरीले २८.५ मा दूरी तय गर्दै तेस्रो, दोस्रो र तेस्रो स्थान पाए । पुरुषमा तिलकले २२.३ सेकेन्डमा सो रेस पूरा गरे । पश्चिमका विमल बस्नेतले २३.४ तथा मध्यमाञ्चलका रोसन पाण्डेले २३.६ सेकेन्डमा दूरी तय गर्दै पदक तालिकामा आफ्नो नाम लेखाए । जितपछि तिलकले प्रतिद्वन्द्वी सशक्त नभएका कारण सहज जित हात परेको बताए ।
महिला लंगजम्पमा भने केशरी चौधरीको लामो समयको राज समाप्त भयो । इन्जुरीका बाबजुद राष्ट्रिय खेलकुदमा सहभागी केशरीले ४.७७ मिटर नाघे पनि पश्चिमकी कृष्ण चौधरीले ४.८५ मिटर नाघेर स्वर्ण जितिन् । ३५ औं राष्ट्रिय च्याम्पियनसिपदेखि लंगजम्पको च्याम्पियन रहँदै आएकी केशरीको राज पाँच वर्षपछि सकिएको हो । मध्यमाञ्चलकी मीरा खड्काले ४.७६ मिटर दूरीका साथ तेस्रो भइन् ।
पुरुष लंगजम्पमा मध्यपश्चिमका याम साजन सुनुवारले ६.५५ मिटरका साथ स्वर्णपदक जिते । पुलिसका विद्याधर चौधरीले ६.४४ मिटरका साथ दोस्रो तथा पूर्वाञ्चलका देवेन्द्र चौधरीले ६.२४ मिटरका साथ तेस्रो भए । महिलाको चारगुणा सय मिटर रिलेको स्वर्णपदक जित्ने क्रममा एपिएफले ४ मिनेट १८.८ सेकेन्ड समयमा दूरी पार ग¥यो ।

प्रतिक्रिया