भारु माग साढे चार गुणा बढी

काठमाडौँ, १८ फागुन । नेपालले अमेरिकी डलर बेचेर भारतीय रुपियाँ किन्ने दर विगत  ६ वर्षमा साढे चार गुणाले बढेको छ । भारतसँग नेपालको बढ्दो व्यापार घाटा, दुई देशबीच खुला सिमानाका कारण भारतीय रुपियाँको माग निरन्तर बढ्दै गएको हो ।
विशेषगरी नेपाली स्वास्थ्योपचारका लागि भारतीय अस्पतालमा जाने क्रम बढ्दै जानु, भारतका विभिन्न सहरको भ्रमणमा जाने नेपालीको सङ्ख्या बढ्नु तथा सीमावर्ती क्षेत्रका नेपाली नजिकको भारतीय बजारमा सामान किनबेच गर्ने क्रम बढ्नुले भारतीय रुपियाँको माग बढेको हो ।
आर्थिक वर्ष ०६२ ०६३ मा नेपालले ६० करोड रुपियाँ अमेरिकी डलर बेचेर २६ अर्ब ८४ करोड ८६ लाख भारतीय रुपियाँ खरिद गरेको थियो । गत आर्थिक वर्ष ०६७ ०६८ मा नेपालले २ अर्ब ७४ करोड रुपियाँ अमेरिकी डलर बेचेर एक सय २३ अर्ब ८४ करोड ५० लाख भारतीय रुपियाँ खरिद गरेको थियो ।  राष्ट्र बैंकको तथ्याङ्कले भारतीय रुपियाँको माग निरन्तर बढ्दै गएको देखाएको छ ।
नेपालले आव ०६३ ०६४ मा ९३ करोड अमेरिकी डलर बेचेर ४० अर्ब ३२ करोड भारु, आव ०६४ ०६५ मा एक सय ७३ करोड अमेरिकी डलर बेचेर ७० अर्ब ६० करोड भारु, ०६५ ०६६  एक सय ५२ करोड अमेरिकी डलर बेचेर ७३ अर्ब ४० करोड भारु, आव ०६६ ०६७ मा दुई सय १९ करोड अमेरिकी डलर बेचेर एक सय दुई अर्ब नौ करोड ३२ लाख भारु खरिद गरेका छन् । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा नै नेपालले एक सय ४२ करोड अमेरिकी डलर बेचेर ६९ अर्ब १३ करोड ७४ लाख भारतीय रुपियाँ खरिद गरिसकेको छ ।
बढ्दो भारु खरिदले नेपालको भारत निर्भरता बढ्दै गएको देखाएको छ । नेपाली रुपियाँको अमेरिकी डलरसँग भएको अवमूल्यनसँगै नेपालमा तेस्रो मुलुकबाट आयात गरिने सामानभन्दा भारतबाट आयात गरिने सामान तुलनात्मक रूपमा सस्तो पर्ने हुँदा पनि भारतसँग व्यापार निर्भरता बढ्दै गएको हो । नेपालको कुल व्यापारको ६५ प्रतिशत हिस्सा भारतसँग हुने गरेको छ । ३५ प्रतिशत हिस्सा मात्र तेस्रो मुलुकसँग हुने गरेको छ ।
नेपालले अमेरिकी डलर तिरेर केही सामग्री आयात गर्ने गरे पनि पेट्रोलियम, सवारीसाधन र यसका पाटपुर्जालगायत धेरै सामान भारतीय रुपियाँ नै तिरेर आयात गर्ने गरिन्छ । चालु आवको पहिलो ६ महिनामा भारततर्फको निर्यात व्यापार १३ दशमलव नौ प्रतिशतले बढेर २४ अर्ब ६ करोड रुपियाँ पुगेको छ भने भारतबाट नेपालको आयात १० दशमलव एक प्रतिशतले बढेर एक सय ३९ अर्ब १३ करोड ८५ लाख रुपियाँ पुगेको छ । चालु आवको पहिलो ६ महिनामा भारतसँग मात्र नेपालको व्यापार घाटा एक सय १५ अर्ब सात करोड ७८ लाख रुपियाँ पुगेको छ ।

प्रतिक्रिया