सिरियाका मानवताविरोधीलाई कारबाही गरिने

जेनेभा, १८ फागुन । सिरियामा मानवताविरोधी अपराधमा संलग्न सैनिक तथा राजनीतिक अधिकारीहरूलाई राष्ट्रसङ्घीय मानवअधिकार उच्चायुक्तको कार्यालयले कारबाही गर्ने भएको छ । अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूले सिरियामा मानवताविरोधी अपराधमा संलग्न भनी आशङ्का गरिएका सैनिक तथा राजनीतिक अधिकारीहरूको सूची मानव अधिकारका लागि उच्चायुक्त नाभि पिल्लेलाई बुझाएपछि आयुक्तको कार्यालयले उनीहरूलाई कारबाही गर्ने जनाएको हो ।
सिरियामा जारी राष्ट्रपति बासर अल असदको शासनविरोधी प्रदर्शनमा मानवअधिकारको व्यापक हनन् भएको भन्दै संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्ले घटनाको अध्ययन गर्न विशेषज्ञहरूको समूह गठन गरेको थियो । विशेषज्ञ समूहले तयार पारेको प्रतिवेदनको अध्ययनपछि गम्भीर प्रकृतिको मानवअधिकारको हनन् भएको पाइए दोषीलाई कारबाही गर्ने प्रक्रियामा अघि बढ्ने पिल्लेले जानकारी दिए ।
सिरियाका सैन्य तथा राजनीतिक अधिकारीहरूले गरेको भनिएका अपराध र त्यसको प्रमाण प्रतिवेदनमा समेटिएको बताइएको छ । मानवअधिकार हनन् भएका स्थानको स्थलगत भ्रमण र पीडितहरूसँगको कुराकानीका आधारमा प्रतिवेदन तयार पारिएको बताइएको छ । सिरियाली सरकार जनताको रक्षा गर्न असफल भएको र सरकारविरोधी सशस्त्र समूहले पनि व्यापक रूपमा मानवअधिकार उल्लङ्घन गरेको प्रतिवेदनमा उल्लेख छ । अनुसन्धानका क्रममा एक सय ३६ जनासँग अन्तरवार्ता लिइएको बताइएको छ ।
बेलायतमा केन्द्रीय कार्यालय रहेको सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले विरोध अभियान आरम्भ भएपछि सिरियामा हालसम्म सात हजार ६ सयभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको जनाएको छ । (एएफपी)

प्रतिक्रिया