रंग‍-विविध

‘खुब डर लागेको थियो’

सौर्य अनलाइन २०६८ फागुन १९ गते २:५३ मा प्रकाशित

बाबु बोगटी गायक, अभिनेता,

दश वर्षअगाडिको स्कुले जीवनको कुरा हो । त्यतिखेर राम्रा केटी देख्नेबित्तिकै ‘लभलेटर’ लेखेर पठाउने केटाहरू थुप्रै हुन्थे । डेटिङचाहिँ खासै गइँदैनथ्यो । गाउँघरमा डेटिङ भन्ने शब्द आइपुगेकै थिएन ।
त्यसो त गाउँघरमा खुलेर डेटिङ जानु असम्भवजस्तै हो । माया बस्न लागेको छ भने बढीमा हेराहेर मात्रै हुन्थ्यो । पत्रको आदानप्रदान र नयाँ वर्षको शुभकामना दिने काम हुन्थ्यो । बजारतिर जाँदा अलिअलि भेटघाट गर्ने मेलोमेसो जुथ्र्यो ।
तर, मेरो पहिलो डेटिङ भने स्कुल जीवनमै भएको हो, ९–१० कक्षातिर पढ्दा । डेटिङको अवस्थासम्म आइपुग्नुअघि थुप्रै लभलेटर लेखिएका थिए । पत्राचारभन्दा अर्को उपाय थिएन पनि । आफूभन्दा साना–साना भाइबहिनीमार्पmत भेट्नका लागि सन्देश पठाउने गर्थें । ती सन्देशमा ‘मेरी प्रिय मायालु, तिमी मेरो म तिम्रो’ जस्ता शब्द छुट्दैनथे । उनीसँग मेरो चिनजान स्कुलमा पढ्दा नै भएको हो । मभन्दा केही कान्छी थिइन् ।
हामी स्कुल छुट्टी भएपछि नजिकैको लेटाङ बजार गएका थियौँ । एक्लै जान अप्ठ्यारो लाग्थ्यो । मसँग एउटा साथी थियो । उनी पनि एउटी साथी लिएर आएकी रहिछन् ।
मेरो घर बजार एरियामै भएकाले त्यस्तै १२–१५ मिनेट लाग्थ्यो । घाम डुब्न–डुब्न लागेको थियो । बजारमा मान्छेको भिड थियो, बेलुकीको बजार भर्न आएकाहरूको गुनगुन टाढासम्मै सुनिन्थ्यो ।
१८–१९ वर्षको हुँदो हुँ । प्रायः सबैलाई जस्तै मलाई पनि पहिलो डेटिङमा लाजभन्दा बढी डर लागेको थियो– कसैले देखिरहेका पो छन् कि !  केही गर्ने पो हुन् कि अनि घर बजारनजिकै भएकाले छरछिमेकले देख्लान् कि भन्ने डर थियो । डरैडरमा जम्मा ६ मिनेट मात्र सँगै बसियो । अब गाउँमा बसेर गफ गर्ने रेस्टुरेन्ट हुँदैनथ्यो । खुलेर कुरा गर्नै सकिएन । खाली ‘सन्चै छौ ? खाना खायौ ? के–के गरिरहेकी छ्यौ ?’ भन्दैमा सकियो ।
अहिले सम्झिँदा रमाइलो लाग्छ त्यो क्षण । पछि त हाम्रोभन्दा पनि हामीसँग साथी गएकाहरूको सम्बन्ध पो राम्रो हुन पुगेछ । उनीहरूले विवाह नै गरे । ती केटीसँग मेरो भावनात्मक स्पर्श मात्रै रहिरह्यो । समग्रमा भन्नुपर्दा सम्झनालायक लाग्छ, मलाई मेरो पहिलो डेटिङ । एसएलसी दिएपछि उनी आफ्नो बाटो लागिन्, म पनि करियर बनाउनतर्फ लागेँ ।
प्रस्तुतिः विशाल राई  

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय