योनिको टाँका अस्पतालले खोल्यो

नेपालगन्ज, १८ फागुन । भेरी अञ्चल अस्पतालले दीपा थारूको योनिमा लगाइएको टाँका खोलेको छ । योनि खोले पनि अस्पतालले थप उपचार खर्च व्यहोरेको छैन ।
बाँके शमशेरगन्ज–४ की १७ वर्षीया थारूको सोही अस्पतालकी चिकित्सक डा.कल्पना थापा नेतृत्वको टिमले सुत्केरी गराउने क्रममा गत १९ पुसमा योनि बन्द हुनेगरी टाँका लगाएको थियो । योनि बन्द भएपछि थारू दम्पतीले चिकित्सकलाई कारबाहीको माग गर्दै सञ्चारमाध्यम गुहारेपछि अस्पतालले बिहीबार टाँका खोलिदिएको हो ।
दीपालाई अस्पतालमा भर्ना गरिएको छ । पीडितका श्रीमान् गणेशले औषधि खर्च आफैँले व्यहोरेको बताए । ‘यस्तो लापरबाही गर्ने डाक्टरलाई कारबाही गर्न त परै जाओस् उपचार खर्चसमेत दिएका छैनन्,’ गणेशले भने, ‘अस्पतालमा अझै कति दिन बस्नुपर्ने हो, साथमा एक रुपियाँ पनि छैन ।’
योनि सिलाएको स्वीकार गरे पनि अस्पताल प्रशासनले सम्बन्धित चिकित्सक र त्यसमा संलग्न स्वास्थ्यकर्मीमाथि कारबाही गर्न चासो दिएको छैन । घटना सार्वजनिक भएलगत्तै शल्यक्रियामा संलग्न डा. थापा बुधबारदेखि बिदामा बसेको अस्पताल प्रशासनले जनाएको छ । अस्पताल प्रमुख डा.नरेन्द्र रायले काम गर्दै जाँदा यस्ता घटना भूलवश हुने गरेको भन्दै सामान्य रूपमा बुझ्न आग्रह गरे ।
योनिमा लागेको टाँका खोलिसकेको र उपचार खर्च सबै व्यहोर्ने बताउँदै रायले कारबाहीका विषयमा केही बताएनन् । ‘डा. थापा बिदामा हुनुहुन्छ । उहाँसँग केही कुरा हुन पाएको छैन,’ रायले भने ।

प्रतिक्रिया