भीख माग्दै सहिद परिवार

रातो किताब । पेज नम्बर १० । क्रम सङ्ख्या ९ । बलमान मोक्तान तामाङ ।
नेपाली प्रजातान्त्रिक आन्दोलनका सहिदहरूले बगाएको रगतको रङ सम्झाउँछ रातो किताबले । प्रजातन्त्रका खातिर जीवन रक्ताम्मे बनाउनेहरूको लामो सूचीबीच प्रायः चर्चा १९९७ सालका चार सहिदकै हुन्छ । चार सहिदका परिवारमध्ये जीवित रहेका दोस्रो पुस्तासम्मकालाई काठमाडौँ महानगरपालिकाले भर्खरै मासिक भत्ताको व्यवस्था गरेको छ ।
रातो किताबमै अङ्कित छ सहिद मोक्तानको नाम । तर, यो नामचाहिँ आफ्ना परिवारको पीडा हेरेर निरीह भइरहेझैँ लाग्छ । सायद सोच्दो हो– परिवारको यो बिचल्ली हुने गरी व्यर्थै गरेछु आन्दोलन, व्यर्थै भएछु सहिद ! विसं २०१८ मा तात्कालिक शासकले उनको हत्या गरेका थिए । तर, रगतको मूल्य सबैको एउटै हो, चाहे त्यो तानाशाही राणाकाल फाल्न बगेको होस् वा पञ्चायत । शासकका गोली खाँदा वा रूखमा झुन्ड्याइँदा सास नजाउन्जेल भोग्नुपर्ने अन्तिम पीडा सायद सबैलाई बराबरै हुन्छ ।
यस अर्थमा सहिदको ‘हैसियत’ निर्धारण गर्नाको कुनै अर्थ छैन, चाहे बलिदानभोगी आन्दोलनको महत्ता न्यूनतर होस् वा अधिकतर । हैसियत निर्धारण हुन्छ नै भने सबै सहिद
(दलीय दबाबमा जबर्जस्ती घोषणा गरिएका केही अपवादलाई छाडेर) एउटै कोटिमा पर्नुपर्छ– प्रथम । तर, यो तर्क तुकहीन लाग्छ, जब सहिद परिवार भएकै कारण लक्ष्मीमाया तामाङ र कंसलाल तामाङले भोगेको दुर्नियति देखिन्छ । लक्ष्मी, पत्नी हुन् सहिद बलमानकी अनि कंसलाल छोरा, जो यतिखेर राजधानीको पशुपतिमा भौँतारिँदै छन् । भीख मागेर गुजारा चलाउनु लक्ष्मीको बाध्यता बनेको छ । उनीहरूका पीडा यसरी पोखिन्छन्
कंसलाल बुबालाई २०१७ सालमा तात्कालिक शासकहरूले आफ्नो व्यवस्थाविरुद्ध लागेको आरोपमा पक्राउ गरे । ०१८ सालमा उदयपुर गढीमा रूखमा झुन्ड्याएर हत्या गरिदिए । त्यति बेला म दुई वर्षको थिएँ, दिदी चार वर्षकी । खास घर उदयपुरको इनामे–७ हो । जहानियाँ राणाशासकले जनताका छोराछोरीलाई पढ्न–लेख्न नदिने त्यस समयमा बुबाले भारतको दरभङ्गाबाट एसएलसी पास गर्नुभएको थियो ।
उहाँ तात्कालिक कांग्रेस पार्टीमा सक्रिय भएर राणाविरोधी आन्दोलनमा लाग्नुभएको रहेछ । कृष्णप्रसाद भट्टराई, बलबहादुर राई, डम्बरबहादुर थापासँग काँधमा काँध मिलाउनुभएको थियो उहाँले । थापा अहिले पनि जीवित हुनुहुन्छ । शासकसँग आममाफी नमागेकै कारण बुबाको ज्यान गयोे, सर्वस्व हरण भयो । ३५ रोपनी जग्गा, भैँसी, गोरुलगायत सम्पूर्ण जिन्सी राज्यले लुट््यो । राणाशासन गयो, पञ्चायत ढल्यो । थुपै्र व्यवस्थाका अभ्यास भइसके तर हाम्रो सम्पत्ति फिर्ता भएन । पहिला सानै थियौँ, के थाहा र ? बुझ्ने भएपछि मुआब्जाका लागि सम्पूर्ण प्रक्रिया पु¥याएर जिप्रका, गृह मन्त्रालय धाएको पनि हुँ । तर, ३५ वर्ष नाघिसकेपछि पाइँदैन भन्दै फर्काइदिए ।
बुबाले प्रजातन्त्रका लागि ज्यान दिनुभयो, हाम्रो भने बिचल्ली छ । ३० वर्षको उमेरमा विधवा भएकी आमाले हामीलाई बचाउन निकै सङ्घर्ष गर्नुभयो । शासकहरूले उठीबास लगाइदिएपछि हामीलाई च्यापेर उहाँ महोत्तरीको बर्दिबासमा बसाइँ सर्नुभयो । त्यहाँ पनि टिक्न सकिएन, सर्लाहीका श्रीनगर अनि नवलपुरतिर भौँतारिइरह्यौँ ।
१६ वर्षको उमेरमा मैले त्यहाँ पाँच रुपियाँ महिनामा साहुको गोठालो बसेँ । सँगैका अरू साथी स्कुल जान्थे, मलाई पनि रहर लाग्थ्यो । तर, पूरा हुने उपाय नै थिएन । आफ्नो ठाउँ खोसिएको थियो, भौँतारिने क्रम रोकिएन । घरी अक्रौली त घरी सर्लाही गरिरह्यौँ । उदयपुरको कटारी आइपुग्यौँ । त्यहाँ सानो खुद्रा पसल राखेँ । त्यतिखेर माओवादी युद्ध सुरु भइसकेको थियो । शासकहरूबाट खेदिएका हामीलाई अब त्यहाँ माओवादीले टिक्न दिएनन् । शासकविरुद्धको आन्दोलनमा थिए उनीहरू, शासकविरुद्धको आन्दोलनकै सहिदका सन्तान थियौँ हामी पनि । तर, साह्रै दुःख दिन्थे ।
जहाँ गए पनि हाम्रो आफ्नो घर भएन, न त जग्गा किन्न सकियो । दिनभरि काम गर्ने तागत रहे बेलुकी खान पुग्थ्यो । जहाँजहाँ गइयो, साहुको गोठमै बसियो । कतै झुप्रो बनायौँ । एक दिन सुनियो– प्रजातन्त्रमा ज्यान गुमाउनेका परिवारलाई सरकारले राहत दिन्छ रे ! घुमन्ते जीवन छाडेर हान्निएर काठमाडौँ आयौँ । सुरुमा पशुपतिको धर्मशालामा बस्यौँ । त्यहाँ सात दिनभन्दा बढी बस्न दिँदो रहेनछ । यहाँ पनि कति ठाउँ सरियो, भनिसाध्य छैन । अहिले पशुपतिछेउमा एउटा कोठा भाडामा लिएका छौँ ।
मेरा चार छोरा र एक छोरी छन् । खानपानको अभाव र अव्यवस्थित बसाइबीच भौँतारिइरहनुपर्दा श्रीमतीको ज्यान गयो । मेरो त जिन्दगी बर्बाद भयो–भयो, छोराछोरीको पनि त्यस्तै हालत छ । सबैलाई पढाउन सकेको छैन । अहिले कान्छो छोरा र छोरीलाई माइती नेपालले पढाइदिएको छ ।
रातो किताबको पेज नम्बर १०, क्रम सङ्ख्या ९ मा मेरो बुबा ‘प्रजातन्त्रका लागि सहिद’ भएको उल्लेख छ । तर, राज्यले न उहाँलाई सहिदका रूपमा सम्मान दियो न त हामीले त्यसबापत कुनै राहत पायौँ । कुनै पनि सरकारले हाम्रो यो हालत देखेन ।
बलबहादुर राईलाई भेट्दा ‘म के गर्न सक्छु र, विदेश जाने भए जा’ भन्नुभएको थियो । तर, बूढी आमा अनि साना छोराछोरीलाई छाडेर कहाँ जान सक्थेँ र ? उनीहरूको भरणपोषण कसले गरिदिने म नभएका बेला ?
पछि शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा केही आशा जागेको थियो । उहाँसँग ६ महिना हिँडेँ तर वास्ता गर्नुभएन ।
नेपाली कांग्रेसका तर्फबाट कटारीमा वडाध्यक्षको चुनाव पनि लडेको थिएँ । एक भोटले हारेँ । सबै नेताको पछि लागियो, कसैले केही गरेनन् । सबै नातावादकै पछि । आजित भएपछि मैले शान्तिबाटिकामा आत्मदाहको घोषणा गरेको थिएँ ।
लक्ष्मीमाया ९३ वर्षकी भएँ । श्रीमान्लाई मारेपछि बालबच्चा कुन दुःखले हुर्काएँ, सम्झँदा पनि नमीठो लागेर आउँछ । साहुको भारी बोकेँ, गिट्टी कुटेँ । कहिले आलु खुवाएँ त कहिले झ्याउ । यिनीहरूलाई बचाउन थुप्रैपटक आफू भोकै बसेँ । यी दुःखका कुरै नगरौँ ।
राहत पाइन्छ भनेर कहाँ–कहाँ लैजान्छन् तर कसैले पाँच पैसा पनि दिएको छैन । अहिले त नेताहरू बोल्नै छाडे । के गर्नु र देशका लागि ज्यान दिएका परिवारको आँसु अहिलेका नेताहरूलाई फापेको छ । राहतको आशामा आहतमै जिन्दगी बित्यो । अब मलाई न सहिदको सम्मान चाहिन्छ न त कुनै राहत । त्यत्रो सम्पत्ति थियो हाम्रो, अहिले मन्दिरमा भीख मागेर बस्नुपर्ने ? लुटिएको हाम्रो सम्पत्ति राज्यले फिर्ता देओस्, अरू केही चाहिँदैन । त्यति भए मेरा छोरा–नातिको पेट भरिन्छ ।

प्रतिक्रिया