नर्कमा पनि दादागिरी

मतिमा खति परेर पर्यटन मन्त्रालयमा सोधेँ, कुनै यस्तो देश छ, जहाँ जानलाई पासपोर्ट, भिसा र डलर खोज्ने झ्याउ नहोस्, म्यानपावरले पनि उल्लिबिल्ली पार्न नपाओस् । जतिखेर मन लाग्यो फुत्त गयो, मन मरेपछि फेरि फुत्त आफ्नै पुख्र्यौली नेपालमा झर्न मिलोस् । लौ न, जाने गरी यस्तो कुनै मुलुकमा मलाई मुन्ट्याइदिनुस् न ।
ठूलो भुँडीमाथि टाई हल्लाइरहेको साहुजस्तो देखिने मान्छेले मलाई एकोहोरो पाराले एकछिनसम्म उसले हेरेर भन्यो, ए बाजे ! तपाईंले खोजेजस्तो ठाउँ त छ । तर, माथि जानुपर्छ ।
मैले उत्साहसाथ भनेँ– ‘म माथि, तल, छड्के,तेर्सो जहाँ पनि जान तयार छु । किनभने, अब नेपालमा विदेश गएर कुम्ल्याएर ल्याउन सक्नेको मात्रै चुरिफुरी देखिन्छ । एकपल्ट विदेश नगए त जीवन त्यत्तिकै खेर गएजस्तो बुझिन थाल्यो ।’
चस्मा झिकेर लँगौटीजस्तो देखिने टाईले पुछेर त्यो साहुजस्तो देखिने झ्याउले भन्यो, ‘हेर्नुस्,
बाजे ! माथि जानलाई तपाईंले क्यै गर्नु पर्दैन । सडकवरिपरि गर्दा आकाशे पुलको सकेसम्म प्रयोग नगर्नुहोला । भगवान् र ट्राफिक प्रहरीले चाहे भने माथि जाने तपाईंको इच्छा अवश्य पूरा हुन्छ ।’
‘लौ बाबै, तपाईंको जय होस् । छोराछोरी जागिरे छन् भने, यसो शुभलाभ हुने ठाउँमा परून् । मजस्तो बूढापाकाको आशिक लाग्छ बा,’ भन्दै म बाहिरिएँ । नभन्दै एक दिन त म ‘माथि नर्क’ भनिने विदेशी नगरीमा पुगिराख्या’ । हाम्रा राउटेहरूले दसैँ खर्च असुल्न काठमाडौँमा चारैतिर चियाउँदै हिँडेजस्तो म पनि त्यहाँ भौतारिन थालेँ ।
घुम्दाघुम्दै म त एउटा अजङ्गको पोखरीको डिलमा पुगेछु । त्यहाँ केही व्यक्तिहरू पोखरीको परिक्रमा गरिरहेका थिए, त्यो पनि दगुर्दै, असिन–पसिन हुँदै । बबरमहलमा बम पड्कँदा मान्छेहरू भागाभाग गरेजत्तिकै बुझिन्थ्यो । त्यहाँ पाले भनाउँदो कालेले पनि कन्ठलँगौटी झुन्ड्याएको देखेँ । उसैलाई सोधेँ– ‘हैन, यी बिचराहरू किन यसरी प्राणान्त हुनेगरी दगु¥या दगु¥यै छन् ?’
काले पाले त भाले भएर सम्झाउन थाल्यो– ‘यी सबै नेपालका प्याजी कालो छाताको कोट लाएर बहस गर्ने नामी वकिल साबहरू हुन् । जिन्दगीभरि झुटको खेती गरे, अहिले त्यसकै बाली काट्दै छन् । जतिपटक झुटो बोल्यो त्यतिपल्ट यो विशाल पोखरीको परिक्रमा गर्नैपर्ने नियम पो छ त, यहाँ नर्कमा । यहाँ दायाँबायाँ गर्नै पाइन्न ।’
‘ए…, त्यसो पो रहेछ ।’ भन्दै म फेरि डुल्दै पोखरीको अर्को डिलतिर लागेँ । त्यहाँ पनि नेपाली अनुहारहरू एकमुष्ट देखापरे । दङ्ग पर्दै सोधेँ– ‘सबै नेपाली दाजुभाइलाई मेरो ‘जय नेपाल’ छ
है !’ कसैले पनि मेरो अभिवादनको उत्तर फर्काएन । उल्टो मलाई अनेक शङ्का उपशङ्काको दृष्टिले हेर्न थाले । ती नेपाली मुहार बोकेका शरीरहरू त सबै नेता पो रहेछन् । ‘उसै त बुहारी भटमास खाएकी’ भनेजस्तो नेताहरू त अनेकथरि मागहरू बोकेर अनशनमा बसेका रै’छन् । तुल, बैनर, पर्चा, भित्तेलेखन सबै कान्ड पु¥याएर नेपाली नेताहरू नर्कमा अनसन गरिरहेका थिए । नेपाली नेताहरूको जुझारु संस्कृति देखेर मेरो मन मयुरझैँ नाच्न थाल्यो ।
नेताहरूका अन्य मागहरू त भर्सेलै परून्, प्रमुख समस्या थियो त्यो बडेमानको पोखरी कसरी थुन्ने भन्ने ? उनीहरूले मलाई सम्झाए झुटो बोल्नु, फट्याइँ गर्नु त नेताहरूको जन्मसिद्ध अधिकार हो । हामीले झुटो बोल्यौंँ भनेर दण्ड दिनु न्यायसङ्गत भएन । हामीलाई दण्ड दिनु नै छ भने प्रत्येक जनालाई एउटा पजेरो दिनुपर्छ । अनिमात्र हामी यसको परिक्रमा गर्छौं ।
अर्को नेताले नाक कोट्याउँदै नाके बोलीमा कड्क्यो– ‘हाम्ले त सानैदेखि राजनीतिमा अनेक बदमासी ग¥यौँ । कति झुटो बोलियो, कति बेइमानी गरियो, कति ठगियो, कति लुटियो । अब ती सबको हिसाब गरेर हाम्ले दण्ड जरिवाना तिर्ने सहने हो भने हाम्रो जीवन त सिङ्गै त्यो तिरोतारोमै बित्छ । हामी उभ्याउँछौँ । नेताले झुटो बोल्न पाउनु त उसको मानवअधिकार हो । कि ल्याउ पजेरो नत्र पेट्रोल हालेर यस्ता पोखरा, पोखरी घुम्दिन्छौँ ।’
नर्कमा पनि नेपाली नेताहरूको तुजुक देखेर मेरो मन नराम्रोसँग खुसी भयो । त्यो खुसीको झट्काले म त झल्याँस्स बिउँझेँ ।

प्रतिक्रिया