म्याग्दीमा चौरीको आलो रगत पिउने मेला

बाग्लुङ, ११ फागुन । शिख गाविसको लहेनीमा चौँरीगाईको आलो रगत पिउने मेला सुरु भएको छ । नाँगी र पाउद्वार संयुक्त चौँरीपालक कृषक समूहको आयोजनामा भएको मेलामा जडीबुटीयुक्त चरन क्षेत्रमा पालिएका चौँरीगाईको आलो रगत पिउनेको सहभागिता बढेको छ ।
यार्सागुम्बा, निरमसी, पाँचऔँले, जटामसीलगायतका जडीबुटी पाइने बुकी क्षेत्रमा चरेका चौँरीगाईको आलो रगतमा रोग प्रतिरोधात्मक र शारीरिक स्फुति दिर्ने तत्व पाइने विश्वास छ । चौँरीगाईको रगत पिएपछि ग्यास्ट्रिक, गानोगोला लगायत चिसोका कारण हुने रोगका साथै यौन दुर्बलताको समस्या समाधान हुने विश्वास रहेको स्थानीय रुद्रबहादुर मगरले बताए ।
पाँचदिनसम्म चल्ने मेलाबाट भएको आम्दानी हिमाञ्चल उच्च मावि नाँगी र पाउद्वार मावि पाउद्वार सञ्चालन गर्न खर्च गरिँदै आएको छ । हरेक वर्ष मेलाबाट आम्दानी हुने रकम प्रति विद्यालयलाई ५० हजार रुपियाँका दरले दुई विद्यालयलाई प्रदान गरिएको मगरले बताए ।
‘चौँरीको एक गिलास रगतको ६५ रुपियाँ पर्छ । ‘एउटै चौँरीबाट १५ गिलास रगत निकालिएको छ’, चौरीपालक कृषक समूहका सदस्य भीम पुनले भने, ‘वर्षायाममा अझ बढी निकाल्छाँ, अहिले घाँसको कमी हुने र चौँरी दुब्लो हुने भएकाले कम निकालेका हौँ ।’ मेलामा चौँरीगाईको घाँटीमा विशेष प्रकारको चक्कुले प्वाल पारेर रगत निकालिन्छ ।
चौँरीगाईको रगत पिउनका लागि पोखरा, काठमाडौँ, म्याग्दी, बाग्लुङ, पर्वत लगायतका स्थानबाट सर्वसाधारण आएका छन् । अहिलेसम्म छ सयभन्दा बढी गिलास चौँरीको रगत बिक्री भएको पुनले बताए ।
साउन र फागुनमा म्याग्दीमा यस्तो मेला लाग्ने गरेको छ । वायरलेस इन्टरनेट भित्र्याएर चर्चा बटुलेका मेगेसेसे पुरस्कार विजेता महावीर पुनको पहल र स्थानीयवासीको सक्रियतामा मुस्ताङ र मनाङबाट २८ चौँरी ल्याएर यस्तो मेला सुरु गरिएको हो । अहिले चौँरीको सङ्ख्या एकसय छ ।

प्रतिक्रिया