कोइरालालाई प्रधानमन्त्री बन्न दाहालको प्रस्ताव

काठमाडौं, ११ फागुन । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय सहमतिको सरकारको नेतृत्व लिन कांग्रेस सभापति सुशील कोइरालालाई प्रस्ताव गरेका छन् । कोइरालालाई भेट्न बिहीबार बिहान उनकै निवास महाराजगन्ज पुगेका दाहालले सो प्रस्ताव गरेको स्रोतको दाबी छ ।
कोइराला निवासमा भएको झन्डै एक घन्टा लामो भेटमा दाहालले कांग्रेसको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठनका लागि आफू सहयोग गर्न तयार रहेको बताएका थिए । सबै दलभित्र देखिएका समस्या कोइराला प्रधानमन्त्री बनेपछि समाधान हुने उनको धारणा थियो । ‘मेरो पार्टीमा पनि समस्या छ, तपाईंको पार्टीमा पनि,’ दाहालको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘तपाईं प्रधानमन्त्री बनेपछि समस्या समाधान हुन्छ ।’
तर, सभापति कोइरालाले शान्तिप्रक्रिया पहिला टुङ्गो लागेपछि मात्र राष्ट्रिय सहमतिको सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा छलफल गर्न सकिने बताएका थिए । ‘हामीले अहिले नै राष्ट्रिय सहमतिको सरकार भनेका छैनौं,’ कोइरालाको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘बाबुराम भट्टराईको सरकारले शान्तिप्रक्रिया पूरा गरोस्, बाँकी विषयमा कांग्रेस छलफल गर्न तयार छ ।’
भेटमा एमाओवादी अध्यक्ष दाहालले संविधानका विषयवस्तुमा देखिएका विवाद र शान्तिप्रक्रियाका विषयलाई उत्तिकै गम्भीर र जिम्मेवार भएर मात्रै समाधान गर्न सकिने बताएका थिए । सेना समायोजनबारे नेपाली सेनाले दिएको सुझाबलाई सकारात्मक आधार मानेर छलफल गर्न एमाओवादी तयार रहेको दाहालले स्पष्ट पारेको उनीनिकट स्रोतले जनाएको छ ।
सेनालाई विवादमा नतान्न र सम्मानजनक समायोजनको वातावरण निर्माण गरी शान्तिप्रक्रियालाई निष्कर्षमा पराउनसमेत दाहालले कोइरालासित आग्रह गरे । तर, कोइरालाले संविधानसभापछि ६ महिनामा सक्ने भनिएको शान्तिप्रक्रिया हालसम्म पूरा नहुनामा एमाओवादी जिम्मेवार रहेको भन्दै शान्तिप्रक्रिया पूरा नभएसम्म कुनै विषयमा सकारात्मक छलफल नहुने जवाफ दिएको स्रोतले जनाएको छ ।
कोइराला निवासको भुइँतलामा रहेको हलमा दुई नेताबीच छलफल सुरु भएको थियो, तर पछि एक तलामाथिको हलमा बसेर उनीहरूले छलफल
गरेका थिए ।

प्रतिक्रिया