स्वास्थ्यमा खेलवाड किन ?

मानवीय संवेदनाको अति महत्वपूर्ण क्षेत्र अस्पताल पनि हो । यहा बिरामी भएका व्यक्ति लामो समयसम्म जीवित रहन अर्थात् बाच्नका लागि आउछन्, रोग थपेर घर फर्किन होइन । तर, स्वास्थ्यमन्त्री राजेन्द्र महतोले आफ्ना छोराले मापदण्ड विपरीत स्थापना गरेको अस्पताललाई सञ्चालनको स्विकृति दिएर मानवीय संवेदनामाथि खेलवाड गरेका छन् । नियम, कानुन मिचेर, सेवाभावलाई तिलाञ्जलि दिएर पैसा कमाउने निहित उद्देश्यका लागि स्थापना गरिएका यस्ता अस्पतालले रोगीको रोग निको पार्दैन, उल्टो रोग थपेर पैसा धुत्ने काम मात्र गर्छ ।
स्वास्थ्य मन्त्रीका छोरा राजेन्द्र महतोले काठमाडौंको बल्खुमा सञ्चालन गरेको शिवज्योति अस्पतालले आवश्यक मापदण्ड पूरा नगरेको खुलासा भएको छ । स्वयम् मन्त्रीका आफन्तले खोलेको अस्पतालले आवश्यक मापदन्ड पूरा नगर्नु भनेको लज्जाको विषय हो । यस्ता कार्यले उपचार र स्वास्थ्यको संवेदनशीलतालाई ठाडो उपेक्षा गरेर बाच्न पाउने अधिकारलाई चुनौती दिने काम गर्छ । तसर्थ, जति पनि मापदण्ड विपरीतका अस्पताल छन्, ती सबै सम्बन्धित निकायले बन्द गर्नुपर्छ ।
अस्पतालहरू खुल्नुपर्छ र बिरामीले उपचार पाउनुपर्छ । यसमा विवाद छैन  तर, ‘निजी तथा गैरसरकारी स्वास्थ्यसंस्था स्थापना, सञ्चालन नीति, मापदण्ड एवम् पूर्वाधार निर्देशिका २०६१’ अनुरूप नै अस्पतालहरू निर्माण र सञ्चालन हुनुपर्छ । अन्यथा अस्पतालका नाममा पैसा कमाउने लाइसेन्स वितरण गरेको मात्र ठहर्नेछ । अस्पताललाई सञ्चालनको स्विकृति दिने निकाय स्वास्थ्य सेवा विभाग हो । मन्त्रीको दबाबमा परेर मापदण्ड विपरीतका स्वास्थ्य संस्थालाई स्विकृति दिएको हो भने स्विकृति दिने व्यक्ति पनि दण्डको भागिदार बन्नुपर्छ । पदीय दायित्व पूरा नगर्ने, मानवीय संवेदनालाई पनि पैसाको बिटोमा रूपान्तरण गर्ने र कसैले मापदन्डको कुरा गर्दा क्षेत्रीय, जातीय र धार्मिक विषयलाई तानेर गल्ती ढाकछोप गर्न खोज्नु आफैँमा अपराध हो । विकृति र विसङ्गति रोक्नुपर्ने दायित्व बोकेकाहरू नै अनियमित काम गर्छन् भने राज्यले त्यस्तालाई दण्डित गर्नुपर्छ । जति पनि मापदण्ड विपरीत स्वास्थ्य संस्थाहरू सञ्चालित भएका छन्, ती सबैको सञ्चालन अनुमति पत्र खारेज गरिनुपर्छ । अन्यथा, स्वास्थ्य जस्तो मानवीय संवेदनामाथि खेलवाड हुने कार्य रोकिनेछैन ।

प्रतिक्रिया