‘पहाडी समुदायलाई सस्तोमा जग्गा’

नेहा शर्मा, जनकपुर, १० फागुन । जनकपुरमा पहाडी समुदायका व्यक्तिका लागि जग्गा सस्तोमा दिने अभियान सुरु भएको छ ।
मधेसमा आन्दोलन चर्केपछि पलायन भएका पहाडी समुदायलाई फर्काउन जग्गा ३० प्रतिशत सस्तोमा दिन केही जग्गाका कारोबारी तयार भएका छन् ।
जनकपुरका जग्गा व्यापारी राधारमण साह, सन्तोष ठाकुर तथा राजकिशोर गामीले पहाडी समुदायलाई पुनर्वास गराउन अभियान थालेका हुन् । ‘मधेस आन्दोलनका क्रममा धेरै पहाडी समुदायका मानिस पलायन भए’ जग्गा व्यापारी साहले भने, ‘अहिले उनीहरु फर्कन चाहन्छन् भने हामी चलनचल्तीमा ३० प्रतिशतसम्म छुट मूल्यमा जग्गा उपलब्ध गराउँछौँ ।’  साहले थपे, ‘पहिलेकै सौहार्द्रता कायम गर्न यो सानो प्रयास हो ।’
जग्गाका कारोबारीले ३० प्रतिशत कम मूल्यमा जग्गा उपलब्ध गराउन थालेपछि अहिलेसम्म चार परिवार जनकपुर फर्किएका छन्,तर जनकपुर फर्किए पनि तत्काल सञ्चारमाध्यममा केही नबोल्ने उनीहरुले बताए । नाम उल्लेख नगर्न अनुरोध गर्दै एकले भने, ‘जनकपुरमा सद्भाव फर्किएको हेर्न बाँकी छ । धेरै नबोलौँ । हामीलाई राम्रो भए अरु पनि फर्कन चाहन्छन् ।’
यस्तै, जनकपुरबाट विस्थापित भएर हेटौँडा आएको एउटा परिवार पनि जनकपुर फर्केको छ । परिवारका एक सदस्यले भने, ‘हेटौँडामा बस्न जनकपुरमा जति सहज भएन । यता पहाडिया भनेकाले छाडेर गयौँ, उताकाले मधेसी पो सम्झिए ।’
नेपाली कांग्रेसका युवा नेता प्रफुल्लराज घिमिरेले युवा जग्गा व्यवसायीले थालेको प्रयास सह्रानीय भएको बताए । ‘सुरुमा यो प्रयास सानो भए पनि यसले जनकपुरमा पहाडी समुदायको अभाव खट्किएको र सद्भाव नभड्किएको सन्देश जान्छ,’ घिमिरेले बताए ।
एमाओवादी धनुषाका इन्चार्ज रोशन जनकपुरी मधेस आन्दोलन मधेसीको अधिकार र पहिचानको लडाइँ भएकाले पहाडी समुदायका मानिस डराएर भाग्नु नपर्ने बताउँछन् । छाडेकालाई फर्काउन  एउटा अभियान चलाउनुपर्ने बताउँदै उनले भने, ‘हामी राजनीतिक दलहरु छलफलमा छौँ र फर्काउन चाँडै अभियान थाल्नेछौँ ।’
पहाडी समुदायका मानिसले जनकपुर छाडेपछि जनकपुर बजारको व्यापार व्यवसायमा पनि मन्दी आएको व्यापारीको भनाइ छ । मधेस आन्दोलनका क्रममा जनकपुरबाट अनुमानित एक हजार दुई सय परिवार बाहिरिएका थिए । । तीमध्ये धेरै हेटौँडा, चितवन र काठमाडौँ गएका थिए ।

प्रतिक्रिया