जनवादी विद्यालयको पढाइ चौरमा

दिल शिरीष, बाग्लुङ, ९ फागुन । बाग्लुङ जिल्लाको ढोरपाटनमा रहेको जनवादी विद्यालयका विद्यार्थी चौरमा पढिरहेका छन् । जनयुद्धकालमा माओवादीले सुरु गरेको विद्यालयको भौतिक पूर्वाधार नहुँदा विद्यार्थीलाई पढाइमा समस्या परेको हो ।
गाजा युवा क्लबले निर्माण गरेको दुईकोठे भवनमा पढाइ चलिरहेको हो । तर, भवन अभावले बालकक्षा र एक कक्षाका एक सय ६५ विद्यार्थी चौरमा पढिरहेका छन् । फर्निचर नहुँदा बोरा ओच्छ्याएर पढ्नुपर्ने बाध्यता रहेको प्रधानाध्यापक देवबहादुर सुनार सुनाउँछन् । दुई सय ६१ दलित विद्यार्थी अध्ययन गर्ने विद्यालयमा शौचालय पनि छैन ।
विद्यालयको पढाइ जेठदेखि असोज महिनासम्म ढोरपाटनको नोवी गाउँ र कात्तिकदेखि वैशाखसम्म बोबाङमा हुने गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भद्रमणि सुनारले बताए । विद्यालयमा भौतिक पूर्वाधार नभएका कारण विद्यार्थीले पढाइलाई निरन्तरता दिन सकेका छैनन् ।
माओवादीले जनवादी शिक्षा प्रदान गर्न ०५४ सालमा स्थापना गरेको विद्यालयको पूर्वाधार सुधारका लागि पहल भइरहेको एमाओवादी बाग्लुङका सेक्रेटरी टेकबहादुर केसी आजादले बताए ।

प्रतिक्रिया