वैज्ञानिक वन व्यवस्थापन सुरू

प्रमोदकुमार टण्डन, काठमाडौं, ९ फागुन । सरकारले कपिलवस्तुको तिलौराकोट साझेदारी वनबाट पहिलो पटक वैज्ञानिक वन व्यवस्थापन पद्धती सुरु गरेको छ । अहिलेसम्म कुनै पनि व्यवस्थापन पद्धती नहुँदा मौलाएको अतिक्रमण, चोरी, राजनीतिकरण र फँडानीले देशभरकै वनको अस्तित्व संकटमा पर्न थालेपछि सरकारले वैज्ञानिक वन व्यवस्थापन पद्धतीको सुरुवात गरेको हो ।
यसका लागि साझेदारी वनको ३० हेक्टर क्षेत्रफलमा १३ खण्ड र हरेक खण्डलाई तीन उपखण्डको दरले विभाजन गरिएको वन विभागले जनाएको छ । जसअनुसार छुट्टयाइएको खण्ड र उपखण्डमा रुखको जिपिएस रेकर्ड लिने, फायर लाइनको लागि बाटो निर्माण गर्ने लगायतको काम भैरहेको छ । पहिलो चरणमा धनुषा, बारा, पर्सा, रौतहट, महोत्तरी, रुपन्देही, कपिलवस्तु र कैलालीका वनलाई वैज्ञानिक व्यवस्थापन गर्ने सरकारको योजना थियो । सबैभन्दा पहिले कपिलवस्तुको तिलौराकोट साझेदारी वनको कार्ययोजना तयार भएकोले त्यहिबाट वैज्ञानिक व्यवस्थापन सुरु गरिएको विभागका वन अधिकृत एवं साझेदारी वन कार्यन्वयन इकाइ संयोजक विजयराज सुवेदीले बताए ।
‘सुरुमै कार्ययोजना बनेकोले तिलौराकोट साझेदारी वनबाट वैज्ञानिक व्यवस्थापन सुरु ग¥यौं’ उनले सौर्यसँग भने, ‘खण्ड र उपखण्ड छुट्टाएर भर्खर स्थलगत काम सुरु गरेका छौं, छिट्टै व्यवस्थापन गर्ने क्षेत्रका अनावश्यक रुख निकाल्ने काम हुन्छ ।’ उनले उक्त वन व्यवस्थापनको लागि ६४ लाख रुपैंया बजेट छुट्टाइएको र अहिलेसम्म करिव १८ लाख रुपैंया बराबरको काम भएको बताए । उनकाअनुसार बैज्ञानिक वन व्यवस्थापनमा वनका वनस्पतिको आधारमा समय सिमा निर्धारण गरेर चरणवद्ध रुपमा वृक्षारोपण गर्ने, वनस्पति हुर्काउने, आयु पुगेका र वनमा राखि छोड्दा फाइदा नदिने रुखलाई कटान गरेर काठ विक्रि गर्ने गरिन्छ । सिमित क्षेत्रमा सिमित वनस्पति मात्रै हुर्काइन्छ । यसो गर्दा अरु वनस्पतिले मूख्य वनस्पतिलाई हुर्कन र फैलनमा बाधा पु¥याउन्नन् ।
कुनै पनि वनस्पति, रुखविरुवालाई उमेर नपुग्दै कलिलैमा काट्न पाइँदैन । वैज्ञानिक व्यवस्थापन लागु गर्ने प्राकृतिक वनको स्वरुप बिगारिन्न । जुन प्रजातिको वनस्पतिले कुनै फाइदा दिन्न, त्यसलाई मात्र कटान गरेर विक्री गरिन्छ । यसो गर्दा सालको रुखलाई ८० वर्ष कटिसकेपछि, सल्लोलाई ७० वर्ष, चिलाउने र कटुँसलाई ४० वर्ष, उत्तिसलाई ३० वर्ष कटेपछि मात्रै कटान गर्न पाइन्छ । अरुलाई पनि तिनिहरुको प्रकृतिअनुसार कटान गरिन्छ । दुई, चार, पाँच, आठ, दश वर्षको फरक गरेर अरु क्षेत्रमा गरिएको वृक्षारोपणले उमेर पुगेर काटिएका काठको स्थान लिँदै जान्छ र तिनीहरुको पनि उमेर पुगेपछि कटान गरिन्छ । यसरी वनस्पतिको वैज्ञानिक व्यवस्थापनको सुरुवाती पुरै चक्र पुरा हुन वनस्पतिको प्रकृतिअनुसार ३०, ४०, ७० वा ८० वर्ष सम्म लाग्ने नेपाल वन प्राविधिक संघले जनाएको छ । त्यसपछि वृक्षारोपण देखि कटान सम्मको यो चक्र निरन्तर चल्दा काठ प्रसस्त हुने भएकाले जंगलको संरक्षण एवं विस्तार गर्न सकिन्छ । नेपालमा अहिले सम्म कुनै पनि पद्धतीको वन व्यवस्थापन नभएका कारण सबैजसो वनमा आयू पुगेका र राखिराख्दा फाइदा नहुने काठको बाह्ुल्यता रहेको बताइन्छ ।
नेपाल वन प्राविधिक संघले गरेको एक अध्ययनले वैज्ञानिक व्यवस्थापन गर्न सके नेपालको ५१ दशमलव एक प्रतिशत वनबाट मात्रै वार्षिक करिव ३९ अर्ब रुपैंया राजस्व प्राप्त हुन सक्ने देखाएको थियो । जुन अहिलेको पुरै वनको काठ विक्रिबाट प्राप्त हुने राजस्वको ५५ गुणाभन्दा बढि हो । काठ विक्रिबाट सरकारलाई हाल वार्षिक करिव ७० करोड रुपैंया राजस्व आम्दानी हुन्छ । अध्ययनले वैज्ञानिक व्यवस्थापनबाट ३८ अर्ब ९९ करोड सात सय रुपैंया सम्म आम्दानी गर्न सकिने देखाएको हो । अध्ययन नेपालको कूल वन क्षेत्र चार करोड २६ लाख ८८ हजार हेक्टर मध्ये त्यसको ५१ दशमलव १ प्रतिशत अर्थात् दुई करोड १७ लाख ९३ हजार हेक्टर मात्रै पहुँच योग्य वनमा गरिएको थियो ।

प्रतिक्रिया