बोक्सी आरोपमा निर्घात कुटपिट

विमल नेपाल, सिन्धुपाल्चोक, ९ फागुन । चितवनमा बोक्सीको आरोपमा महिलाको हत्या घटना सेलाउन नपाउदै सिन्धुपाल्चाक भोटसीपा ५ की सुर्जमाया तामाङलाई गाउँलेले बोक्सीको आरोपमा निर्घात कुटपिट गरेका छन् । कुटपिट पश्चात न्याय माग्न मंगलवार सदरमुकाम चौतारा आएकी ३८ बर्षीय तमाङले संचारकर्मीसँग आफ्नो ज्यानको सुरक्षाका लागि पहल गरिदिन अनुरोध गरेकी छन् ।

उनले भनिन्, ‘गाउँका बाख्रा, भैसी सबै म¥यो, बच्चा विरामी भयो तँ बोक्सीले गर्दा यस्तो भएको ओपमा कुटपिट गरे ।’ छ सन्तानकी आमा सुर्जमायलाई उनका जेठाजु खम्बबहादुर तमाङले ८ वर्षदेखि बोक्सीको आरोपमा शारीरिक तथा मानसिक यातना दिने गरेको पीडीत तमाङको भनाई छ । उनले भनिन्, ‘ खुकुरीले मार हान्न खोजेका थिए, अरुले हान्न नदिएकाले ज्यान बच्यो ।’

‘मलाई सधै बोक्सी भन्ने, गाउँमा बच्चा विरामी भयो भनेपनि मैले गर्दा भयो भन्ने, गाई, भैंसीले दुध नदिएपनि मैले गर्दा नदिएको भनेर पटक–पटक यातना दिने गर्थे’ तमाङले भनिन् ।

सोमबार बिहान जेठाजु खम्बबहादुरको घरमा गएकी सुर्जमाया त्यहाँ पुग्दा बोक्सीको बारेमा कुरा गरिरहेको सुनेपछि मेरो बारेमा किन यस्तो भनेको भन्दा आफूुलाई त्यही रहेका  सीताराम तमाङले एक्कासी गालामा हिर्काएको उनले बताइन । ‘मलाई एक्कासी कपालमा तानेर लगातर कुटिरहे ’ तमाङले भनिन् । कुटपिटबाट उनको कानसमेत च्यातिएको छ ।

श्रीमतीलाई सधै मार्छु भन्ने र आफूहरुलाई गाउँमा बस्न समेत असजिलो भएकाले न्याय माग्न सदरमुकाम आएको सुर्जमायाका श्रीमान माझी तमाङले बताए । कुटपिटमा संलग्नहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया