चर्को प्रतिस्पर्धामा

भरतराज आचार्य
अध्यक्ष, टिएसएन कर्पोरेसन

मिहिनेत गरे सानो लगानीबाटै सफल उद्यमी बन्न सकिन्छ भन्ने उदाहरण बनेका छन्, भरतराज आचार्य । करिब चार लाख लगानीमा ‘कन्सेफ बिजनेस’ मा हात हालेका उनले अहिले करौडौँ लगानीमा आधा दर्जन उद्योग स्थापना गरिसकेका छन् ।
२०५२÷०५३ सालमा अध्ययनकै क्रममा प्युठानबाट काठमाडौँ हानिएका उनी अहिले टिएसएन कर्पोरेसनको अध्यक्ष पनि हुन् । एसएलसीसम्मको अध्ययन सकाएर काठमाडौँ आएका उनले सुरुमा आफ्नै सानो लगानीमा ट्रेड स्टाटेजी नेपाल नामको कम्पनी स्थापना गरे । त्यसबाट सोचेअनुसारको सफलता हात पार्न नसकेपछि उनी भारतीय लगानीको बिस्लेरी नेपाल नामको मिनरल वाटर कम्पनीमा जागिरे भए । आफ्नो लगनशीलता र मिहिनेतका कारण उनले सो कम्पनीलाई निक्कै माथि पु¥याएको बताउँछन् ।
तर, करिब ६ महिनापछि उनले सो कम्पनीमा जागिर नखाने विचार गरे । त्यसो त सो कम्पनीले भारतमै जागिर दिने आश्वासनसमेत दिएको उनी सुनाउँछन् । जागिरका लागि त्यो कम्पनी राम्रो भए पनि करिब ६ महिना त्यहाँ जागिर खाइसकेपछि उनले मुलुकभित्रै थुप्रै अवसर देखे ।
नेपालमा सञ्चालित उद्योगका लागि आवश्यक कच्चापदार्थ भारतलागायत तेस्रो मुलुकबाट आयात हुने गरेको देखेपछि उनको सोचाइ परिवर्तन भएको रहेछ । ‘स्वदेशी र विदेशी लगानीमा स्थापना भएका उद्योगले एजेन्टको भरमा कच्चापदार्थ बाहिरी मुलुकबाट आयात गरेको पाएपछि त्यस्तै उद्योग स्थापना गर्ने सोचाइ विकास भयो’ उनी सम्झन्छन् ।
अरूको लगानीमा स्थापना भएको कम्पनीमा जागिर खानुभन्दा आपैmँ केही गर्ने सोचले फेरि उनले नेपालमा सञ्चालित उद्योगका लागि आवश्यक कच्चापदार्थ आयात गर्ने कम्पनी सुरु गरे र टिएसएन प्लास्ट केयर इन्डस्ट्रिज स्थापना गरे । केही समयपछि फेरि उद्योगलाई मेसिनरी समस्या देखेपछि उनी त्यसको आयातलाई व्यवस्थित गर्नतर्फ लागे । यही क्रममा उनले केही विदेशी मुलुकबाट आयात र ती मुलुकसम्म मेसिनरी सामान निर्यातको कामसमेत गरे ।
पुर्खौली पेसा नभएकाले सुरुका केही वर्ष प्रतिस्पर्धामा आफ्नो व्यवसाय जान नसके पनि धैर्य र मिहिनेतको कारण लक्ष्यमा असफल भएको अनुभव उनीसँग रहेनछ । ‘मेरो बुबा, हजुरबुबा कसैले नगरेको काम थियो,’ उनी भन्छन्, ‘उद्योग विकासको चर्को प्रतिस्पर्धामा पनि असफल भने हुनुपरेन ।’ उच्च शिक्षा अध्ययनलाई निरन्तरता दिँदै उद्यमशीलतामा लागेका आचार्यले टिएसएन प्लास्ट केयर इन्डस्ट्रिज, ट्रेड स्ट्राटेजी नेपाल, टिएसएन इनर्जी, इन्टरनेसनल स्कुल अफ एड्भान्स स्टडी, टिएसएन इन्जिनियरिङ एन्ड कन्सल्टेन्स, एसआर एचके कम्पनी लिमिटेड स्थापना गरिसेकका छन् । टिएसएन कर्पोरेसनअन्तर्गत आधा दर्जन कम्पनीका प्रमुख बनेका उनले त्यस क्षेत्रमा ५० करोड रुपैयाँभन्दा बढी लगानी गरेका छन् ।
११ वर्षअघि चार लाख रुपैयाँ लगानीमा उद्यमी बन्ने सपना देखेका उनी अहिले चार सयभन्दा बढीलाई आफ्नै कम्पनीमा रोजगारी दिन सफल भएका छन् । यसमा उनी निक्कै गौरवसमेत महसुस गर्दा रहेछन् । ‘कुनै समय म पनि अर्कैको कम्पनीमा जागिरे थिएँ,’ उनी भन्छन्, ‘अहिले आफ्नै लगानीमा ४ सयभन्दा बढीलाई रोजगारी दिन पाएकोमा निक्कै दङ्ग छु ।’
त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्र र युरोपबाट व्यवस्थापनमा स्नातकोत्तर गरेका उनी अहिले स्वास्थ्य र शिक्षा क्षेत्रमा समेत आफ्नो उद्यमशीलता विस्तार गरिहेका छन् । आफ्नै समन्वय र अग्रसरतामा मणिग्राममा करिब ५० करोड रुपैयाँ लगानीमा मेडिकल कलेज सुरु गरेका छन् भने विदेशी मुलुकमा समेत राम्रो बजार देखेपछि औषधि उद्योग स्थापनाको तयारी गरेको बताउँछन् । आपूm जस्तै थुप्रै युवा बेरोजगार भएर बसेकोप्रति उनको ध्यान खिचिँदो रहेछ । त्यसैले इच्छाशक्ति भए कोही बेरोजगार हुनु नपर्ने उनको तर्क छ । बढ्दो लोडसेडिङ, असुरक्षा र औद्योगिक वातावरण नहुनुलाई उनले त्यति ठूलो समस्याका रूपमा लिएका रहेनछन् । बरु तिनै समस्याको समाधान खोज्ने र उपयुक्त क्षेत्रमा लगानी गर्दै जाने उनको सोचाइ छ ।
प्रस्तुति :  किरण ढकालन

 

प्रतिक्रिया