बिमा र वित्तभन्दा उत्पादनमूलक कम्पनी नाफामा

बाबुकृष्ण महर्जन, काठमाडौं, ८ फागुन । नेपाल स्टक एक्सचेन्जमा वर्चस्व रहेका वित्त र वीमा कम्पनीको नाफामा गिरावट आएको समयमा उत्पादनमूलक क्षेत्रका कम्पनी भने नाफामा गएका छन् ।
सोमबारसम्म दोस्रो त्रैमासिकको वित्तीय विवरण सार्वजनिक गरेका उत्पादनमूलक एवं सेवा क्षेत्रका अधिकांश कम्पनीले गत आर्थिक वर्षको अर्धवार्षिक वित्तीय विवरणभन्दा आफ्नो नाफामा वृद्धि गरेका छन् ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत दुई सय १४ कम्पनीमध्ये २४ वाणिज्य बैंक, ७३ वित्त कम्पनी, ६४ विकास बैंक र २१  वीमा कम्पनी गरी कुल एक सय ८२ कम्पनी वीमा र वित्तीय क्षेत्रसँग सम्बन्धित छन् । नेप्सेमा चार होटल, १७ उत्पादनमूलक, चार जलविद्युत्, चार व्यापारसँग सम्बन्धित र दुई अन्य कम्पनी रहेका छन् ।
नेप्सेमा सूचीकृत गैरवित्तीय क्षेत्रका कम्पनीमध्येका सोल्टी र ओरियन्टल होटलले गत आर्थिक वर्षको पहिलो छ महिनाभन्दा चालु आर्थिक वर्षको छ महिनाको नाफामा उल्लेख्य वृद्धि गरेका हुन् । सोल्टीले गत आर्थिक वर्षमा सात करोड ४५ लाख ९९ हजार रुपैयाँ खुद नाफा गरेकोमा चालु आवमा आठ करोड २५ लाख ६४ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको पहिलो छ महिनाको तुलनामा करिब साढे ११ प्रतिशतले बढी हो । सोल्टीले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई ३२ दशमलब ६३ प्रतिशत नगद लाभांश र २० प्रतिशत बोनस सेयर प्रदान गरेको थियो ।
त्यसैगरी ओरियन्टल होटल्सले पनि गत आर्थिक वर्षको तुलनामा करिब ७० प्रतिशतले नाफामा वृद्धि गरेको छ । गत आर्थिक वर्षको पुस मसान्तसम्ममा तीन करोड रुपैयाँ नाफा आर्जन गर्न सफल यस होटलले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा पाँच करोड १० लाख पाँच हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । नेपालले सन् २०११ लाई नेपाल पर्यटन वर्ष घोषणा गरेका कारण पर्यटक आगमनमा २०११ मा करिब २१ दशमलब चार प्रतिशतले वृद्धि भएकाले होटलहरूको नाफामा वृद्धि भएको हो ।
त्यसैगरी सन् २०११ को अन्त्यतिर अमेरिकी डलरको विनिमय दर नेपाली मुद्रासँग अधिमूल्यन भएका कारण पनि होटलहरूको आम्दानीमा वृद्धि भएको सेयर विश्लेषक रवीन्द्र भट्टराईले बताए । लामो समयदेखि घाटामा सञ्चालित यसले चालु आवको पहिलो ६ महिनामा अघिल्लो वर्षको सोही अवधिको तुलनामा दुई करोड ३७ लाख रुपैयाँ घाटा कम गर्न सफल भएको छ ।
उत्पादनमूलक क्षेत्रतर्फ बहुराष्ट्रिय कम्पनी युनिलिभर नेपाल लिमिटेड पनि चालु आर्थिक वर्षको पहिलो ६ महिनामा करिब ४७ प्रतिशतले नाफा बढाउन सफल भएको छ । युनिलिभरले गत आर्थिक वर्षको पहिलो ६ महिनामा सात करोड ४५ लाख ९९ हजार रुपैयाँ नाफा गरेको थियो । चालु आवकोे ६ महिनामा सो नाफा आठ करोड २५ लाख ६४ हजार रुपैयाँ पुगेको छ । कम्पनीले सेयरधनीलाई गत आर्थिक वर्षको नाफाबाट प्रतिसेयर पाँच सय ९० रुपैयाँ लाभांश वितरण गरेको थियो । त्यसैगरी विदेशी लगानी रहेको बोटलर्स नेपाल लिमिटेडले पनि सेयरधनीलाई ५५ प्रतिशत नगद लाभांश प्रदान गरेको छ ।
नेप्सेमा जलविद्युत् समूहतर्फ सूचीकृत चार कम्पनीमध्ये दुई कम्पनीले गत आर्थिक वर्षको पहिलो ६ महिनाको तुलनामा नाफामा वृद्धि गरेका छन् ।  एकले भने गत आर्थिक वर्षको भन्दा कम नाफा गरेको छ । जलविद्युत् समूहतर्फका कम्पनीमध्ये चिलिमे हाइड्रोपावर कम्पनीले गत अािर्थक वर्षको पहिलो ६ महिनाको तुलनामा आर्थिक वर्षको पहिलो ६ महिनामा करिब १३ प्रतिशतले नाफा वृद्धि गरेको छ । चिलिमेले गत आर्थिक वर्षको पहिलो ६ महिनामा ४३ करोड ९७ लाख ८८ हजार रुपैयाँ नाफा आर्जन गरेकोमा चालु आर्थिक वर्षको पहिलो ६ महिनामा ४९ करोड ८२ लाख ३२ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । चिलिमेले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई ३० प्रतिशत नगद लाभांश र ४० प्रतिशत बोनस सेयर प्रदान गरेको थियो । जलविद्युत् समूहकै अरुण हाइड्रोपावर कम्पनीको भने नाफामा गिरावट आएको छ । अरुण हाइड्रोले गत आर्थिक वर्षको पहिलो ६ महिनामा तीन करोड १५ लाख ८४ हजार रुपैयाँ नाफा  आर्जन गरेको थियो । तर, चालु आवको  पहिलो ६ महिनामा दुई करोड ५२ लाख ५७ हजार रुपैयाँ मात्र नाफा आर्जन गरेको छ । त्यसैगरी जलविद्युत् समूहकै बुटवल पावर कम्पनीले पनि नाफामा अत्यधिक वृद्धि गरेको छ । सो कम्पनीले गत आर्थिक वर्षमा १४ करोड ८३ लाख रुपैयाँ नाफा गरेकोमा चालु आर्थिक वर्षको पहिलो ६ महिनामा २७ करोड १९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।
नेप्सेमा अन्य समूहमा सूचीकृत नेपाल टेलिकमले पनि चालु आर्थिक वर्षको पहिलो ६ महिनामा अघिल्लो वर्षको सोही अवधिको तुलनामा करिब १७ प्रतिशतले नाफा वृद्धि गरेको छ । गत आर्थिक वर्षको पहिलो ६ महिनामा पाँच अर्ब ७७ करोड ७७ लाख ८४ हजार रुपैयाँ खुद नाफा गरेकोमा चालु आर्थिक वर्षको पहिलो ६ महिनामा ६ अर्ब ७७ करोड ६१ लाख ७ हजार रुपैयाँ आम्दानी गरेको छ । नेपाल टेलिकमले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई ४५ प्रतिशत नगद लाभांश दिने जनाएको छ ।

प्रतिक्रिया