‘संविधान नबनाएकामा छोराले गाली गर्छ’

सपना मल्ल प्रधान, सभासद् एवं अधिकारकर्मी
तपाईं कहा जन्मिनुभएको हो ?
नवलपरासीको कसिया भन्ने गाउँमा जन्मिएकी हुँ । कक्षा ५ सम्म त्यहीँ पढेँ, हुर्कें ।
सामाजिक सरोकारका क्षेत्रमा कसरी प्रवेश गर्नुभयो ?
सामाजिक जीवन त कानुन पेसामा आएपछि नै सक्रिय भएको हो । निरन्तर चलिरहेकै छ ।
उच्चशिक्षामा कानुनै किन रोज्नुभयो ?
सानोमा मलाई इन्जिनियरिङ पढ्ने इच्छा थियो ।  त्यसैले दस कक्षासम्म अप्सनल म्याथ पढेंँ । एसएलसी  पास गरेपछि भने अधिकारका कुराहरूले प्रभाव पार्न थाले । कानुन पढ्न मन लाग्यो, बुबाले पनि त्यही सल्लाह दिनुभयो । कानुनमा छोरीलाई राम्रो सम्भावना छ भन्नुभयो ।
तपाईंको विवाह प्रेम कि मागी ?
प्रेम हो । जसलाई प्रेम गरेँ उहासंँगै बिहे गरे ।
ब्युटिपार्लर कत्तिको जानुहुन्छ ? त्यहँ“ कति समय बिताउनुहुन्छ ?
कहिलेकाहीँ मात्र जान्छु । समय पनि त्यति हुँदैन फेरि । धेरै पार्लर गएकी भए त म राम्री भइहाल्थेँ नि । होइन र ? म राम्री छैन नि !
राजनीतिमा कसरी आउनुभयो, पार्टीस“ग कसरी सम्बन्ध भो ?
म बच्चैदेखि अलि विद्रोही स्वभावकी थिए । विद्रोह असमानता र विभेदको विरुद्धमा  थियो । म जमिनदारकी छोरी हुँ, माइतमा हरुवा–चरुवा देखिन्थे । उनीहरूमाथिको विभेदले मलाई छुन्थ्यो । यस्तो चलन फेरिनुपर्छ भन्ने त्यतिबेलै लागेको थियो । त्यो एक प्रकारको राजनीतिक चेतना पनि थियो । कलेज पढ्न थालेपछि बिस्तारै वामपन्थीहरुसँग सम्पर्क भयो । प्रत्यक्ष अप्रत्यक्ष रुपमा त्यहीँबाट सुरु भएको हो मेरो राजनैतिक जीवन । बारको निर्वाचनमा पनि वामपन्थी कोटाबाटै उठ्थेँ । नेकपा (एमाले) ले संविधान लेख्ने बेलामा तिम्रो आवश्यकता छ, आऊ भन्यो । मैले यसलाई अवसरका रुपमा लिएँ । मलाई पहिलेदेखि नै लाग्थ्यो– समाज परिवर्तन वामपन्थी विचारबाटै सम्भव छ । यसैबाट देशका विसङ्गति, सामाजिक असन्तुलनको समाधान सम्भव छ । त्यसैले यो बाटो रोजेकी हुँ ।
समाजलाई परिवर्तन गरेर एउटै बनाउनुपर्ने वामपन्थीहरू आफैं“चाहि“ किन टुक्राटुक्रामा बा“डिएका होलान् ?
हेर्नुस्, वामपन्थीभित्र धैरै धार छन् । ती सबै धार एक हुनैपर्छ । अझ सबै राजनैतिक शक्ति लोकतान्त्रिक समाजवादतर्फ उन्मुख हुनैपर्छ, यसको विकल्प छैन । समाज परिवर्तन गर्न राजनीतिक विचार नै चाहिन्छ । यसबिना सम्भवै छैन ।
पहिलो पटक सभासद् हुने प्रस्ताव आउ“दा कस्तो लाग्यो ?
अन्तरिम संविधान लेख्दा पनि मलाई कतै नजानू है भनिएको हो । बारको चुनावमा पनि एमालेकै आग्रहमा उठेकी हुँ । निश्चय पनि ममा द्वन्द्व थियो– संविधानसभामा जाने कि नजाने, राजनीति गर्ने कि नगर्ने भनेर । तर यसलाई अवसरका लिनुपर्ने सल्लाह पाएँ । मैले बाहिर उठाएको महिलाको आवाजलाई संविधानमा रुपान्तरित गर्न आऊ भनेर एमालेले आग्रह ग¥यो । उत्साहित भएर त्यसलाई अवसरका रूपमा लिएँ । राजनीतिबिना समाज पविर्तन हुँदैन नै । अर्को कुरा, एमालेको विचार, सिद्धान्तसँग म धेरै सहमत छु ।
संसद्मा जानुपूर्व र अहिलको जीवनमा के फरक छ ?
खासै फरक छैन । पहिला पनि व्यस्त, अहिले पनि त्यस्तै ।
परिवारले गर्ने व्यवहारमा केही परिवर्तन छ कि ?
अरू त ठीकै हो, समयमा संविधान बन्न नसक्दाको आक्रोश मलाई आफ्नै घरभित्र पनि थेग्न गाह्रो परेको छ । छोरा छुट्टीमा घर आउँदा पीडा हुन्छ । साँझ घर पुग्यो, के काम गरेर आयौ भनेर सोध्छ । विधान समितिमा गएर आएको भन्दा सधँैं विधान समिति, कति विधान बनाउने,  संविधानचाहिँ बनाउने हैन भन्छ । यसरी हुँदैन, राजिनामा देऊ मामु, तिमीहरुले देश बनाउँदैनौ, हामी युवामा तिमीहरुप्रति विश्वास छैन भन्छ । देशको पैसा मात्र सिध्याउने  भनेर कराउँछ ।
जनताको पनि यस्तै आक्रोश छ नि, होइन ?
हो, जनता पनि आक्रोशित छन्, । कहिलेकाहीँ दुःख  लाग्छ, हिजो सबैको थिएँ, आज एमालेको मात्र भएको छु । यहाँ आउनाको जिम्मेवारी पनि पूरा भएको छैन । त्यसै कारण घरभित्र र बाहिरको दुवै आक्रोश सामना गर्नुपरेको छ ।
जनताको आक्रोशलाई कसरी लिनुभएको छ ?
जनताको पीडा अनुभूत त गर्छु नै, सम्बन्धित ठाउँमा कुरा पनि राख्छु । तर जबजब निर्णय गर्नुपर्ने बेला हुन्छ, जिम्मेवार नेताहरू भागेर हिँड्नुहुन्छ । मैले पनि पटक–पटक प्रधानमन्त्री, सभामुख र दलका नेतामा जनताको आक्रोश राख्ने गरेकी छु ।
सभासद् विभिन्न अपराधमा पनि मुछिएका छन् नि, कस्तो लाग्छ ?
समाजका हरेक क्षेत्रमा राम्रा–नराम्रा मान्छे हुन्छन् नै । सभासद्जस्ता जिम्मेवार व्यक्तिले आफ्नो पद र मर्यादालाई ख्याल गर्नुपर्ने हो । त्यो मामलामा कमजोरी भएको छ र यसलाई सुधार्नुपर्छ । फेरि सबैलाई एउटै नजरले हेरिनु भने हँुदैन ।
संसद्मा तपाईंको क्रियाशीलताचाहि“ कस्तो छ नि ?
पहिलो कुरा त अहिले बनेका जति पनि कानुन छन्  ती सामाजिक र लैङ्गिक समावेशी बनेका छन् । यो  एउटा सकारात्मक परिणाम हो । सँगै संविधानमा लैङ्गिक–मैत्री प्रस्तावमा सहमति भइसकेको छ । अब गर्नुपर्ने काम भनेको नागरिकतामा समानताको अधिकार सुनिश्चितता हो । त्यो नै धैरै महिलाको मूल विषय बनेको छ । साथै बजेटलाई महिलामैत्री बनाउनुपर्ने सवालमा पनि क्रियाशील छु ।
आफूले उठाएका विषयलाई दलभित्र र बाहिरबाट कत्तिको कदर भएजस्तो लाग्छ ?
समग्रमा हेर्दा महिलाको मुद्दा अहिले पनि प्राथमिकतामा परेको  छैन । गम्भीर रूपले हेरिँदैन । फेरि हामी महिलामै पनि न एकता छ, न एकअर्कालाई सहयोग र सम्मान गर्ने प्रवृत्ति । त्यसको घाटा हामी  आफैंँ बेहोर्दै छाँै ।  त्यसको फाइदाचाहिँ कतिपय अवस्थामा  पुरुषले लिइरहेका छन् । हाम्रो मुद्दा ओझेल पर्नाको एउटा कारण यो पनि हो । हामी आफँैबीच अल्झिएर बस्यौंँ भने गर्नुपर्ने जति गर्न सक्दैनौंँ ।
अहिले महिलाहिंसाका घटना बढी आएका छन् नि ? घटना नै बढेका हुन् कि सार्वजनिक बढी भएका ?
दुइटै कुरा हो । घटना पनि बढेका छन्, सार्वजनिकीकरण पनि बढेको छ । इन्टरनेटको माध्यमबाट फोटो नङ्ग्याउने हुँदै छ । अश्लील फोटो नेटमा राखी अश्लील सन्देश पठाएर महिलामाथि हिंसा गरिँदैछ । यो विद्युतीय माध्यमबाट हुने हिंसा हो । पुरातन हिंसामा भने कमी आएको छ । जे होस् हिंसा सहनुहुँदैन भन्ने चेतना भने विकास भएको छ । वैदेशिक रोजगारीमा जाँदा हुने हिंसा र यातनाको कुरा गर्ने हो भने अझै भयावह अवस्था छ । यसमा सञ्चारमाध्यमले जुन रुपमा सहयोग गरेका छन्, त्यो सकारात्मक होे ।
बुझेकै मान्छेहरूले पनि महिलाहिंसाका दुर्घटना निम्त्याउने गरेको देखिन्छ, होइन ?
हो । डिआइजी रञ्जन कोइरालाले गरेको पत्नी हत्या होस् वा अन्य घटना, मिलेर बस भन्दाभन्दै दुर्घटना भइसकेको हुन्छ । वचनले ‘मिल’ मात्र भन्नाको अर्थ हुँदैन । समस्याको पहिचान गरी सामाधानको बाटो खोज्नुपर्छ । डिआइजीकै केसमा कतिपयसँग मैले गीताको सुरक्षा राज्यले गर्नुपथ्र्यो, राज्य नै दोषी छ भन्दा ‘राज्यको विरोध गर्ने ?’ भने । कमजोरीलाई लुकाउने होइन, थप सुधार गर्नुपर्छ, त्यो राज्यकै किन नहोस् । त्यो केसलाई दुर्घटनामा परिणत गर्न खोजियो, वास्तवमा पहिले नै जिम्मेवार निकाय सचेत भएको भए दुर्घटना नहुन सक्थ्यो । उनीमाथिकोे यातना त पहिला पनि बाहिर आएकै हो । तर उल्टै गीतालाई विभिन्न आरोप लाग्यो । अबका दिनमा यस्ता घटनामा मिल्ने–मिलाउनेबारे धेरै सोच्नुपर्ने देखिएको छ ।
प्रायः घरेलु हिंसाका घटनामा महिलालाई दोषी देखाउने प्रयास गरिन्छ नि ?
परिवारिक नाता अनि सामाजिक सम्बन्धको नाममा कसैलाई दण्ड दिन, पिट्न, कुट्न पाइँदैन । कुनै बहाना वा आरोपमा कसैलाई पनि कसैलाई मार्ने छुट छैन । अपराध लुकाउन महिलाको दोष देखाउने जुन प्रवृत्ति छ, त्यो पूर्वाग्रही सोच हो । महिलाको विषयलाई राज्यले महिलाको आँखाले हेर्नुपर्छ । खुसीको कुरा के भने अब प्रहरी आफैँले एउटा लैङ्गिक नीति तयार  गर्दै छ ।
सामाजिक र राजनीतिक जीवनमध्ये कुनमा सन्तुष्ट हुनुहुन्छ ?
दुवैका सकारात्मक पक्ष छन् र कमजोरी पनि । हिजो आफ्नै ढङ्गले मनमा लागेको कुरा स्वतन्त्र रूपमा राख्थेँ, कुनै सीमा थिएन ।  संविधानसभामा गएपछि दलीय सीमामा बाँधिएको छु, कतिपय कुराका सीमा छन् । हिजोको दिनमा हाम्रो आवाजलाई सञ्चारमाध्यमले बलियो रुपमा उठाए । त्यो हाम्रा लागि सहयोग र समर्थन पनि भएको थियो ।
अहिलेको स्ट्याटस भताभुङ्ग भयो भने के गर्नुहुन्छ ?
ममा धैरै कुरा गर्न सक्ने आँट छ, कुनै गाउँको स्कुलमा पढाउन सक्छु । खेती गरेर खान सक्छु । किताब लेख्न सक्छु  । मलाई त अझ पढ्न मन छ, समय नभएकाले हो,  त्यो पनि गर्न सकौँला । समग्रमा म सबै प्रकारका चुनौती सामना गर्न सक्छु भन्ने लाग्छ ।
‘संविधान नबनाएकामा छोराले गाली गर्छ’

प्रस्तुति,  चमिना भट्टराई

प्रतिक्रिया