नेपाली सेनाबिनाको राष्ट्रिय खेलकुद

मनोज घिमिरे, काठमाडौं, ८ फागुन । जनमुक्ति सेनाको उपस्थितिका कारण सेनाले छैटाँै राष्ट्रिय खेलकुदमा सहभागिता नजनाउने भएपछि थुप्रै खेल प्रभावित हुने निश्चित छ । नेपाली खेलकुदमा महत्वपूर्ण प्रभाव रहेको नेपाल आर्मी क्लबले राष्ट्रिय खेलकुद महोत्सवमा सहभागिता नजनाए एथलेटिक्स, पौडी तेक्वान्दो, कबड्डी, भारत्तोलन, जुडो र हक्की अत्यधिक प्रभावित हुनेछन् । आगामी साता सुदूर पश्चिममा सुरु हुने बृहद् खेल महोत्सवमा आर्मी क्लबले ३० भन्दा बढी स्वर्ण पदक जित्ने लख काटिएको थियो ।
राष्ट्रिय टोलीका अधिक खेलाडी रहेको कबड्डी र हक्कीमा आर्मी क्लबले सहभागिता नजनाउने भएपछि अन्य क्षेत्रीय टोलीकै स्वर्णको सम्भावना बढी रहेको छ । सुदूर पश्चिमलाई हक्कीको स्वर्ण पदक जित्ने प्रबल दाबेदार टोलीका रूपमा हेरिएको छ । पौडीकै पुरुष स्पर्धामा सेनाको अनुपस्थितिमा मध्यमाञ्चलका खेलाडी हाबी हुने सहज अनुमान गरिएको छ ।
राष्ट्रिय खेलकुदमा सबैभन्दा प्रभाव पार्ने र चर्चामा रहने खेल एथलेटिक्समा सेना अनुपस्थित भएपछि अन्य दुई विभागीय टोली सशस्त्र प्रहरी र नेपाल पुलिस क्लबबीच नै प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । विगतमा सशस्त्र प्रहरीलाई पहिलो स्थान दिलाउन मुख्य भूमिका निभाएका प्रशिक्षक सुशील नरसिंह राणा यसपटक पनि आफ्नो टोली पुरानै साख राख्न प्रयासरत रहेको बताउँछन् । तथापि, राणा यसपटक पुलिस क्लब विगतको भन्दा उत्कृष्ट रहेको कुरा भने स्विकार्छन् र भन्छन्, ‘आर्मीले स्वतः स्वर्ण जित्ने अनुमान गरिएका खेलमा पुलिसलाई नै फाइदा हुनेछ ।’
प्रतिभाशाली स्प्रिन्टर तिलकराम थारूबाट प्रेरित पुलिस क्लबले छोटो दूरीको पुरुष स्पर्धामा राम्रो प्रभाव जमाउने अनुमान गरिएको छ । दुई स्वर्ण पदक जित्ने अनुमान गरिएका मध्यम दूरीका धावक हरि रिमाल राष्ट्रिय खेलकुदमा सहभागी हुनेछैनन् । लामो दूरीका धावक राजेन्द्र भण्डारीले पनि राष्ट्रिय खेलकुद गुमाउनेछन् भने धिरेन्द्रजंग शाही फिल्डका प्रभावशाली खेलाडीको अनुपस्थितिमा पुलिस प्रभावी हुने अनुमान गरिएको छ ।
नेपाली खेलकुदकी एक सर्वकालीन उत्कृष्ट खेलाडी सङ्गीना वैद्यबाट प्रशिक्षित आर्मीको तेक्वान्दो टोलीले पनि १६ मध्ये ६ स्वर्ण पदक जित्ने अनुमान गरिएको थियो । आर्मी क्लबमा दक्षिण एसियाली खेलकुदका पदक विजेता यानकुमारी चौलागाईं, दानबहादुर ऐरी, ज्ञानु चुनारा र बद्री बस्नेतले सहज स्वर्ण जित्ने पूर्वानुमान तेक्वान्दोका जानिफकारहरूको थियो । सेना नखेलेपछि यसको फाइदा कुन टोलीलाई पुग्ने हो भन्ने यकिन छैन ।
सेनाको अनुपस्थितिपछि जुडो खेलमा मध्यमाञ्चल र पुलिस क्लबबीचमै प्रतिस्पर्धा हुने निश्चितभैmँ छ । जुडोका १८ स्वर्णमध्ये तीन स्वर्ण आर्मी क्लबले जित्ने अनुमान गरिएको थियो । विगतमा जुडोको शक्ति केन्द्र पर्साका कारण मध्यमाञ्चल उत्कृष्ट रहे पनि सोही टोलीका खेलाडी पुलिस क्लबमा आबद्ध छन् । सेनाको अनुपस्थितिमा पुलिस नै बलियो ठानिएको छ । भारत्तोलनमा प्रभावशाली आर्मीको अनुपस्थितिमा कसलाई फाइदा पुग्ने यकिन नभए पनि मध्यमाञ्चल र नेपाल प्रहरीलाई नै लाभ पुग्ने अनुमान छ ।
पौडीमा महिलातर्फ उल्लेखनीय नभए पनि पुरुषतर्पm भने सेनाको टोली सबैभन्दा बलियो मानिएको थियो । उसको प्रतिस्पर्धा खासगरी मध्यमाञ्चलसित हुने लख काटिएकोमा सेनाको अनुपस्थितिमा मध्यमाञ्चललाई नै लाभ हुने देखिन्छ ।

प्रतिक्रिया