सुदूरपश्चिममा २ सय ६४ पीडित

कैलाली, ८ फागुन । विगत एक वर्षको अवधिमा सुदूरपश्चिममा राज्य र गैरराज्य पक्षबाट गरी २ सय ४५ वटा मानवअधिकार तथा ज्यादतीका घटना भएका छन् । घटनामा परी २ सय ६४ जना पीडित भएको तथ्याङ सार्वजनिक भएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले सार्वजनिक गरेको सन् २०११ को मानवअधिकार वर्ष पुस्तकमा मानवअधिकार तथा ज्यादतीका घटना र पीडित संख्या बारे उल्लेख गरिएको हो । सुदुरपश्चिमका नौ वटै जिल्लामा मानवअधिकारको अवस्थामा बिगतका वर्ष झै यस पटक पनि सुधार आउन नसकेको इन्सेकका सुदूरपश्चिम क्षेत्रीय संयोजक खड्कराज जोशीको भनाई छ ।
यस अवधिमा राज्य पक्षबाट छ जना महिला र ४९ जना पुरुष तथा गैरराज्य पक्षबाट १ सय ४ जना महिला र १ सय २ जना महिला गरी २ सय ६१ र नाम नखुलेको ३ जनासहित २ सय ६४ जना पीडित हुन पुगेका छन् । गैरराज्य पक्षबाट बालअधिकारका घटना बढी भएका वर्ष पुस्तकमा उल्लेख गरिएको छ । जसमा ३ जना बालक र ३३ जना बालिका गरी ३६ जना बालबालिकाहरु रहेका छन् । पीडित हुनुपर्ने कारणमा बेचबिखन, बालविवाह, बलात्कार, शिक्षाबाट बन्चित र यौन दुव्र्यवहारका घटना प्रमुख रहेका छन् ।
२०११ को अवधिमा यस क्षेत्रमा राज्य पक्षबाट एकजनाको पनि ज्यान गएको छैन् भने गैरराज्य पक्षबाट ४ महिला र १५ पुरुष गरी १९ जनाको ज्यान गएको वर्ष पुस्तकमा उल्लेख । भने सवैभन्दा बढी कैलाली जिल्ला र सवैभन्दा कम अछाम जिल्लामा मानवअधिकार हननका घटना भएका छन् । यी जिल्लामा क्रमशः राज्य र पक्षबाट गरी १ सय १५ जना तथा छ जना पीडित भएको सो पुस्तकमा उल्लेख छ ।
इन्सेकले आफ्नो वर्ष पुस्तकमा संविधान निर्माण प्रक्रियामा मिल्न बाँकी विषयवस्तुहरु, पेचिलो बनेको संघियताको सवाल, विरोध सभामा न्यायालय, अकर्मण्य व्यवस्थापिका, ल्याण्डमाइन मुक्त राष्ट्र घोषणा, गैरजिम्मेवार सरकारहरु लगायतका विषयमा मुल्याङ्कन गरी सन् २०११ लाई ‘सत्तालिप्सामा विलुप्त शान्ति र संविधान’ भनि उल्लेख गरेको छ ।

प्रतिक्रिया