प्रमको “किचेन”मा कचिङ्गल

खगेन्द्र पन्त

काठमाडौं, ७ फागुन । प्रधानमन्त्री डा.बाबुराम भट्टराईको ‘जम्बो’ सचिवालयभित्र चर्को असन्तुष्टि र कचिङ्गल उत्पन्न भएको छ । सचिवालयमा सामूहिक भावना र कामको उचित मूल्याङ्कन नभएको भन्दै दुई कर्मचारीले त राजीनामा नै दिएका छन् ।
बालुवाटार स्रोतका अनुसार भट्टराईको कार्यशैलीप्रति सचिवालयका कर्मचारी मात्रै होइनन् प्रमुख राजनीतिक सल्लाहकार देवेन्द्र पौडेल र प्रेस सल्लाहकार रामरिझन यादवसमेत असन्तुष्ट छन् । प्रधानमन्त्री डा. भट्टराईले यही ४ फागुनमा गरेको बिहार भ्रमणमा आफूलाई संलग्न नगराइएकोमा पौडेल खिन्न रहेको स्रोतले बतायो ।
प्रधानमन्त्री डा. भट्टराई बिहार जाँदा प्रमुख सल्लाहकार पौडेल बुटवलतिर लागेका थिए । आफ्नो भ्रमण टोलीमा सहभागी हुन प्रधानमन्त्रीले एक वचन पनि नसोधेकामा उनले निकटस्थहरूसित असन्तुष्टि पोख्ने गरेका छन् । पौडेलले आफू बुटवल जाने कुरा पनि प्रधानमन्त्रीलाई जानकारी गराउन जरुरी ठानेनन् ।
बालुवाटार स्रोतका अनुसार, प्रधानमन्त्री डा. भट्टराईले पछिल्लो समयमा आफूसित भन्दा पत्नी तथा माओवादी पोलिटब्युरो सदस्य हिसिला यमी र आर्थिक सल्लाहकार रामेश्वर खनालसित बढी सल्लाह लिने गरेको पनि पौडेललाई चित्त बुझेको छैन ।
‘प्रधानमन्त्री र स्वकीय सचिवालयका कर्मचारीबीच संवादहीनता र असन्तुष्टि बढ्दो छ,’ प्रधानमन्त्रीको निजी सचिवालयमा सहसचिवको हैसियतमा कार्यरत एक सदस्यले सौर्यसित भने, ‘केही कर्मचारीबीच आपसमै बोलचाल छैन ।’
स्रोतका अनुसार प्रेस सल्लाहकार रामरिझन यादव पनि प्रधानमन्त्रीको सचिवालयसित रुष्ट छन् । प्रधानमन्त्रीले गर्ने भेटघाट र सहभागी हुने कार्यक्रमबारे आफूलाई जानकारी नै नदिइने गुनासो उनले निकटस्थहरूलाई सुनाउने गरेको स्रोतले जनाएको छ । प्रेस सल्लाहकारको भूमिका अघोषित रूपमा स्वकीय सचिव विश्वदीप पाण्डेले निर्वाह गरिरहेका छन् । प्रधानमन्त्री भएपछि भट्टराईको व्यवहार पूरै बदलिएको गुनासो सल्लाहकारद्वयले आफूनिकटहरूलाई सुनाउने गरेको स्रोतले जनाएकोे छ ।
प्रमुख राजनीतिक सल्लाहकार पौडेलले निजी सचिवालयमा सामान्य गुनासा सुनिए पनि आफ्नो तहमा कुनै असन्तुष्टि नरहेको दाबी गरे । ‘म असन्तुष्ट भएर पटना नगएको होइन, पार्टीको काम भएर बुटवल गएको हो,’ माओवादीको अवध राज्य समितिका इन्चार्जसमेत रहेका पौडेलले सौर्यसित भने ।
निजी सचिवालयमा मान्छे धेरै भएकाले भूमिका भएन भन्ने गुनासो आएको पौडेलको भनाइ छ । ‘अलि–अलि तीता–मीठा सबैका हुन्छन्, सचिवालयमा भूमिका भएन भन्ने सामान्य गुनासो साथीहरूबाट आएको मात्र हो,’ उनले भने ।
आफ्नो कार्यालयको कार्यशैली चुस्त बनाउने तथा देशभरिका जनता र कार्यकर्ताको भावना बुझ्ने भन्दै भट्टराईले माओवादीका सबै राज्य समितिको प्रतिनिधित्व हुनेगरी निजी सचिवालय बनाएका थिए । ४३ सदस्यीय उनको सचिवालय इतिहासकै सबैभन्दा ठूलो हो ।
सचिवालयमा ‘टिम स्प्रिट’ र कामको उचित मूल्याङ्कन नभएको भन्दै दुई कर्मचारीले राजीनामा नै दिइसकेका छन् । सचिवालयमा उपसचिवस्तरमा कार्यरत माओवादीका बझाङ सेक्रेटरी जनकबहादुर बुढा र नायव सुब्बा पदमा नियुक्त सुनिता रेग्मीले राजीनामा दिएका हुन् । पार्टीभित्र पनि भट्टराईका कट्टर समर्थक मानिने केन्द्रीय सदस्य खगराज भट्टसहित सदस्यहरूको सुझाबअनुसार बुढाले राजीनामा दिएका हुन् । यद्यपि, उनको राजीनामा अहिलेसम्म स्वीकृत गरिएको छैन ।
‘सचिवालयमा टिम स्प्रिट भएन । त्यहाँ बसेर आफ्नो क्षेत्रका लागि केही गर्न सकिएन भने बस्नुको अर्थ नै हुँदैन,’ बुढाले सौर्यसित भने । सचिवालयभित्र असन्तुष्टि र कलह देखिएको कुरा पनि उनले घुमाउरो रूपमा स्वीकार गरे । ‘हेडमास्टरले गर्ने काम सहायक हेडमास्टरले गर्न थालेपछि सामान्य असन्तुष्टि त भइहाल्छ । तर, त्यस्तो ठूलो समस्या केही छैन,’ उनले भने ।
स्रोतका अनुसार, प्रधानमन्त्री भट्टराईले प्रमुख स्वकीय सचिव गङ्गा श्रेष्ठभन्दा स्वकीय सचिवद्वय विश्वदीप पाण्डे र फणिन्द्र देवकोटालाई बढी विश्वास गर्छन् । प्रधानमन्त्री पत्नी हिसिला त स–साना कुरामा पनि श्रेष्ठसित झर्किने गरेको स्रोतको दाबी छ । हिसिलाकै सल्लाहअनुसार प्रधानमन्त्री भट्टराईले पनि श्रेष्ठभन्दा कनिष्ठ पाण्डे र देवकोटालाई महत्व दिने गरेको सचिवालयका एक सदस्यले बताए ।
तर, प्रमुख स्वकीय सचिव श्रेष्ठ भने यो कुरा स्विकार्दैनन् । हिसिलाको कुरा गर्ने शैली र समय छनोट ठीक नहुँदा कसैलाई त्यस्तो लागेको हुन सक्ने उनले बताए । ‘हिसिलाजीसित मेरो त्यस्तो खटपट त केही छैन, कुरा गर्दा उहाँको प्रस्तुतिको शैली र समय छनोट ठीक नहुँदा कसैलाई त्यस्तो लाग्दो हो,’ प्रमुख स्वकीय सचिव श्रेष्ठले भने । प्रधानमन्त्रीको भ्रमण र कार्यक्रममा सहभागी हुने काम पनि छलफल र सहमतिमै भइरहेको उनको दाबी छ ।
स्रोतका अनुुसार, प्रधानमन्त्री भट्टराईले श्रेष्ठलाई प्रमुख स्वकीय सचिव नियुक्त गर्दा नै हिसिलाले आपत्ति जनाएकी थिइन् । उनले माओवादीको अवध राज्य समितिका सेक्रेटरी निर्मल कुमारलाई प्रमुख स्वकीय सचिव बनाउने आश्वासन दिँदै भट्टराईलाई दबाब दिएकी थिइन् । तर, भट्टराईले श्रेष्ठलाई रोजेपछि उनले श्रेष्ठसित स–साना कुरामा पनि निहुँ खोज्न थालेको स्रोतले बतायो ।
उता, प्रधानमन्त्री भट्टराईले निकै रुचाए पनि स्वकीय सचिव पाण्डे स्वयं बेखुसी रहेको स्रोतको दाबी छ । दस वर्षदेखि आफू सँगै रहे पनि पछि नजिकिएका फणिन्द्र देवकोटालाई बराबरी स्थान दिइएकामा उनी सन्तुष्ट नभएको स्रोतले जनायो ।

प्रतिक्रिया