दस दिनमा १३ शिविर सुरक्षा निकायलाई जिम्मा

काठमाडौं, १७ फागुन । माओवादी लडाकुको रेखदेख समायोजन र पुनस्थापना सम्बन्धी बिशेष समितिले स्वयच्छिक अवकाश पछि खाली भएका शिविरलाई दस दिन भित्र सुरक्षा निकायको जिम्मा लगाउने निर्णय गरेको छ ।
लामो समय पछि आज सिंहदरबारमा बसेको बिशेष समिति बैठकले खाली भएका १३ वटा शिविरलाई नेपाली सेना वा सशस्त्र प्रहरीको जिम्मा लगाउने निर्णय भएको समिति सदस्य बर्षमान पुनले जानकारी दिए । पुनले भने, ‘खाली भएका १३ वटा शिविरको सुरक्षा गर्ने जिम्मेवारी नजिकैको नेपाली सेना वा सशस्त्र प्रहरीलाई दिने निर्णय भएको छ ।’
अब शिविर नजिक रहेका नेपाली सेना वा सशस्त्र प्रहरीले खाली हुने माओवादी शिविरको सुरक्षा गर्ने छन् । माओवादीका लडाकु स्वयच्छिक अवकाशमा गएपछि १३ वटा शिविर खाली हुन लागेका छन् ।
बिशेष समितिले खाली भएका शिविरमा रहेका हतियार भने नजिकका मुख्य शिविरमा राखिने निर्णय गरेको छ । सेना समायोजनका बिषयमा भोली बस्ने तीन दलका शीर्ष नेताको बैठकले थप निर्णय गर्ने सदस्य पुनले बताए ।

प्रतिक्रिया